काठमाडौँ, ७ भदौ । उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कृष्णबहादुर महराले आफ्नो भारत तथा चीन भ्रमणका बारेमा आजको मन्त्रिपरिषद् बैठकमा जानकारी गराउनुभएको छ ।
सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा उप्रधानमन्त्री एवम् गृहमन्त्री निधि र उपप्रधानमन्त्री एवम् अर्थमन्त्री महराले भ्रमणका बेला दुवै छिमेकी मुलुकले वर्तमान सरकारका प्राथमिकताप्रति देखाएको सदाशयताका बारेमा जानकारी गराउनुभएको हो ।
दुवै छिमेकी मुलुकले नयाँ सरकारका प्राथमिकतामा सकारात्मक चासो राखेको उपप्रधानमन्त्रीद्वयले बैठकमा जानकारी गराएको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले बताउनुभयो । मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतका रुपमा निधि भारत र महरा चीन जानुभएको थियो ।
“बैठकले राष्ट्रिय प्राकृतिक विपद् प्रतिकार्य कार्यढाँचासम्बन्धी आएको विधेयकलाई शीघ्र अघि बढाउन सम्बन्धित समितिमा पठाउने निर्णय गरेको छ”, सञ्चारमन्त्री कार्कीले भन्नुभयो ।
सरकारले संयुक्त बजार अनुगमनका क्रममा अनियमितता गरेको पाइएका व्यवसायीलाई कारबाही गर्न सम्बन्धित निकायमा पठाउने निर्णय गरेको छ । प्रधानमन्त्री दाहालको निर्देशनमा आपूर्ति मन्त्रालयको पहलमा केही दिनदेखि संयुक्त बजार अनुगमन कार्य अभियानका रुपमा अघि बढाइएको छ ।
बैठकले बजारमा कालोबजारी गर्ने, मूल्यवृद्धि गर्ने र कृत्रिम अभाव सिर्जना गर्ने व्यवसायीलाई नियन्त्रण गरी कारबाही प्रक्रियालाई अघि बढाउने सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।
कारबाहीका लागि बैठकले औषधि व्यवस्था विभागअन्तर्गतका नौ, स्वास्थ्य विभागका ११, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका ३२ र आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग एवम् स्थानीय प्रशासनबाट आएका ३८ अनियमितता गर्ने व्यवसायीलाई कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको उहाँले बताउनुभयो । रासस











प्रतिक्रिया