काठमाडौं, १९ भदौ । नेपाली सेनाको विपद व्यवस्थापन गणबाट खटिएका जवानले राजधानीको सुन्दरीजल खोलामा फसेका एक युवकको जिवितै उद्दार गरेका छन् ।
रामेछाप घर भइ जोरपाटी बस्दै आएका र शनिबार सुन्दरी जल घुम्न गएका आन्दाजी २७ वर्षका छिरिङ शेर्पालाई विपद व्यवस्थापन गणबाट खटिएका सिपाही विकास केसीले जिवितै उद्दार गरेका हुन् । मदिरा पिएका शेर्पा एक जना साथीसहित रमाइलो गर्न खोलामा गएका थिए ।
सुन्दरीजल नजिकैका स्थानीय एवं प्रत्यक्षदर्शी मुकेश बस्नेतका अनुसार खोलामा फसेका व्यक्तिलाई जिवितै उद्दार गरिएको यो पहिलोपटक हो । खोलाको खोजमा परेको तथा डुबेको मान्छे आजसम्म जिवित फेला नपरेको बस्नेत बताउँछन् ।
स्थानीयका अनुसार विपद व्यवस्थापन गणका सैनिक केसीको टोलीले मात्रै आजसम्म सुन्दरीजल क्षेत्रमा वेपत्ता व्यक्तिको पाँच वटा शव फेला पारेको छ । एकहप्ता अघि मात्रै केसीले पानीभित्र हराएको एक सातापछि एक युवकको शव फेला पारेका थिए ।
ड्युटीमा खटिएका बेला खोलाको बीचमा युवक फसेको थाहा पाएपछि सैनिक जवान केसीले लाइफ ज्याकेट लगाएर पौडिदै शेर्पाको उद्दार गरेका थिए । पहिलोपटक मानिसको जिवितै उद्दार गरेपछि स्थानीयहरुले चमत्कार भन्दै उनलाई धन्यवाद दिएका थिए ।
यसअघि सैनिक केसीले चार महिनाका सोनिस अवाललाई विनाशकारी भूकम्पका बेला पनि जिवितै उद्दार गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चर्चा कमाएका थिए ।
हेर्नुस् फोटोहरु:
















प्रतिक्रिया