२७ कार्तिक २०८३, शुक्रबार

नेपाली सेनाले २५ दिनपछि अकस्मात किन खोल्यो मुख ?

38.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-army-chief Rabindra Kashetri– झलक पाली

डोटी, १४ भदौ । सुदूरपश्चिम पृतना राजपुर दिपायल डोटीबाट हतियार हराएको विषयमा नेपाली सेनाले २५ दिनपछि औपचारिक रुपमा मुख खोलेको छ ।

सोमबार अबेर बेलुकी सेनाले ‘सुदूरपश्चिम पृतनामा हतियार नपुग भएको सम्बन्धमा अनुसन्धान जारी’ शीर्षकमा पहिलो पटक एक प्रेस विज्ञप्ति जारी गरेको हो ।

साउन २१ गते राति क्वार्टरमा हतियार गिन्तीका क्रममा नपुग भएपछि सत्यतथ्य पत्ता लगाउन कोर्ट अफ इन्क्वायरी बोर्ड गठन भई अनुसन्धान भइरहेको नेपाली सेनाको सुदूरपश्चिम पृतना राजपुर दिपायलले जनाएको छ ।

छानबिनका लागि गठित बोर्डले घटनाको निरन्तर छानबिन र अनुसन्धान गरिरहेकै बेला आमसञ्चार माध्यममा अनुसन्धानलाई नै प्रभावित पार्ने गरी प्रकाशन प्रसारण भएकोप्रति सेनाको ध्यानाकर्षण समेत भएको जनाएको छ ।

प्रमुख सेनानी गौरवकुमार के.सी.द्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा हतियार हराएको घटनाबारे प्रचलित नीति, नियम र अनुसन्धान प्रक्रिया अनुसार नै बोर्डले अनुसन्धान गरिरहेको र सत्यतथ्य एकिन हुनासाथ आम सञ्चारमाध्यमबाट सार्वजनिक गरिने जनाएको छ ।

घटनाबारे कोर्ट अफ इन्क्वायरी बोर्डले अनुसन्धान प्रभावित नहुने गरि घटनासँग सम्बन्धित सैनिकहरु उपर छानविन भइरहेको र छानबिनका दौरानमा निगरानीमा रहेका सैनिकहरुलाई उनीहरुका परिवारसँग भेटघाट र कुराकानी गर्ने व्यवस्था मिलाईएको प्रेस विज्ञप्तीमा उल्लेख गरेको छ ।

अनुसन्धान वैज्ञानिक ढङ्गले अघि बढाईएको भन्दै अनुसन्धानका क्रममा सैनिकहरुलाई कुनै पनि किसिमको शारीरिक र मानसिक यातना समेत नदिईएको नेपाली सेना स्पष्ट पार्न चाहन्छ–विज्ञप्तीमा भनिएको छ ।

घटनाबारे महत्वपूर्ण अनुसन्धानमा सबै पक्षको रचनात्मक सहयोगको अपेक्षा गर्दै भ्रामक र गलत समाचार तथा अफवाहहरुमा विश्वास नगर्न नेपाली सेनाले सबैसँग आग्रह गरेको छ ।

सेनाको पृतनाबाट कति हतियार हराएका हुन् ? भन्ने बारेमा भने सेनाले अझै खोलेको छैन ।

बाहिर आएको जानकारी अनुसार अत्याधुनिक हतियार एसएमजी एक थान, लोडेड म्यागजिन दुई थान र करिब दुइ सय बढि राउण्ड गोली हराएको बताईन्छ । घटनाको महिना दिन बित्नै लाग्दा सेनाले फेला रहस्य पनि पार्न सकिरहेको छैन ।

यसैबीचमा हतियारको स्टोर सुरक्षाको जिम्मेवारी पाएका एक सैनिक हवल्दारको रहस्यमय मृत्यु भएको छ । सेनाका अनुसार भाद्र २ गते विहिबार मात्रै बझाङ् घर भएका दिपक खड्काको रहस्यमय मृत्यु भएको हो ।

सैन्य श्रोतले खड्का आफैले आफैलाई गोली हानेर आत्महत्या गरेको बताएको छ । तर खड्काको शवका प्रत्यक्षदर्शी विश्वसनीय एवं गोप्य श्रोतका अनुसार उनको शरीरमा ठूला–ठूला निलडाम भएकाले चरम यातना भोगेर आत्महत्या भएको हुनसक्ने बताएको छ । श्रोतका अनुसार अन्य सैनिक जवानहरुले पनि चरम यातना भोगिरहेका छन् ।

सेनाले वैज्ञानिक अनुसन्धान गरिरहेको प्रेस विज्ञप्तीमा जनाए पनि धामीझाँक्री सोध्ने काम समेत गरेको एक श्रोतले जानकारी दिएको छ ।

श्रोतका अनुसार डोटीमा मात्रै नभई आसपासका अन्य जिल्लामा रहेका ब्यारेकका सेनाहरुमाथि समेत निगरानी कडा पारिएको छ ।

केही समय डा.के.आई.सिंह राजमार्गमा यातायातका साधनहरुमा समेत सघन चेकजाँच गरेपछि सर्वसाधारण यात्रुहरुले समेत सास्ती खेप्नुपरेको थियो ।

सेनाको हतियार नै ब्यारेक भित्रैबाट हराउनु, त्यसै कारण सैनिक जवानहरुले चरम यातना भोग्नु, लामो समयसम्म पनि घटनाको यथार्थ छानबिन हुन नसक्नुले सेनाको कार्यदक्षता र शैलीप्रति बाहिर अनेकौं खालका शंका, उपशंका र टिकाटिप्पणी भईरहेका छन् ।