काठमाडौं, २१ भदौ । एमालेका प्रभावशाली नेता सत्यनारायण मण्डलले तराईका चार जिल्लाहरूलाई यताउता बनाउँदैमा मधेसी जनताको अधिकार स्थापित हुन नसक्ने बताउनुभएको छ ।
नेपालवाणी रेडियो नेटवर्कमा आज बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता मण्डलले मधेसी मोर्चाले वा गृहमन्त्री विमलेन्द्र निधिले भन्दैमा संविधान संशोधन हुन नसक्ने बताउनुभयो । उहाँले ‘संविधान संशोधन गर्छु भन्ने मधेसी मोर्चा र विमिलेन्द्र निधि को हुन् ?’ भनेर प्रश्न पनि गर्नुभयो ।
‘मधेसी मोर्चा वा गृहमन्त्री विमलेन्द्र निधिले भन्दैमा संविधान संशोधन हुँदैन । त्यसको औचित्य स्पष्ट हुनुपर्छ’, उहाँले भन्नुभयो, ‘चार वटा जिल्लालाई दुई नम्बर प्रदेशमा ल्याउने वा अन्यत्र लैजाने कार्यले मात्रै समस्या समाधान हुँदैन ।’
नेता मण्डलले तराई मधेसमा सीमाङकनमा भन्दा पनि अधिकारका विषयमा लडाइँ रहेको बताउनुभयो । ‘म मधेसी जनताको अधिकारका लागि लडेको छु’, उहाँले भन्नुभयो, ‘मधेसी नेता हुँ भन्ने र तराई मधेसको ठेकेदार ठान्ने मधेसी ब्राम्हणहरूले जनतलाई झाक्काइ रहेका छन् ।’
तराईमा दुई मधेस प्रदेश कदापि हुन नहुने बताउनुभएका एमाले नेता मण्डलले भन्नुभयो, ‘संघीयता गराउने नै हो भने उत्तर–दक्षिण बनाइनु पर्छ । यसले मुलुकलाई फाइदा गर्छ । संघीयता दीर्घकालीन हुन्छ ।’ तर आफूले उत्तर–दक्षिणको संघीयता माग गर्दा देशनिकाला गर्न मधेसी मोर्चाका नेताहरूले दबाब दिएको उहाँले खुलासा गर्नुभयो ।
‘कांग्रेस र मधेसी दलहरूले जे भन्छन् त्यही मान्ने होइन’, एमाले नेता मण्डलले अगाडि भन्नुभयो, ‘संविधान संशोधन किन र केका लागि भनेर पहिला स्पष्ट पार्नुपछ ।’
संविधान संशोधन गरेर विदेशी नागरिकहरूलाई उच्च पदमा जाने व्यवस्थाको आफू घोर विरोध रहेको नेता मण्डलले बताउनुभयो । ‘अंगीकृत नागरिकलाई संवधैनिका र उच्च नेतृत्वमा जान दिनु हुँदैन’, उहाँले भन्नुभयो, ‘नागरिकताका नाममा भएको राजनीतिलाई मधेसी जनताले पनि बुझ्नु पर्छ ।’











प्रतिक्रिया