नेपाली काँग्रेसका नेता गगन थापा समकालिन राजनीतिज्ञहरुमा प्रखर वक्ताका रुपमा चिनिन्छन । कुनै पनि विषयमा आफ्नो स्पष्ट दृष्टिकोण राख्न सक्ने नेताका रुपमा चिनिएका थापा तत्कालिन शाही शासनविरुद्ध राजनीतिक दलहरुले गरेको प्रतिगमनविरुद्धको जनआन्दोलनका एक जना नायक थिए । तत्कालिन समयमा पार्टी नेतृत्वले आन्दोलन हाक्दै गर्दा सडकमा भने गगन थापा सहितका विद्यार्थी र तरुण युवा नेताहरुले आन्दोलनको मोर्चा सम्हाल्थे ।
३० बर्षे पञ्चायत विरुद्ध २०४६ सालमा भएको आन्दोलनमा स्कुले विद्यार्थीकै हैसियतमा आन्दोलनमा निस्किएका थापा त्यसयता राजनीतिमा झुकाव राख्दै आएका थिए । विद्यालय पढ्दैदेखि नेपाली काँग्रेसको भतृसंस्था नेविसंघमा आवद्ध थापा उच्च शिक्षा अध्ययनका क्रममा क्याम्पसमा पढ्दा पनि नेविसंघको राजनीतिमा रहे ।
पिता महेन्द्रकुमार थापा र माता रामेश्वरी थापाका माहिला छोराका रुपमा थापाको जन्म २०३३ साल साउन ४ मा काठमाडौंको प्रसूति गृहमा भएको थियो । गगनको बाल्यकालका केही समय सिन्धुपाल्चोक जिल्लामा बित्यो ।
पिता महेन्द्र नेपाल विद्युत प्राधिकरणमा इन्जिनियर थिए । पिता महेन्द्र इन्जिनियर भएका कारण पनि उनली सबैलाई डाक्टर इन्जिनियर जस्ता प्राविधिक विषय पढाउन चाहन्थे । नभन्दै गगनका दाजु पवन इन्जिनियर भए । आफ्नो इन्जिनियरिङ अध्ययनका क्रममा उनका दाजुले कहिल पनि दोस्रो भएनन । साथै सधै विश्विद्यालय पनि उत्कृष्ठ भए। भाइहरू जीवन डाक्टर भए भने सुमन पनि प्राविधिक विषयमा उच्च अध्ययन गरि अमेरिकामा छन् । बाबुको इच्छा पनि सबै छोराहरु झै गगन पनि डाक्टर–इन्जिनियर नै बनोस भन्ने चाहन्थे । परिवारको इच्छा अनुसार गगन पनि क्याम्पस पढ्न जाँदा शुरुमा डाक्टर इन्जिनियर बन्ने सोच राखेर नै गएका थिए । तर, अध्ययनका क्रममा उनले आफ्नो रुची अन्तै पाए ।
इन्जिनियरिङ अध्ययनको पढाइ छोडेर उनले त्रिचन्द्र क्याम्पसमा साइन्स पढे । त्रिचन्द्रबाट विएस्सी सकाएपछि उनले त्रिवीबाट मानवशास्त्र समाजशास्त्र विषयमा स्नातकोत्तर गरे । २०५१ सालमा त्रिचन्द्र क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सदस्यमा निर्वाचित भएका थापा त्यसपछि २०५३ मा त्रिचन्द्र स्ववियुमा सचिव भए। २०५५ सालमा स्ववियु सभापति भएपछि नेविसंघको केन्द्रीय राजनीतिमा उनको संलग्नता बढ्यो । नेविसंघको चितवनमा सम्पन्न महाधिवेशनबाट उपाध्यक्ष भएका थापाले बिरगञ्जमा सम्पन्न महाधिवेशनबाट महामन्त्री बने । उनले २०५९ साल देखि २०६१ सालसम्म नेविसंघको महामन्त्री भएर काम गरेका छन् । यहि बेलामा उनले जनआन्दोलनका नायकका रुपमा सडकमा नेतृत्व गर्दा पटकपटक घाइते र प्रहरी नियन्त्रणमा परे । २०५९ सालमा राजाले जननिर्वाचित सरकार अपदस्थ गरेपछि त्यसको विरोधमा भएको आन्दोलनका क्रममा सूर्य बहादुर थापा नेतृत्वको सरकारले थापा सहित गुरु घिमिरे र पुरुषोत्तम पौडेललाई नियन्त्रणमा लिएर राजकाज मुद्दा लगाएको थियो। यसअघी भने उनी एमालेको अल्पमतको सरकार छँदा २०५१ सालमा नेविसंघले आह्वान गरेको नेपाल बन्दका क्रममा हिरासत पुगेका थिए ।
शाही शासनको बेलामा अर्धभुमिगत शैलीमा काठमाडौंमा रहेर आन्दोलनमा सक्रिय रहेकै बेलामा थापालाई प्रहरीले लैनचौरको विद्यार्थी नेता सन्देश अधिकारीको घरबाट विद्यार्थी नेताहरु सुवोध आचर्य सहितलाई नियन्त्रणमा लिएको थियो । सरकारले गगनलाई राजद्रोहको मुद्दा लगाएको थियो । अन्तर्राष्ट्रिय मानवअधिकारीवादी संस्था एम्नेष्टी इन्टरनेशनलले थापालाई सो समयमा आस्थाको बन्दी घोषणा गरेको थियो । नेपाली काँग्रेस संवैधानिक राजतन्त्रको पक्षमा वकालत गरिरहँदा थापा सडकमा गणतन्त्रको नारा लगाउने मात्र होइन त्यस्तो समुहको नेतृत्व गरेका थिए । लोकतान्त्रिक आन्दोलनमा उनको प्रखर व्यक्तित्व अनि लोकप्रिय छविको जताततै प्रशंसा भयो । हुँदा हुँदै उनी लोकतन्त्रकै नायक बन्न सफल भए । त्यस समयमा उनलाई विभिन्न सञ्चारमाध्यमले पनि लोकतन्त्रकै नायकको रुपमा फिचरिङ गरेको थियो । देशको समसामयिक बिषयका साथै पार्टीभित्र पनि आफूलाई उचित लागेको विषयमा प्रखर रूपमा आवाज उठाउने थापा चुनौति मोल्न सक्ने नेताका रुपमा परिचित छन् ।
पहिलो संविधानसभाबाट समानुपातिक सभासद बनेका थापा दोस्रो सविधान सभामा भने काठमाडौं क्षेत्र नम्बर ४ बाट आफ्ना निकटतम प्रतिष्पर्धीहरुभन्दा दोब्बर भन्दा वढी मत ल्याएर निर्वाचित भए । उनीसँगै पराजित नन्दकिशोर पुन पासाङ अहिले उपराष्ट्रपति भएका छन् । सभासद निर्वाचित भएपछि उनलाई पार्टीले कृषि तथा जलस्रोत समितिको सभापतिको भुमिका दिएको थियो । उनले सो समितिको नेतृत्व गरिरहँदा संसदीय अभ्यासमा केहि नविनतम काम गर्ने प्रयास गरे ।
संविधान सभामा नेपाली काँग्रेस नामक पुस्तकका लेखक थापाले नेपाली काँग्रेसका ऐतिहासिक दस्तावेज नाम पुस्तकको सहलेखन गरेका छन् । उनका विभिन्न सञ्चारमाध्यममा सयौं लेखहरु समेत प्रकाशित छन् । नेपाली काँग्रेसको १३ औ महाधिवेशनमा महामन्त्री पदमा प्रत्यासी भएका थापा राजनीति व्यापार नभइ सेवा भएको बताउँछन । थापाले नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीकी छोरी डा. अञ्जना केसीसँग २०६५ वैशाखमा विवाह गरे । उनका दुई छोरी छन् ।
नवनियुक्त स्वास्थ्यमन्त्री थापा समकालिन राजनीतिका चुनौती मोल्न सक्ने नेता हुन् । सांसद भएयता उपत्यकाका सांसदहरुसँग मिलेर ‘लिभेवल काठमाडौं’ अर्थात बस्न योग्य काठमाडौं उपत्यका अभियान सञ्चालन गर्दै आएका थापा अहिले देशको स्वास्थ्यको लागि काम गर्नुपर्ने स्वास्थ्य मन्त्रालयको नेतृत्व गर्न आइपुगेका छन् । अब उनले काम गरेर देखाउने बेला आएको छ ।

















प्रतिक्रिया