पाँचथर, ७ भदौ । पाँचथर जिल्लाको दक्षिणी गाविस हाङ्गुमका सचिव केशव निरौला बेपत्ता भएको भनेर सबै खोजीमा जुटिरहेका बेला आफ्नै घरमा फेला परेका छन् ।
३२ दिनदेखि सम्पर्क बिहीन बनेका निरौलाको खोजी गर्दै जाँदा घरमा मस्ती गरेर बसेको अवस्थामा फेला परेका हुन् । गाविस कार्यालयमा विदा समेत नलेखेर एकाएक हराएका निरौलाका कराण स्थानीयले एक महिनादेखि सास्ती बेहोर्नु परेको थियो ।
खोज्दै जाँदा प्रहरीले गाविस सचिव निरौलालाई झापा जिल्लाको दुहागडी– १ स्थित घरमा फेला पारेको जनाएको छ ।
स्थानीय विकास अधिकारी कोमलप्रसाद धमलाले जिल्ला प्रहरी कार्यालय पाँचथरलाई सचिव निरौलाको खोजी गरिदिन आग्रह गरेका थिए ।
आइतबार प्रहरीले घरमै रहेको जानकारी स्थानीय विकास अधिकारी धमलालाई जानकारी दिएको छ । सचिव निरौला घरमा रहेको थाहा पाएपछि स्थानीय विकास अधिकारी धमलाले सम्पर्क बिहीन भएर किन घरमा बसेको भनेर स्पष्टिकरणसहितको पत्र पठाएको प्रशासन फाँटका प्रमुख दुर्गाप्रसाद तिम्सिनाले बताए ।
सचिव निरौला साउन ६ गतेदेखि सम्पर्क बिहीन भएका थिए । साउन १९ गतेदेखि निरौलाको जिम्मेवारी आरुबोटेका सचिव सञ्जय राईलाई दिइएको थियो । निरौला आफ्नो कार्यालयलाई जानकारी नै नदिइ बेपत्ता भएको यो दोस्रो पटक हो ।
यसअघि निरौला सिदिनको गाविसको सचिव हुँदा करीव ३ लाख अनियमितता गरेर झण्डै तीन महिना सम्पर्क बिहीन भएका थिए । निरौलाका विषयमा जिविस पाँचथरमा राम्रो रेकर्ड छैन ।












प्रतिक्रिया