काठमाडौं, १५ भदौ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले आफ्नो आठौँ महाधिवशेन गर्ने निर्णय गरेको छ ।
धादिङ जिल्लामा चार दिनसम्म बसेको ‘विप्लव’ माओवादीको केन्द्रीय समितिको बैठकले आठौँ महाविधेशन गर्ने निर्णय गरेको प्रवक्ता खडक विश्वकर्माले जानकारी दिनुभयो । ‘आठौँ महाधिवेशन गर्ने निर्णय भएको छ’, उहाँले भन्नुभयो, ‘५/६ महिनापछि महाधिवेशन गर्ने छौँ । अब महाधिवेशनको तयारीमा जुट्छौँ ।’
स्रोतका अनुसार ‘विप्लव’ माओवादीले फागुन १ गते महाविधेशन गर्ने निर्णय गरेको छ । फागुन १ गते जनयुद्ध दिवस परेकाले सो दिन महाविधेशन गर्न सबैले सुझाव दिएकाले फागुन १ गते नै महाधिवेशन गर्ने तयारी भएको हो ।
राष्ट्रियताको पक्षमा र भ्रष्टाचार, कालोबजारी र अनियमितताका विरुद्ध संघर्ष गर्ने निर्णय भएको प्रवक्ता विश्वकर्माले बताउनुभयो ।
आफ्ना गतिविधिलाई गोप्य रुपमा चलाउँदै आएको ‘विप्लव’ माओवादी बेलाबेला विवादमा पर्दै आएको छ ।
चन्दा आतंक होस् वा गलत व्यक्तिलाई संरक्षण गरेको विषयमा किन नहोस् ‘विप्लव’ माओवादीका गलत नीतिले उसलाई जनताले अझै राम्रोसँग विश्वास गर्न सकेका छैनन् ।
‘प्रचण्ड’ सरकारको कटु आलोचना गरेको ‘विप्लव’ माओवादीले सरकारविरुद्ध सडक संघर्ष गर्ने निर्णय पनि गरेको छ । ‘विप्लव’ माओवादीको निर्णयले ‘प्रचण्ड’लाई टाउको दुखाइ हुन सक्छ ।
तर केही व्यक्तिले ‘विप्लव’ माओवादीका कतिपय कुरालाई राम्रो मान्ने गरेका छन् । निर्वाचन आयोगमा दर्ता नै नभएको ‘विप्लव’ माओवादी कानुनी रुपमा अवैधानिक मानिन्छ ।
कानुनी र संवैधानिक रुपमा नबाँधिए पनि ‘विप्लव’ माओवादीले आठौँ महाधिवेशन गर्ने हिम्मत देखाएको छ । तर महाधिवेश हुने हो वा होइन त्यो फागुन १ गते थाहा हुनेछ ।











प्रतिक्रिया