मैले निरन्तर तिमीलाई पछ्याईरहेँ : जूनको उज्यालोमा, दिनको उज्यालोमा अनि औँसीको अन्धकारमा तर कतै तिम्रो चित्त बुझ्दो आकृति पाउन सकिन , मैले नदेख्दै म बाट अलप भएका तिमी मेरो स्पर्शमा कसरी आउँथ्यौ र ? हिजो रातिको त्यो सपनीमा पनि आउने कुरै भएन ।
हो, मलाई मेरी आमाले तिम्रो बारेमा बताएका धेरै कुराहरुले भत्भत्ति पोलिरहन्छ: मेरो पनि सुम्निमाको जस्तै काँधमा बोकेर माया गर्ने बाबा भईदिएको भए ! दिपिकाको जस्तै हरेक दिन स्कूलमा लिन आउने बाबा भईदिएको भए, आलोकको जस्तै मोटरसाईकलको अगाडि ट्यांकीमा राखेर डुलाउने बाबा भैदिएको भए ! रमजानको जस्तै साईकलको डन्डीमा राखेर सब्जी मन्डी घुमाउने बाबा भएको भए …
आज तिम्रो मुख हेर्ने दिन: सबै साथीभाइहरु खुशीले प्रफुल्लित छन्, म संग त तिम्रो एउटा फोटो सम्म छैन, जसलाई हेरेर म चित्त बुझाउन सकूँ, जसको अगाडि म आँशु बगाएर पीडा पखाल्न सकूँ, अहिले बल्ल बाबा भन्ने कस्तो नाता हो भन्ने बोध भएको छ, म गर्भमा हुँदा समेत तिमीबाट नपाएको स्पर्श अहिले अनायास खोजिरहेछु जसको तलतल् न त कुनै तस्बिरले मेटाउन सक्छ नत तिम्रो कुनै आवाज़ नै छ म संग । केवल कल्पनामा आउने तिम्रो अस्पष्ट आकृतिले चित्त बुझाउनु परेको छ । केवल मेरी आमाले तिम्रो बारेमा बताएका कथाहरु दन्त्यकथा जस्तै लागिरहेका छन् ।
म संग रुने आँशु पनि छैन अचेल, म जान्ने भएदेखि नै तिम्रो यादमा रुँदा रुँदा आँशु सिध्याएको छु, मेरी आमाले भनेकी : जब उनी तिम्रो बियोगमा रातभरि रुन्थिन, तब म एघार महिनाको घस्रिने बालक पनि उनको हुँक्क हुँक्कको रोदन सहन नसकी उनको निधारमा चुम्थेँ रे, अनि उनकै छातीमा गुडुल्की परेर फेरि निदाउथेँ रे, अहिले म जान्ने त भएको छु तर मेरी आमा रोएको देख्न सकिरहेको छैन, शायद मैले नदेख्ने गरी रुन्छिन अथवा तिम्रो प्रतिमूर्ति मै मा देख्छिन होला आमाले । बाबा, तिमी जहाँ भएपनि आमाको मन खुशी राख्न सधैभरि सफल हुन सक्ने शक्ति दिनू है मलाई !
मलाई सम्झना छ, एक दिन मैले नांगो खुट्टा स्कूल जाने बेला सोधेँको थिएँ : आमा ! बाबा कस्तो हुनुहुन्थ्यो ? आमाको छोटो उत्तर थियो: काटीकुटी तिमी जस्तै । त्यस दिन देखि मैले आफूलाई दिन दिनै एेनामा हेरिरहेको छु, तिम्रो अनुहारको अनुमान गर्न, तर चित्त बुझाउन सकिरहेको छैन, मुटु छाम्छु, जोड़ जोडले धड्किरहेको थाहा पाउँछु । केवल सपनामा तिम्रो अनुहार ठम्याउँछु, बिपनामा बेख़बर भएको भयै छु म ।
मलाई गर्भमा छाडेर तिमी परदेशिएको सबै बाध्यता त मलाई थाहा छैन, सायद अहिलेको जस्तै चरम गरीबी हुँदो हो, मेरी गर्भिणी आमालाई मिठो ख्वाउने आशामा र मलाई सुखले पाल्न पढाउन तिमी परदेशिएको हुनुपर्छ । हरेक बर्ष आउने दशैँमा पुरानै खुच्मुचिएको लुगा धोएर तानतुन पारेर लगाईरहँदा साथी भाइहरुले लगाएका सुकिला लुगाहरु हेरेर मात्र चित्त बुझाएको कुराले मलाई भन्दा स्वर्गमा बस्ने तिमीलाई कति पोल्दो हो है ! मेरी आमाले हर पल मरेर मेरा लागि बाँचेको जिन्दगी तिमीले पनि रोएरै हेरिरहेको हुनुपर्छ ।
हो ! तिमी हाम्रै खुशीको लागि ढल्यौ बाबा, हाम्रो चुहिने घरको छानो हाल्न, मानो जुटाउन ढल्यौ, तर तिमी कहिल्यै नआउने गरी ढल्यौ साथै मेरी आमाका सबै खुशी, आशा र रंगहरु अनि साथहरु संगै लगेर ढल्यौ, उल्टो सबै चिज खोसिएकी मेरी आमालाई अलच्छिनी भन्छ यो समाज । गुमाउने हामी, दुखमा डुब्ने हामी, भोकै बस्ने हामी तर उल्टै लान्छना हामीलाई नै लगाउने अन्धों समाजमा एक्लै छाडेर ढल्यौ, आज तिमी नभएरै अपूर्ण भएका छौँ बाबा ! मलाई थाहा छ यो कलियुगमा जति तपस्या गरेपनि म अब तिमीलाई पाउन सक्दिन । मिल्ने भए म मेरो आयु तिमीलाई दिएर मेरी आमाका प्रिय रातो रंगहरु बचाउँथे ।
म दिनदिनै आगो खाएर अनि आकाश हेरेर बढिरहेको छु, मेरी आमाले सुस्केरा हाल्दै सकी नसकी मजदूरी गरेर मलाई पालेकी छिन, उनी एकदम दुब्ली र अँधेरी छिन, सायद मलाई खुवाउँदा आफू धेरै पल्ट भोकभोकै बसेको हुनुपर्छ, छिमेकीहरुले भनेका: आफू भोकभोकै बसेर छाती चुसाएरै बचाएकी रे मलाई आमाले, शायद तिमी संगै भैदिएको भए ती कठोर दिनहरु देख्नुपर्थेन होला, तिम्रो स्पर्श नपाएरै हुर्किदा मलाई अचेल बाटोमा कुनै छोरा मान्छे देख्नै हुन्न, अनायास बाबा भनेर चिच्याउन मन लाग्छ, अंगालो हालेर रुन मन लाग्छ, अनि मेरी आमा र मैले भोगेका दुखका पलहरु चिच्याई चिच्याई सुनाउन मन लाग्छ । तर म त्यतिबेला झसंग हुन्छु तिमीलाई त यो निष्ठुरी दैवले हामीबाट चुँडेर लगेको बर्षौँ भईसकेछ । तिमीलाई हामी बाट हत्याउने नियति र हामीलाई अलच्छिन देख्ने निष्ठुरीहरु संग बदला लिनु छ मैले । बिन्ती छ दैव: मलाई जस्तो बाबु नभएको गर्भे टुहुरो कसैलाई बन्न नपरोस् ।
म जन्मँदा मेरी आमा तिम्रो किरिया गर्न कुनामा थिईन् अरे, मेरो न्वारान त समयमा हुने कुरै भएन, तेह्रौ दिनमा उम्केपछि काकाले मन भारी बनाउँदै मेरो न्वारान गराउँदा मेरी आमा शोक, भोक र रक्तश्रावले मूर्च्छित थिईन् रे, अहिले तिनै काकालाई पनि खोस्यो नियतीले, सायद मैले तिम्रो अनुहार मिल्ने मान्छे समेत देख्नु थिएन होला । यो घटना सम्झँदा यस्तो लाग्छ: म अभागी किन जन्मिएको हूँला ? तर एकै निमेशमा झसंग हुन्छु: भक् ! म नभएको भए मेरी आमा कसलाई हेरेर बस्थिन होला ? आज तिम्रो नासोको रुपमा आमाले मलाई कति मायाँ गर्छिन त्यो तिमी छाडी जानेलाई के थाहा ? मैले मेरी आमाको जिन्दगीमा रातो रंगहरु ल्याउन नसकेपनि सुनौला किरणहरु नल्याई मर्ने छैन , मेरो प्रतिज्ञाको लागि भगवानहरु संग अनुनय गरिदिनू है बाबा !
जे होस आज कुशे औँशी अर्थात तिम्रो मुख हेर्ने दिन हो, यो भौतिक संसारमा तिमी छैनौँ, त्यसैले आज राति म जसरी भएपनि निदाउनुपर्छ, यो भदौरे झरीमा हाम्रो झुपडी चुहिए पनि भुल्लो ओढेरै भए पनि निदाउनु पर्छ, भोंको पेट भएपनि निदाउनु पर्छ, कसैले बाउ टोकुवा भनेको सुन्दा सुन्दै पनि नसुने जस्तै गरेर निदाउनु पर्छ किनकि मलाई सपनामै भएपनि तिम्रो मुख हेर्ने मन छ । मेरो खुशीको लागि मर्ने मेरो प्यारो बाबाको मुख हेर्ने मन छ । कुनै सहृदयी मनकारी संग पैँचो मागेरै भएपनि मेरो प्यारो बाबालाई आज राति सपनीमा मिठो मिठो खुवाउने मन छ । हे दैव ! दया राखी मलाई आज राति निदाउन दे !
















प्रतिक्रिया