
– सन्तोष सिलवाल (मोदनाथ)
नेपाली काँग्रेसका युवा नेता गगन थापालाई नचिन्ने मान्छे प्रायः कमै होलान् । गगन थापा नेपालका चर्चित युवा नेता हुन् । धेरै नेपाली सर्वसाधारणलाई आशा लाग्दो र युवा नेताहरु को को हुन् भनेर सोध्यो भने गगन थापाको नाम नआउने कुनै बेला कमै थियो होला । अहिले पनि उनको नाम बेला बेलामा चर्चामा आउने गर्दछ । कहिले बाख्रापालन, कहिले डन कुमार घैंटे त कहिले भारतको नाममा उनको नाम आउने गर्दछ । एक समय उनलाई भारतीय गुप्तचर संस्था रअ को एजेन्ट भनेर खुबै चर्चा चलेको थियो तर वास्तविकता के हो उनी आफैलाई थाहा होला । र, नेपाली जनताले उनको वास्तविकताको बारेमा पक्कै पनि मुल्याङ्कन गरेर बसेका होलान् ।
थापालाई स्ववियू सभापति हुँदा कमाएको नाफा रकम र गुण्डाको बल अनि आफ्नो कलात्मक भाषणको तुकले राजनीतिक गरिरहेको आरोप लाग्ने गरेको छ । वर्तमान स्वास्थ्य मन्त्री गगन थापाले राम्रो काम गरुन, उनलाई लागेको धब्बाहरु राम्रो कामबाट मेटिउन र राम्रै छवि बनोस् ।
केही महिना अघि मात्र नेपाली कांग्रेसका महामन्त्रीका उम्मेदवार गगन थापा हिजो मात्र भएको नेपाल सरकारको चौथो चरणको मन्त्री मण्डल बिस्तारमा स्वास्थ्य मन्त्रीमा नियुक्त भएका छन् । अहिले सबै नेपालीले उनलाई नियालिरहेका छन् । मीठो भाषण गर्ने थापाको काम कस्तो होला भनेर । हुन यो सरकारको सुरुवातीमा नै यस सरकारलाई भारतले बनाएको सरकार भनेर ट्याग लागेको छ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री हुनु, भारतले नाकाबन्दी गर्नु, नाकाबन्दी नहटेसम्म भारत भ्रमण गर्दिन भनेर ओलीले चट्टानी अडान लिनु, भारतले नाकाबन्दी खोल्नु, ओली भारत भ्रमण गर्नु, भारतसँग कुनै पनि राष्ट्रघाती सन्धि नगर्नु, लगत्तै चीनको भ्रमण गर्नु र अत्यन्त दुरगामी महत्व बोेकेको पारवाहन लगायतका अन्य महत्वपूर्ण सन्धिहरु गर्नु, ओली नेपाल फर्के लगत्तै उनको राजनीतिका खटपट शुरु हुनु, यति हुँदा हुँदै पनि केपी ओलीले आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गर्नु, नीति तथा कार्यक्रम जनमुखी, युवामुखी, विद्यार्थीमुखी, विकासमुखी हुनु र बजेट पनि त्यही अनुरुप हुनु । यति राम्रो काम गर्दा गर्दै केपी ओली नेतृत्व सरकारबाट प्रचण्डले समर्थन फिर्ता लिनु र अन्त्यमा ओली नेतृत्वको सरकार ढल्नु अनि भारतीय राजदुत रन्जित रायले दुतावासमा खुशियाली भोज आयोजना गर्नु, त्यसपश्चात प्रचण्डको नेतृत्व र नेपाली कांग्रेसको समर्थनमा सरकार गठन हुनुलाई भारतीय मिडियाहरुले ओली सरकार बाहिरिएर प्रचण्ड नेतृत्व सरकार गठन हुनु भारतको लागि खुशी र फाइदाको कुरा भएको टिप्पणी गर्नु । यी सबै घटनाक्रमले प्रचण्ड सरकार भारतकै ईशारामा बनेको केही हदसम्म पुष्टि हुन्छ । यस्तो जगमा बनेको सरकारमा नियुक्त भएका स्वास्थ्य मन्त्री गगन थापाबाट पनि त्यति धेरै आशा गर्नु उचित नहोला ।

स्मरण रहोस्, गगन थापा आजभन्दा लगभग २ दशक अघि त्रिचन्द्र क्याम्पसको स्ववियु सभापति भएका थिए । जुनबेला क्याम्पसमा गरेको काम त्यहीका विद्यार्थी नेताहरुलाई गएर सोधे प्रष्ट हुन्छ । उनले त्यसबेला क्याम्पसमा पार्क बनाएका थिए । अहिलेको भाउ बिक्री, महंगीमा पनि १० लाख जतिमा सहजै निर्माण हुन सक्ने पार्क त्यति बेला १ करोड २० लाखमा बनेको पार्क हो । अहिले पनि ६ देखि ७ लाखमा सहजै निर्माण हुने स्ववियु भवन उनले त्यतिबेला ८० लाखमा बनाएका थिए । यस्ता थुप्रै उदाहरण जस्तैः– ब्याडमिन्टन कोर्ट, स्पोर्ट्स हलबाट पनि उनले नाफा कमाएको आरोप लागेको थियो । जुन कुरा त्यसबेला सक्रिय विद्यार्थी राजनीति गर्ने बाहेक अरु कमैलाई थाहा होला । गगन थापामाथि बाख्रापालनबाट पनि यसरी नै ‘कू’ गरी पैसा कमाएको भनेर आरोप लागेको छ । थापालाई अहिले त्यसबेलाको त्यहि रकम र गुण्डाको बल अनि आफ्नो कलात्मक भाषणको तुकले राजनीतिक गरिरहेका छन् भन्ने गरेको पनि पाइन्छ । वर्तमान स्वास्थ्य मन्त्री गगन थापाले राम्रो काम गरुन, उनलाई लागेको धब्बाहरु राम्रो कामबाट मेटिउन र राम्रै छवि बनोस् । सफल कार्यकालको शुभकामना छ ।
लेखक सिलवाल विद्यार्थी नेता हुन् ।















प्रतिक्रिया