काठमाडौं, १६ भदौ । कांग्रेस सांसद अनिता देवकोटाले दाङ जिल्लाको घोराहीमा रहेको राप्ती उपक्षेत्रीय अस्पतालको बजेट कटौती गरेर स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने तयारी तुहिएको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।
संसदको बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद देवकोटाले तत्कालीन प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारका पालामा राप्ती उपक्षेत्रीय अस्पतालको स्तरवृद्धि गर्ने निर्णय भएको बताउँदै सो निर्णय कार्यान्वयनका लागि माग गर्नुभयो । ‘केपी ओली नेतृत्वको सरकारले राप्ती उपक्षेत्रीय अस्पतालको स्तरवृद्धिमा असर पुग्ने गरेर बजेटमा भारि कटौती गरेको छ’, सांसद देवकोटाले भन्नुभयो, ‘राप्ती अञ्चल उपक्षेत्रीय अस्पतालको स्तरवृद्धिका लागि पहल गर्न अहिलेको सरकारसँग माग गर्दछु ।’
अस्पतालका लागि जग्गा पनि उपलब्ध गराई सकिएको उल्लेख गर्नुभएकी सांसद देवकोटाले भन्नुभयो, ‘राप्ती उपक्षेत्रीय अस्पताल अहिले एक सय बेडको छ । स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन यसलाई वृद्धि गरेर ३ सय बेडको बनाउनु पर्छ । सरकारले सोहीअनुसार कार्य अगाडि बढाओस् ।’ राप्ती उपक्षेत्रीय अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने स्वास्थ्य मन्त्रालयको निर्णयलाई उल्ट्याउने गरी ओली सरकारका अर्थमन्त्री विष्णु पौडेलले रकम कटौती गरेर आफ्नो गृह जिल्ला रुपन्देहीमा ल्याएको आरोप लगाउनुभयो ।
दाङ जिल्लाका साथै मुलुक भरिका अस्पतालहरूमा विषेशज्ञ चिकित्सकहरू अभाव रहेको बताउँदै कांग्रेस सांसद देवकोटाले भन्नुभयो, ‘विशेषज्ञ डाक्टरहरू छिटोभन्दा छिटो अस्पतालहरूमा पठाउनु पर्यो ।’
माओवादी केन्द्रका सांसद अग्निप्रसाद सापकोटाले तोतोपानी नाका खोल्न सरकारसँग माग गर्नुभयो । ‘उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महरा चीन भ्रमणमा जानुभएको थियो । भ्रमणका बेला तातोपानी नाका खोल्ने विषयमा के कुराकानी भयो ?’, सांसद सापकोटाले सोध्नुभयो, ‘चीनसँगको प्रमुख नाका बन्द भएको एक वर्षभन्दा बढी समय भयो । कहिले खुल्छ नाका ? त्यसको तयारी के भइरहेको छ ।’












प्रतिक्रिया