
काठमाढौं, २१ भदौ । उपेन्द्र यादवले नेतृत्व गरेको संघीय गठबन्धनले संविधान संशोधनको मस्यौदा तैयार पार्न आफूखुशी कार्यदल बनाएकोप्रति मधेशी मोर्चाले कडा आपत्ति जनाएको छ ।
बिना कुनै सरसल्लाह र कुनै जानकारी अथवा सहमति बिना नै उपेन्द्र यादवले एकलौटी तरीकाले गठबन्धनको नाममा कार्यदल बनाएकोले यो आफूहरूलाई मान्य नहुने मोर्चाका प्रमुख घटक दलका नेताहरू बताएका छन् ।
आईतवार संघीय गठबन्धनको बसेको बैठकले लक्ष्मणलाल कर्णको संयोजकत्वमा ७ सदस्यीय कार्यदल बनाउने निर्णय गरेको थियो । तर, यस बैठकमा मधेशी मोर्चा आबद्ध ७ मध्ये ४ पार्टी तमलोपा, सदभावना, फोरम गणतान्त्रिक र नेसपाको उपस्थिति नै थिएन ।
सदभावना पार्टीका सह अध्यक्ष लक्ष्मण लाल कर्णले आफूलाई कुनै कार्यदलको संयोजक बनाईएको जानकारी नरहेको र यस्ता खबर संचारमाध्यमबाट मात्र थाहा पाएको बताए । आफू अहिले राजधानी बाहिर रहेकोले कार्यदलबारे धेरै आधिकारिक जानकारी आफूसंग नरहेको बताए ।
उता कार्यदलमा सदस्य बनाईएका तमलोपा उपाध्यक्ष वृषेशचन्द लालले पनि आफूलाई यस निर्णयबारे कुनै जानकारी नरहेको बताए । संघीय गठबन्धनको नाममा एउटा दलले आफूखुशी बैठक बोलाउने र निर्णय गर्ने गरेकोले यसले मोर्चा र गठबन्धन दुबैलाई अप्ठ्यारो भइरहेको प्रतिक्रिया दिए । लालले गठबन्धनको नाममा एउटा दलको चलिरहेको मनपरी मधेशी मोर्चालाई मान्य नहुने बताए ।
संघीय गठबन्धनले कार्यदल बनाएसंगै मधेशी मोर्चा र गठबन्धनबीच रहेको दूरी अझै बढेको र आन्तरिक विवाद झनै चुलिएको छ । मधेशी मोर्चामा आबद्ध ७ मध्ये ५ दलले यस कार्यदलको विरोध गर्दै यसको कुनै औचित्य नरहेको भन्दै अस्वीकार गरेका छन् । मोर्चा आबद्ध नेपाल सदभावना पार्टीका अध्यक्ष अनिल कुमार झाले मोर्चालाई गठबन्धनको नाममा ओझेलमा पार्ने काम भइरहेको बताए । उनले मधेशी मोर्चामा आबद्ध दलहरुसंग सल्लाह नै नगरि निर्णय गरिएको विषय मोर्चालाई मान्य नहुने बताए । ‘कुनै दलले पनि गठबन्धनको नाममा मोर्चालाई मोहरा बनाउन खोज्छ भने त्यो कदापि स्वीकार्य हुनेछैन,’ अनिल झा ले थपे । उनले गठबन्धनको यही अवस्था रहे मधेशी मोर्चाले गठबन्धनसंग सम्बन्ध तोड्ने चेतावनी दिए ।
मोर्चा आबद्ध फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले पनि कार्यदलको कुनै औचित्य नरहेको बताए । सरकारले आफ्नो तर्फबाट कुनै पहल नलिईकन गठबन्धनले कार्यदल बनाउनु औचित्यहीन रहेको यादवको भनाई छ । ‘मोर्चाले संविधान संशोधनबारे आफ्नो स्पष्ट धारणा पहिले धेरैपटक बुझाई सकेकोले फेरि कार्यदल बनाएर संशोधन प्रस्ताव दिनुको कुनै अर्थ छैन्,’ उनले भने– ‘पहिले सरकारले आफ्नो तर्फबाट प्रस्ताव ल्याओस अनि मात्रै मोर्चाले आफ्नो धारणा बनाउनेछ ।’












प्रतिक्रिया