३१ आश्विन २०८३, शनिबार

टेबलटेनिसमा श्यान्टू र एरिका च्याम्पियन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

7काठमाडौं, १० भदौ । प्राइम कलेजकाद्वय श्यान्टू श्रेष्ठ र एरिका महर्जन ११ औं हरेराम जोशी स्मृति टेबलटेनिस प्रतियोगिताको खुलातर्फ बिहीबार च्याम्पियन बनेका छन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष सिंगल्स फाइनलमा श्यान्टूले क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सीसीआरसी) का कृष्ण थापा मगरलाई ८–११, ११–१, ११–७, १३–११ र ११–४ को सेटमा पराजित गरे । भक्तपुरका राजिव चिकाबन्जर र लिभरपुलका रितिज जोशी तेश्रो भए ।

महिला सिंगल्सको उपाधि भिडन्तमा एरिकाले लिभरपुलकी सिक्का सुवाललाई ११–८, ७–११, ११–९ र १२–१० को सेटमा हराइन् । प्राइमकी सुजाता दुवाल र सीसीआरसीकी सोनु थापा मगरले तेश्रो स्थानमा चित्त बुझाए ।

हरेराम जोशी स्मृति प्रतिष्ठानद्वारा आयोजित प्रतियोगिताको यु–१६ ब्वाइज सिंगल्समा आदर्श विद्या मन्दिर (एभीएम) का डिकेन महर्जन पहिलो भए । उनले फाइनलमा आफ्नै स्कुलका सम्योग कपालीलाई ११–९, १३–११ र १३–११ को सोझो सेटमा हराए । प्रोक्सिमा इन्टरनेसनलका रेखन तामाङ र एभीएमका सुधाकर खत्री तेश्रो बने ।

सोही स्पर्धाको गल्र्समा एभीएमकी दीक्षा तामाङले शीर्ष स्थान हात पारिन् । फाइनलमा दीक्षाले एभीएमकै लश्ता महर्जनको चुनौती १२–१०, ८–११, ११–७ र ११–६ ले पन्छाइन् ।

विजेश्वरीका सुजन खड्काले यु–१२ ब्वाइज सिंगल्सको उपाधि जिते । फाइनलमा सुजनले एभीएमका रुविन महर्जनमाथि १०–१२, ११–६, ११–४ र ११–८ को जित दर्ता गरे ।

उक्त स्पर्धाको गल्र्समा प्रभातकी मनीषा सुवाल पहिलो भइन् । मनीषाले फाइनलमा प्रभातकै मन्जु सुवाललाई ११–६, ११–८ र १२–१० ले पाखा लगाइन् ।

भेट्रान्स ५० वर्षमाथि पुरुष सिंगल्सको फाइनलमा पन्नाकाजी शाक्यले इन्द्र खड्कालाई ११–९, १२–१०, ६–११ र ११–४ ले निराश पार्दै पहिलो स्थान कब्जा गरे । भेट्रान्स ४० वर्षमाथि पुरुष सिंगल्समा राजेन्द्र ब्याञ्जन्कार अगाडि रहे । उनले फाइनलमा कपुर शर्मालाई ११–६, १३–११ र ११–९ ले हराए ।

विजेतालाई आठ पटककी टेबलटेनिस राष्ट्रिय च्याम्पियन एवं दक्षिण एसियाली खेलकुदकी स्वर्ण विजेता सिजरिन शाह, स्व. हरेरामका छोरा एवं टेबलटेनिस पूर्व मुख्य प्रशिक्षक रमेशराज, टेबलटेनिसका पूर्व मुख्य प्रशिक्षक वृजेन्द्र हमाललगायतले एक कार्यक्रमबीच पुरस्कार वितरण गरे ।

दुईदिने प्रतियोगितामा विभिन्न ८ स्पर्धामा १ सय ८० खेलाडीले प्रतिस्पर्धा गरेका थिए । भेट्रान्स बाहेक सबै स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने क्रमशः १ हजार, ७ सय र ५/५ सय नगद पुरस्कार प्राप्त गरे ।