झलारी पिपलाडी नगरपालिका–८ बेल्डाँडीका महिलाहरु २०५० सालदेखि प्रगति महिला सामुदायिक वन उपभोक्ता समूहमा आबद्ध भएर वन संरक्षणमा लागेका छन् । वन कार्यालयले समुदायलाई वन हस्तान्तरण गर्न थालेपछि ५० को दशकमा पहिलो पटक बेल्डाँडी महिलाहरु सामुदायिक वन बनाउन कस्सिए । महिलाहरुको अग्रसरता देखेर वन कार्यालयले एक सय १९ हेक्टर वन महिला समूहलाई हस्तान्तरण गरि दियो । कालिका सामुदायिक वन घाँसपातका लागि टाढा भएपछि महिलाहरु वस्ती नजिकको वन क्षेत्र संरक्षणका लागि कस्सिएका थिए ।
२३ वर्षदेखि प्रगति महिला सामुदायिक वनलाई महिलाहरुले नेतृत्व दिएर प्रगतितिर लम्काएका छन् । सबै संगठित भएर बनाएको वनमा दिन बित्दै जाँदा अनियन्त्रित चरिचरन र वन क्षेत्रमा बनाइएको खेल मैदानले समूहलाई सकसमा पा¥यो । वनभित्रको खेल मैदानमा खेल खेलिंदा बलले स्थानीयका घरका टायल फुटे, बटुवालाई चोट लागेर घाइतेसम्म भए । सिद्धनाथ युवा क्लबले क्लबले मैदान बनाएको थियो । एकातिर बलले हैरानी दियो भने अर्कोतिर समूह सदस्यका कारण अनियन्त्रित चरिचरनले वन संरक्षण समस्या पर्दैै आयो । यी दुबै चुनौति विरुद्ध समूह सशक्त रुपमा उभियो । खेल मैदान वरिपरि तारबार गरी वृक्षारोपण गरियो भने वनमा पस्ने पशु चौयापालाई खोरमा थुन्न थालियो । क्लबका सदस्यलाई यो चित्त बुझेन । उनीहरुले मैदान वरिपरि लगाएको तारबार र वृक्षारोपण उखेलेर फालि दिए । समूहले विरुवा फालेको जानकारी वन कार्यालयसम्म पुगेपछि क्बलका सदस्यहरु भागे । खोरमा थुनिएका पशु चौयापाका धनीहरु समूह विरुद्ध खनिए । यसले समूह र स्थानीयबीच द्वन्द्व बल्झियो । झण्डै चार पाँच महिनाबीच स्थानीयबीच आपशमा बोलचाल भएन, विवाह, मलामी, पूजापाठमा सहभागी भएन । स्थानीयको आपशी विवादले संरक्षणमा वाधा पर्न थाल्यो ।
२०७२ असारदेखि चर्किएको द्वन्द्व प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपाल र सामुरको सहजीकरणमा स्थानीयले सहमतिमा द्वन्द्व सुल्झाएका छन् । केन्द्रले असारसम्म सञ्चालन गरेको प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण कार्यक्रमले प्रगति महिला सामूहिक वन, सिद्धनाथ युवा क्लब र स्थानीयबीचको विवाद मात्रै टुङ्गिएको छैन, स्थानीयले खेल मैदान र चरिचरनको विकल्प पनि एकसाथ खोजेका छन् । द्वन्द्व समाधानका लागि गठित माकुरा समूहका संयोजक हर्क बहादुर ऐर भन्छन्,‘प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण कार्यक्रम आएपछि मात्रै आपशमा छलफल गर्न पायौ, त्यसपछि टोल टोल गएर सबैका समस्या बुझ्यौ, छलफल गर्यौ, समस्या र समाधानको छुट्टाछुट्टै खेस्रा बनाएर सहमतिमा पुग्यौ ।’ शिक्षक ऐरको नेतृत्वमा १० सदस्यीय समितिले सबैका धारणा संकलन गरी द्वन्द्वरत पक्ष र समुदायका अगुवालाई एक साथ राखेर विकल्पको खोजी गरेको थियो ।
२०७२ साउन दोस्रो सातादेखि उत्पन्न द्वन्द्व मंसिरसम्म पुग्दा स्थानीयले आपशी सबै पक्षको सहमतिमा समाधान गरे । माकुरा समूहले तयार पारेका विकल्पमा सहमति जनाउँदै १० बुँँदे सहमति गरिएको थियो । सहमतिका बुँदालाई द्वन्द्वरत पक्ष र स्थानीयले ताली बजाएर पारित गरेका थिए । १० बुँदे सहमतिपछि स्थानीयबीच उत्पन्न द्वन्द्व सुल्झिएको छ । ‘अहिले त पहिला जस्तै विवाह, जन्ती, मर्दापर्दा सबै एक अर्कोमा जान थालेका छन्’ माकुरा समूहका संयोजक ऐर भन्छन्,‘एक आपशमा नमिली सुख हुँदो रहनेछ ।’
सामुदायिक वनको साधारण सभाबाट युवाका लागि खेल मैदान छनौटका लागि समिति बनाउने, वन संरक्षणका लागि सबै घरधुरीले आलोपालो गस्ती गर्ने, खुला चरिचरन बन्दका लागि तारबार लगाउने, अन्य क्षेत्रबाट आउने पशु चौपाया रोक्न समितिले पहल गर्ने, वन क्षेत्र प्रवेशका लागि चार स्थानमा बाटो बनाउने, वन पैदावार बिक्री वितरणका लागि साधारण सभाबाट अनुगमन समिति बनाउने, सामुदायिक वनको कार्य समिति समावेशी बनाउने, सिद्धनाथ युवा क्लबका लागि बजेट छुट्याउने, समाजमा एकले अर्कोलाई सम्मान गर्ने, सामुदायिक वनको निर्णय प्रक्रियामा सबैलाई सहभागी गराउने लगायतका बुँदामा सहमति गरिएको थियो ।
सहमति पत्रमा हस्ताक्षरपछि द्वन्द्वरत पक्षबीच एक आशपमा टिका लगाएपछि द्वन्द्व औपचारिक रुपमा टुङ्गिएको थियो । स्थानीयले एक आपशमा टिका लगाएर खुसी साटेपछि ताली गुञ्जिएको थियो । ‘त्यो बेला खुसीको माहौल थियो, स्थानीयले एक आपशमा टिका लगाए, ताली गुञ्जिएको थियो’ सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला महासंघ कञ्चनपुरका अध्यक्ष लक्ष्मी साउँदले भनिन्,‘मिल्नु भन्ने कुरा कतिसम्म महत्वपूर्ण हुँदो रहेछ भन्ने दृष्य स्पष्ट देखिन्थ्यो, आपशी मिलापत्र नै बलियो रहेछ ।’
द्वन्द्व समाधान घोषणाका लागि राखिएको कार्यक्रमको अध्यक्ष्तामा गोमती कुँबरले गरेकी थिइन् । कार्यक्रममा सिद्धनाथ निम्न माध्यमिक विद्यालयका प्रधानाध्यापक शंकरदत्त भट्ट, सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला महासंघका अध्यक्ष लक्ष्मी साउँद, जिल्ला वन कार्यालयका सहायक वन अधिकृत विश्वेश्वर प्रसाद जोशीले आपशी सहमतिमा स्थानीयबीच देखिएको द्वन्द्व समाधान भएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा सामूहिक रुपमा वन संरक्षणमा लाग्नु सुझाव दिएका थिए ।
मन फाटेका वासिन्दालाई भेला गरी टिका लगाएर द्वन्द्व समाधानको घोषणासम्म आइपुग्दा माकुरा समूहले असहजता झेल्न प¥यो । एक आपशमा बोलचालीसम्म नभएका स्थानीयलाई घर घरमा एकजुट गराउन अप्ठेरो काम थियो । माकुरा समूहका संयोजक ऐरले घरदैलो चलाएको केही दिनसम्म समुदायबाट विभिन्न आरोप झेले । स्थानीय समुदायमा मिलेर बस्नको विकल्प छैन भनेर घरदैलोमा निस्किएको ऐरको टोलीले दैनिक छलफल र घरदैलो चलाएपछि स्थानीय विस्तारै सकारात्मक हुँदै गए । ‘एकाध दिनमै हुँदैन भनेर छाडेको भए सम्भव थिएन’ घरदैलो चलाउँदाको क्षण सम्झदैं उनी भन्छन्,‘हामीसित बोल्न चाहदैन्थे ।’
माकुरा समूहले पहाडी टोल, चौधरी टोल, सिद्धनाथ युवा क्लब, सामुदायिक वन लगायतका समूहमा विभाजन गरी घरदैलो चलाएको थियो ।
द्वन्द्वको समाधानपछि वस्तीको माहौल पहिल्यैको अवस्थामा फर्किएको छ । स्थानीयबीच सद्भाव, मित्रता, सहयोग चलेको छ । एक अर्कासित बोलचाली बन्द भएका उनीहरु अहिले विवाह, मर्दापर्दा, धार्मिक कार्य, खेतीपातीमा सहभागी हुन थालेका छन् । वर्षौदेखि एक ठाउँमा बसेर अचानक बल्झिएको द्वन्द्वले अवरुद्ध वन संरक्षणमा सामूहिक रुपमा लाग्न थालेका छन् । ‘यस्तो होला भन्ने कहिल्यै पनि सोचेका थिएनौं, अचानक भई दियो’ स्थानीय मिना डगौरा भन्छिन्,‘अहिले मिलेपछि त राम्रो भएको छ, जस्तो पहिला थियौ, त्यस्तै छ, अब फेरि यस्तो नदोहोरियो ।’
प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्रले स्थानीयको सहमतिमा सबै पक्षको जीत जीत हुने गरी द्वन्द्वको शान्तिपूर्ण समाधान गरेको छ । स्थानीय हारजीत नभएर द्वन्द्व समाधान भएको सन्तुष्ट छन् । स्थानीयले द्वन्द्वलाई इलाका वन कार्यालयसम्म नपुगाएका पनि होइनन्, इलाका वन कार्यालयले पनि यसलाई समाधान गर्न सकेन । सामुदायिक वनमा वृक्षारोपण उखेलिएपछि स्थानीय वन कार्यालय पुगेका थिए । ‘वन कार्यालयले पनि यसलाई हल गर्न सकेन, यदि हल भएको भए पनि सबै जना खुसी हुने थिएन’ माकुरा समूहका संयोजक हर्क बहादुर ऐर भन्छन्,‘ स्थानीयले छलफल गरी आफैंले विकल्प खोजी कसैको पनि हारजीत नभएर द्वन्द्व समाधान ग¥यौ, यो हामी सबै स्थानीयको जीत हो ।’
हारजित भएर द्वन्द्व समाधान गरिएको भए हार्ने पक्ष सधैं अन्तुष्ट हुने स्थानीय बताउँछन् । हार न जीत भएकाले स्थानीयले तितो विगत बिर्सेका छन् । ‘न मैले हारेको छ, न उसको जितेको छ भन्ने भावना छ,’ स्थानीय भीम बहादुर साउँदले भने,‘ अब त सबै मिलेर वन संरक्षणमा लाग्नु पर्छ भन्ने सबैको चाहना हो ।’















प्रतिक्रिया