
राजनीति समिकरणका आधारहरु पहिलो त राजनीति दर्शन, सिद्धान्त र उद्देश्यहरु नै हुन । यिनैको जगबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक समिकरणहरु निर्माण भएका छन् । यसरी निर्माण हुने समिकरणबाट दीर्घकालीन राजनीतिक लक्ष्य पूरा गर्न खोजिएका छन् । आज संसारमा जे जस्ता अन्तर्राष्ट्रिय समिकरणहरु देखा परेका छन ती सबै राजनीतिक दर्शन, सिद्धान्त र उद्देश्यबाट निर्माण भएका हुन । तर यस्तो समिकरणको नेतृत्व भने आर्थिक रुपमा सम्बृद्ध र सैन्य तथा आणाविक शक्तिशाली राष्ट्रहरुले गर्दै आएका छन् । तिनै अन्तर्राष्ट्रिय समिकरणको प्रभाबबाट राष्ट्रिय राजनीतिक समिकिरणहरु निर्माण हुने र भत्कने गर्दछन ।
विश्व राजनीतिक शक्ति संघर्षको प्रत्यक्ष लडाई दोस्रो विश्वयुद्धपछि सकिएको भनिए पनि अप्रत्यक्ष रुपमा आज पनि जारी छ । संसारका शक्ति सम्पन्न राष्ट्रहरु अहिले पनि हरेक देशमा आफ्नो प्रत्यक्ष प्रभाब राख्न खोजिरहेकै छन् भने अल्पविकसित र विकासशिल देशहरुमा त्यसको प्रत्यक्ष ढंगले सकारात्मक तथा नकारात्मक प्रभाबहरु देखिदै आएका छन् । यस्तो प्रभाबले अल्पविकसित र विकासशिल देशको राष्ट्रिय स्वाभिमान र एकतामा गंभिर चुनौतिहरु देखा पर्ने गरेका छन् । मुलुकको आफ्नो राष्ट्रिय आबश्यकता भन्दा शक्ति सम्पन्न राष्ट्रको आर्शिबाद र निर्देशनबाट बन्ने राष्ट्रिय समिकरणले नै आज पनि अल्पविकसित र विकासशील देशमा राजनीतिक अस्थिरता हुने र राष्ट्रिय एकता कमजोर बन्दै जाने स्थिति भएको छ । जसको वलियो उदाहरण नेपाल आजसम्म हुदै आएको छ ।
इतिहासमा अपवाद बाहेक नेपालका राजनीतिक निर्णय र समिकरण निर्माणमा प्रत्यक्ष रुपमा भारतको प्रभाब रहँदै आएको छ । २००७ सालमा राजा, काँग्रेस र राणाहरुबीच गरिएको राजनीतिक सम्झौता होस् वा २०६३ सालमा तत्कालील सात राजनीतिक दल र नेकपा माओबादीबीच गरिएको १२ बुँदे समझदारी होस् । नेपालका राजनीतिक दलहरुले भारतलाई किनाराको साक्षी माने पनि भारतले आफूलाई झगडा मिलाउने ठालु ठानेको छ । यसर्थ बिगतदेखि भारतले नेपालको राजनीति घटनक्रममा प्रत्यक्ष आफ्नो भूमिका खोज्ने गरेको छ । यो नेपालको राजनीतिक क्षमता र स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप हो भन्दा कतिपय गुलामी मनोबिज्ञान र चरित्र बोकेका नेपाली राजनीतिज्ञ लगायत सामाजिक जीवनका सबै क्षेत्रमा क्रियाशिल पात्रहरुको टाउको दुखाइको बिषय हुने गरेको छ । यस्ता पात्र र प्रवृतिका कारण आजसम्म नेपाल भारतीय एकल प्रभुत्वबादको शिकार हुने गरेको छ ।
भारत नेपालमा कस्तो राजनीतिक ब्यबस्था र सत्ता संचालक चाहन्छ भन्दा कि एउटा निरुकुंश शासक जो भारतको इसरामा नाच्न सकोस् वा अस्थिर राजनीतिक ब्यबस्था पछिल्लो समय भारतले सोचे जस्तो निरुकुंश शासक निर्माणको वाताबरण बनेको छैन् । तर राजनीतिक अस्थिरताका लागि भने भारत पूर्ण रुपमा सफल हुँदै आएको छ । पछिल्लो समयको अस्थिर राजनीतिक परिस्थितिमा नेपालमा बन्ने राजनीतिक समिकरणहरु प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा भारतको आर्शिबाद र आदेशमा निर्माण हुने गरेका छन् । संबिधान घोषणामा देखिएको नेपालको राजनीतिक एकता भत्काउन भारत सफल भयो । जहाँ नेपाली काँग्रेस भारतीय चाहना अनुसार नै त्यो एकताबाट अलग भएको स्वयम काँग्रेसका राष्ट्रबादी नेताहरुले बताउँदै आएका छन् । नेपालको नयाँ संबिधान निर्माण र घोषणाको बिपक्षमा उभिएको भारतले यसको कार्यन्वयनमा कुटनीतिक रुपमा प्रभाब बढाउँदै जान थालको छ । जुन वर्तमान सत्ता समिकरण निर्माण र अघिल्लो गठबन्धन बिगठन यसको बलियो प्रमाण हो । संबिधान घोषणापछि जबरजस्त निर्माण भएको राजनीतिक समिकरण र त्यस जगमा बनेको केपी सरकार भारतको सबभन्दा ठूलो टाउको दुखाईको बिषय बनेको थियो । उसले गठबन्धनबाट नै गुलामी प्रबृति बोकेका पात्रहरुको प्रयोग गरेर समिकरण तोडेर ओली सरकार ढलेको हो । यो सत्य हरेक राष्ट्रवादी नेपालीका लागि घाम झै छर्लङ्ग छ । यो बेला निर्माण भएको राजनीतिक गठबन्धन मुख्य त राष्ट्रिय स्वाभिमानको खिलाप र दक्षिणी आर्शिवादको उपज हो भन्दा फरक पर्दैन । समग्रमा कठपुतली सरकार हो, केही बेलाका लागि म्यादी सरकार मात्रै हो ।
बिशेषत: सत्तामा पुग्नका लागि गरिने दक्षिण दौडाह यसको ज्वलन्त उदाहरण हो । यो राजनीतिक यथार्थलाई कतिपय गुलामी प्रवृत्ति दासत्व स्वीकार गर्ने मनोबिज्ञान बोकेकाहरुले अस्वीकार गर्दै आएका छन् । यो वास्तबिकतालाई अस्वीकार गर्नेले माओबादी केन्द्रले आफ्नो राजनीतिक दस्तावेजमा उल्लेख गरेको नेपाली काँग्रेसलाई बर्गशत्रु भन्ने शब्द र अहिलको राजनीतिक समिकरण कसरी निर्माण भएको हो । कुन प्रभुकोे आज्ञा र आदेशमा बर्गशत्रु पार्टीहरु सत्ता समिकरणमा संगै हिड्न थालेका छन् । अनि कसरी माओबादी केन्द्रले बर्ग शत्रुसँग सत्ता संचालन र शक्तिको साझा प्रयोग गर्ने नैतिक अधिकार प्राप्त गर्न सक्यो । बर्गशत्रुसँग निरन्तर संघर्ष र बर्ग समाप्त भन्ने विश्वब्यापी राजनीतिक दर्शनको मान्यता बिपरित बनेको यो राजनीतिक समिकरण राष्ट्रिय स्वाभिमानको पक्षमा छ भन्ने राजनीतिक आधार कतै भेटिदैन ।
लामो समयदेखिको राजनीतिक अस्थिरता संविधानले समाप्त गर्छ भन्ने आम जनअपेक्षा संबिधान निर्माणसंगै खण्डित भएको छ । यो जनभावनाको अपमान बिशेष त अहिले सत्ता समिकरण गरेको हो । संबिधान घोषणासंगै काँग्रेसले राजनीतिक एकता र सहकार्यको उलघंन गर्यो भने अहिले माओबादी केन्द्रले आफै संलग्न सरकार ढालेर देशलाई राजनीतिक अस्थिरताको दिशा तर्फ मोडेको छ । अनेकौँ देशी विदेशी चलखेललाई चिरेर ९० प्रतिशतभन्दा बढी मतका साथ नयाँ संविधान पारित भयो, जुन विश्वमै एउटा दुर्लभ घटना हो । विडम्बना, संबिधान घोषणापछि भारतले अशोभनिय ढंगले नेपालको संबिधान बारेमा अन्तर्राष्ट्रिय जगतमा समेत असन्तोष प्रकट गर्ने काम गर्यो । त्यो बेला केही राजनीतिक शक्तिहरु यसको मुकाबिला गर्नुभन्दा भारतका सामु लम्पसार भएर सत्तामा पुर्याइ दिन हारगुहार गरे । तर स्वाभिमानी नेपाली जनताले यसको डटेर प्रतिकार गरे, अन्ततः नेपाली स्वाभिमानले जित्यो, भारत झुकेकै हो । फेरी आत्मसर्मपनबादी र गुलामीहरुले उचालिएको राष्ट्रबादी भावनाको बरखिलापमा भारतीय चाहानाको गठबन्धन तयार गर्न पुगे । राष्ट्रिय स्वाभिमान र देशभक्तिपूर्ण भावनाको बिरुद्धमा बनेको राजनीतिक समिकरणको बिकल्प खोज्नु अबको नेपाली राजनीतिको कार्यभार हो ।
लेखक प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष हुन् ।















प्रतिक्रिया