काठमाडौं, १२ भदौ । गत मंगलबारदेखि काठमाडौंमा जारी राष्ट्रिय बक्सिङ प्रतियोगितामा सुदूरपश्चिमबाट चार जना खेलाडीले मेडल जितेका छन् ।
अन्तर्राष्ट्रिय खेलकुद परिषद् सादोबाटोमा भदौ ५ गतेदेखि १२ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा कञ्चनपुरका निवेश चन्दले स्वर्ण पदक, कैलालीका लक्ष्मण थापाले रजत पदक, कैलालीबाट खेलेका कञ्चनपुरको जेवी एकेडेमीका प्रिन्सिपल जगदीश सेटीले कास्य पदक र कञ्चनपुरका भानु बिष्टले कास्य पदक जितेका हुन् ।
५३ जिल्लाका खेलाडी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल आर्मीको टीम र देशका विभिन्न बक्सिङ क्लबहरुको सहभागिता रहेको खेलमा सुदूरपश्चिमले उत्कृष्ट प्रदर्शन गर्दै चार वटा मेडल जितेको पूर्व ओलम्पिक खेलाडी डम्बर भट्टले जानकारी दिए ।
ललितपुर बक्सिङ संघको आयोजना तथा नेपाल बक्सिङ संघको तत्वाबधानमा आयोजित चौथो पुरूष तथा महिला खुला राष्ट्रिय बक्सिङ प्रतियोगिताको समापन राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्टले गरेका थिए । उनले मेडल जित्ने सबैलाई बधाई दिँदै खेलमा सहभागी हुनेलाई धन्यवाद दिए ।
सुदूरपश्चिमबाट ४ मेडल ल्याउन अमुल्य योगदान पुर्याउने पूर्व ओलम्पिक खेलाडी बिष्णु बहादुर सिंह, पूर्ब ओलम्पिक खेलाडी डम्बर भट्ट, राष्ट्रिय कोच हरिशबहादुर चन्द, राष्ट्रिय रेफ्रि शेर बहादुर शाह, राष्ट्रिय रेफ्रि शेर बहादुर बिष्ट र टिम ब्यबस्थापक कृष्णदत्त जोशी (बोक्सर)लाई मेडल विजेता खेलाडीहरूको तर्फबाट जेवी एकेडेमीका प्रिन्सिपल एवं उदय सरस्वती क्याम्पसका सहायक प्रमुख जगदिश सेटीले धन्यवाद दिए ।
उनले सातौ राष्ट्रिय खेलकुद प्रतियोगितामा कञ्चनपुरको जेवी एकेडेमी तथा सुदूरपश्चिमबाट दक्ष खेलाडीले सहभागिता जनाउने र उत्कृष्ट प्रदर्शन गर्ने बताए ।
















प्रतिक्रिया