
विराटनगर, २१ भदौ । मोरङको विराटनगरमा सोमबार राति विभत्स हत्या गरिएका २० वर्षीय विनोद यादवका हत्यारा पत्ता लागेका छन् ।
विराटनगर –१३ तीनटोलियाको सिद्धार्थ मार्गमा अक्सफोर्ड ब्वाइज होष्टल सञ्चालन गर्दै आएका सुनसरी औरावनी–५ का यादवको सोमबार राति विभत्स हत्या भएको थियो । ओमकार श्रेष्ठको घरमा प्रहरीले मंगलबार बिहान उनको टाउको, खुट्टा र शरिरकोबीच भाग अलग अलग स्थानमा फेला परेको थियो ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उनको आफ्नै साथी तीनटोलियाका ओमप्रकाश श्रेष्ठको घरमा डेरा गरेर बस्ने जितेन्द्र शाहको योजनामा हत्या भएको पुष्टि भएको छ । घटनामा संलग्न भनिएका अन्य युवाको नाम भने प्रहरीले खुलाएको छैन ।
‘जितेन्द्रको योजनामा होस्टल संचालक यादवको हत्या भएको हो भन्ने निष्कर्षमा हामी पुगेका छौँ,’ मोरङ प्रहरी प्रमुख एसपी सन्दीप भण्डारीले भने, ‘घटनामा सिरहाकै राकेश यादवसहित चार जनाको संलग्नता पुष्टि भएको छ ।’
जितेन्द्रले कोठामा बोलाएपछि सबै मिलेर मदिरा सेवन गरेपश्चात रातको समयमा पुरानो रिसीईवी साँधेर चारै जना मिलेर यादवको हत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ । हत्यामा संलग्न रहेको आशंका गरिएका चारै जना फरार छन् ।
प्रहरीले घटनास्थलबाट वियरका बोतल, हत्यामा प्रयोग गरिएको हतियार, रगत लतपतिएको अवस्थाका सिरक डसना लगायतका लत्ताकपडा र तीनवटा मोवाइल बरामद गरेको छ ।
फरार चारै जनाको खोजी भइरहेको एसपी भण्डारीको भनाई छ । यसका लागि वडा प्रहरी कार्यालय विराटनगरका डीएसपी संजयसिंह थापाको नेतृत्वमा प्रहरी परिचालन गरिएको छ ।
प्रहरीकहाँ यसरी पुग्यो खबर
यादवको टाउको, खुट्टा र जीऊ अलग पारेर हत्या गरी बोरामा पोको पारेर गाडी मगाएर फाल्न खोज्दा ड्राइभरले शंका गरी प्रहरी बोलाएको स्थानीयले जानकारी दिएका छन् । शव हालिएको बोराबाट रगत चुहिएपछि चालकले प्रहरीलाई खबर गरेका थिए । चालकले प्रहरीलाई बोलाएपछि ती युवकहरु घरबाट भागेका थिए । प्रहरीले घटनाबारे सोधपुछ गर्न सोही घरमा बस्ने दश वर्षीय बालकलाई नियन्त्रणमा लिएको छ ।











प्रतिक्रिया