काठमाडौं, ६ साउन । पदभार ग्रहण गर्दा ‘स्पीड’मा काम गर्ने प्रतिबद्धता जनाएका उर्जामन्त्री जनार्दन शर्मा आफ्नो पहिलो निर्णयबाटै आलोचित बन्न पुगेका छन् ।
विद्युत महसुल नतिर्ने ठूला उपभोक्ताको लाइन काट्ने निर्देशन दिएर चर्चा आउन खोज्दा शर्मा उल्टै आलोचनाको सिकार भए । उनी आलोचनाको सिकार हुनुको कारण हो महेन्द्र मन्जिलको विजुली लाइन काट्नु । जसको महसुल संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले बुझाउनुपर्छ । जहाँ पूर्वराजा महेन्द्रकी पत्नी पूर्व मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाह बस्दै आएकी छन् ।
ठूला उपभोक्ताको लाइन काट्ने निहुँमा उर्जामन्त्री शर्माले सरकारले नै महसुल तिर्नुपर्ने महेन्द्र मन्जिलको लाइन काट्न लगाए । महेन्द्र मन्जिलको लाइन काटिएपछि शर्मा सर्वसाधारणदेखि नेतासम्मको दबाबमा परे । बुढेसकालमा एउटी वृद्धलाई लाइन काटेर दुःख दिएको भन्दै चर्काे आलोचना खेप्नुपर्यो ।
यो निर्णयले उनलाई ठूलै झट्का लागेको छ । आफ्नै शेयर भएको अस्पतालको लाखौ रुपैयाँ महसुल तिर्न बाँकी हुँदाहुँदै चर्चामा आउन उर्जामन्त्री शर्माले लिएको यो निर्णयको सर्वत्र विरोध भइरहेको छ ।
काटिएको भोलिपल्टै जोडियो विद्युत लाइन
आइतबार उर्जामन्त्री जनार्दन शर्माको निर्देशनमा विद्युत महसुल नतिरहेको भन्दै पूर्व मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाहको निवास महेन्द्र मन्जिलमा काटेको बिजुली लाइन नेपाल विद्युत प्राधिकरणले सोमबार पुनः जोडिदिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक मुकेश काफ्लेले संस्कृति मन्त्रालयको अनुरोधमा उर्जा मन्त्रालयको निर्देशनपछि महेन्द्र मन्जिलमा लाइन जडान गरिएको बताए । उर्जा मन्त्रालयका सचिव सुमनप्रसाद शर्माले संस्कृति मन्त्रालयले रकम निकासाको प्रक्रियामा रहेको र प्राप्त भएपछि भुक्तानी गर्ने आशायको पत्र पठाएपछि प्राधिकरणलाई लाइन जडान गर्न निर्देशन दिएको बताए ।
विद्युत महसुल तिर्ने जिम्मा कसको ?
महेन्द्र मन्जिलको विजुली विल भुक्तानी गर्ने जिम्मेवारी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको हो । नारायणहिटी दरबार संग्राहलयभित्र पर्ने सबै सरकारी सम्पत्ति भएको र त्यसको खर्च संस्कति मन्त्रालयले तिर्नुपर्ने हुन्छ । उर्जा मन्त्रालयका प्रवक्ता दिनेश घिमिरेले सरकारले नै तिर्नुपर्ने यो पैसा अर्थ मन्त्रालयबाट गत वर्षको पनि प्राप्त नभएको र अहिलेको पनि भुक्तानी नभएको कारण समस्या आएको बताए ।
मन्त्री शर्माको अस्पतालले एक करोड बक्यौता रकम तिर्न बाँकी
मन्त्री शर्मा समेत संस्थापक सदस्य रहेको बालाजुस्थित जनमैत्री अस्पतालले अहिलेसम्म बाँकी बक्यौता रकम नतिरेको पाईएको छ । उक्त अस्पतालको ०७३ साल बैशाखस्म्म झण्डै ८२ लाख रुपैयाँ महशुल उठेको छ । तर पटक–पटक यसबारेमा ताकेदा गर्दासमेत अस्पतालले कुनै चासो देखाएको छैन । हाल उक्त बाँकी महशुल रकम जरिवानासहित १ करोड १ लाख ७६ हजार पुगेको छ । मन्त्री शर्माको समेत नातेदार रहेका कृष्णप्रसाद शर्मा अहिले उक्त अस्पतालका प्रमुख छन् । के मन्त्री शर्माले अब उक्त अस्पतालको महशुल रकम असुली गर्न सक्लान त ? वा विजुलीको लाईनै नै काटिदिने छन् कि त्यो त हेर्न बाँकी छ ।












प्रतिक्रिया