
काठमाडौँ, ९ भदौ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार निर्माणमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको रेकर्ड तोड्ने भएका छन्।
सुरुमै सानो आकारको मन्त्रीमण्डल बनाउने भए पनि प्रचण्ड नेतृत्वको सरकार ओलीको भन्दा ठूलो हुने सम्भावना देखिएको छ । १३ वटा मन्त्रालय पाएको काँग्रेसले १५ जना मन्त्री बनाएको छ । ५ जना राज्यमन्त्री अर्को साता नियुक्त गर्ने काँग्रेसको तयारी छ । यसो हुँदा काँग्रेसबाट मन्त्रिमण्डलमा २० जना हुनेछन् ।
यसैगरी, माओवादी केन्द्रले यसअघि नै प्रधानमन्त्रीबाहेक ८ मन्त्री नियुक्त गरिसकेको छ । माओवादीबाट चार जना राज्यमन्त्री पनि भइसकेका छन्। काँग्रेसबाट मन्त्रिमण्डलमा १३ जना सहभागी छन् । यो अवधिमा राप्रपाबाट २ जना मन्त्री भएका छन् ।
काँग्रेसबाट ५ जना राज्यमन्त्री नियुक्त भएपछि प्रचण्ड नेतृत्वको सरकार ३५ सदस्यीय बन्नेछ । प्रचण्डले साना दललाई पनि मन्त्रालय दिने बताएका छन् । विजयकुमार गच्छदार सरकारमा आउनका लागि खुट्टा उचाइरहेका छन् । यो अबस्थामा मन्त्रीको संख्या केपी ओलीको पालामा भन्दा धेरै हुनेछ । यसअघि ओली सरकार प्रधानमन्त्रीसहित ४० सदस्यीय थियो । ओली सरकारमा ६ जना उपप्रधानमन्त्री, २१ जना मन्त्री, १० जना राज्यमन्त्री र २ जना सहायकमन्त्री थिए ।
अहिलेसम्म सबैभन्दा ठूलो मन्त्री मण्डल बनाउनेमा पूर्व माओवादीका नेता बाबुराम भट्टराई हुन् । अहिले नयाँ शक्ति स्थापना गरेका भट्टराईले आफ्ना पालामा ४९ सदस्यीय मन्त्रिपरिषद् बनाएर अहिलेसम्मकै रेकर्ड तोडेका थिए । दोस्रो नम्बरमा भने काँग्रेसका सभापति शेरबहादुर देउवा नै पर्छन् । उनले २०५२ मा आफ्नो मन्त्रिपरिषद् ४८ सदस्यीय बनाएका थिए ।
प्रचण्डले सानो आकारको मन्त्रिमण्डल बनाउने भनेपनि उनको पनि ४० नाघ्ने सम्भावना देखिएको छ ।
संविधानमा के छ ?
संक्रमणकालीन सरकारको मन्त्रिपरिषद् संख्या स्पष्ट तोकिएको छैन् । तर, मन्त्रिपरिषद् बढीमा २५ सदस्यीय हुनुपर्नेमा संविधानको मूल भावनाविपरीत गठबन्धन टिकाउने नाममा जथाभाबी मन्त्री बनाउने गरिएको छ । नयाँ संविधानको धारा ७६ को उपधारा ९ मा नयाँ चुनाव भएपछि बन्ने सरकारमा २५ जनासम्म मन्त्री हुने उल्लेख छ ।
संविधानमा भनिएको छ- ‘राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा संघीय संसदका सदस्यमध्येबाट समावेशी सिद्धान्तबमोजिम प्रधानमन्त्रीसहित बढीमा २५ मन्त्री रहेको मन्त्रिपरिषद् गठन गर्नेछ । स्पष्टीकरण: यस भागको प्रयोजनका लागि ‘मन्त्री’ भन्नाले उपप्रधानमन्त्री, मन्त्री, राज्य मन्त्री र सहायक मन्त्री सम्झनुपर्छ ।’











प्रतिक्रिया