
काठमाडौं, १२ भदौ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरूले गृहमन्त्री विमलेन्द्र निधिलाई भेटेर आन्दोलनताका क्रममा पक्राउ परेका नेता कार्यकर्ताको रिहाइ र मुद्दा फिर्ताका लागि दबाब दिएका छन् ।
सिंहदरबारस्थित गृहमन्त्रालयमा मन्त्री निधिसँग आज भएको भेटवार्तामा मधेसी मोर्चाका नेताहरूले सूचीअनुसार शहीद घोषणा गर्न बाँकी रहेका १६ जनालाई पनि छिटो शहीद घोषणा गर्न दबाब दिएका हुन् ।
मोर्चाका दोस्रो तहका नेताहरू रहेको कार्यदलले सरकारलाई माग पूरा गराउन दबाब दिने उद्देश्य स्वरुप आज गृहमन्त्री निधिसँग भेट गरेको हो ।
मन्त्री निधिले सहमति कार्यान्वयन प्रक्रियामा रहेको भन्दै छिट्टै मधेसी मोर्चाका माग पूरा हुने बताउनुभएको सद्भावना पार्टीका महासचिव मनीषकुमार सुमनले जानकारी दिनुभयो ।
मधेसी मोर्चाले ६८ जनालाई शहीद घोषणा र क्षतिपूर्तिका लागि यसअघि नै गृह मन्त्रालयलाई सूची बुझाएको थियो । सरकारले ५२ जनालाई मात्रै शहीद घोषणा गरेको छ ।
मधेस आन्दोलनका क्रममा मुद्दा लागेका, पक्राउ गरी हिरासतमा लिइएका मोर्चाका नेता तथा कार्यकर्ताहरूमाथिको मुद्दा खारेज गरी रिहा गर्ने प्रक्रिया सरकारले सुरु नगरेको मधेसी मोर्चाको आरोप छ ।











प्रतिक्रिया