नेपालगन्ज, १८ भदौ । नेकपा (एमाले) का सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले मधेसी मोर्चाको सीमाङ्कनसम्बन्धी माग संविधानमा संशोधन गर्न आफ्नो दल सहमतिमा नआउने बताउनुभएको छ ।
प्रेस चौतारी बाँकेद्वारा आज यहाँँ आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “‘अरु माग संविधान संशोधनबाट सम्बोधन गर्न आफ्नो दल सहमतिमा आउन सक्ने भएपनि प्रदेश सीमाङ्कनसम्बन्धी संवैधानिक व्यवस्था चाहेर पनि संशोधन गर्न सकिदैन ।”
संविधानमा प्रदेश सीमांकन परिवर्तन गर्न प्रदेशसभाको सहमति अनिवार्य भनिएको र २० बर्षमा मात्र सीमांकनको पुनरावलोकन गर्नसक्ने व्यवस्था रहेकाले सत्ता पक्षले भनेझै तत्कालै कुनै संशोधन सम्भव नरहेको उहाँले बताउनुभयो । ‘कुन बाटोबाट हेरफेर गर्ने सत्ता पक्षले भनेको छैन,’ उहाँले भन्नुभयो– ‘अरु विषयमा जस्तो प्रदेशको सीमांकन हेरफेर सहज छैन । धारा २७४ ले रोक्छ ।’
संविधानको सफल कार्यान्वयनमा स्थानीय र प्रादेशिक निर्वाचन मुख्य चुनौती भए पनि चरणबद्ध निर्वाचन गर्न सकिने उहाँको भनाइ थियो ।
उहाँले आफ्नो दलले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउँदै संविधानलाई सबैको साझा दस्तावेज बनाउने सबैखाले मुद्दामा राजनीतिक सहमति खोज्नुपर्छ भन्नुभयो । रासस











प्रतिक्रिया