३० आश्विन २०८३, शुक्रबार

सरकार ! अब ‘शहीदको’ खेती गरौँ !

2.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sargam-bhattrai-1अचेल अचम्म छ हाम्रो शहरमा,
खेतहरु त बाँझै छन्,
सडकहरुमा बन्दुक फल्छन,
दशगजामा बारुद फल्छन्,
एउटा आधुनिक खेती शुरु छ,
जो परम्परामाथि धावा बोल्छ,
फल्छ, जसो गरेपनि फल्छ,
न ढल्छ, न गल्छ,
यस्तै गज्जब भएर होला !
बाबुहरुले आब्हान गरिरहेका छन्:
सरकार ! अब शहीदको खेती गरौँ !

…..       …….      ………

हाम्रा राँगाहरु सडकमा उतारौँ,
गोरुहरु सडकमा उतारौँ
घोडा, गधाहरु सडकमा उतारौँ,
सडकै खनौँ, बालौँ, जोतौँ,
हिफाजतले टाउकोको बीउ रोपौँ,
र अन्त्यमा शहीद उमारौँ,
शहीद परियोजना सफल हुनुपर्छ,
पचास लाखको ईष्टिमेट,
दश लाखले सम्पन्न गरौँ,
परिवर्तनका नाममा,
पहिचानका नाममा,
आत्महत्या गर्नेलाई पनि  शहीदको घोलमा मिसाउँ,
गुण्डागर्दी र डकैतीको मल हालेर,
रंग बर्गको आली बाँधेर,
आयातित खेतालाको सम्मान स्वरुप,
मौसमी बेमौसमी जे हुन्छ,
अबिलम्ब शुरु गरौँ,
दादाहरुले आब्हान गरेका छन्:
सरकार ! अब शहीदको खेती गरौँ

….    …… ……….

पेट्रोल बमहरुको कीटनाशक औषधि बनाऊँ,
एम्बुलेन्सहरु जलाएको खरानी हालेर,
झण्डा जलाएको गन्ध छरेर,
नयाँ शहीदको खेती गरौँ
किनकी
दशरथ चन्द र गंगालालहरु,
फगत पुराना भए कमरेड,
धर्मभक्तहरु ठेमाहा भए,
शुक्रराजहरु शत्रुजीव भए,
त्यसैले  होला,
लुंगाहरु आब्हान गरिसकेका छन्:
अब रगतको बिउ रोपेर,
सगरमाथाको छातीमा
सरकार ! अब शहीदको खेती गरौँ

…..      …….     …….

अब देश कृषि प्रधान हैन,
कुर्सी प्रधान हुनुपर्छ,
देशको खण्ड खण्ड शहीद प्रधान हुनुपर्छ,
हाम्रा बलात्कार गर्दै गर्दा मारिएका,
डकैती गर्दा मारिएका,
साम्प्रदायिकता खलबलाउँदा मारिएका,
मान्छे मार्न भर्यांग चढाउँदा मारिएका,
सबै सबै साथीहरु शहीद बनेर उम्रनु पर्छ,
हामी मल जल गरिरहने छौँ,
रगतले सिंच्ने छौँ,
त्यसैले होला गुरुहरु आब्हान गरिरहेका छन्:
सरकार ! अब शहीदको खेती गरौँ !
त्यसैले साहेबहरु आब्हान गरिरहेका छन्:
सरकार ! अब शहीदको खेती गरौँ…,
किनकी यो शहीदहरुको जमाना हो..
जे सुकै ढलोस, जो सुकै ढलोस,
प्रशोधन गरौँ, शहीद उमारौँ , बेचौँ,
सरकार प्लीज यो शहीदको जमाना पो त !
अब शहीदको खेती गरौँ…

(फेसबुक: Krishna Sargam)