काठमाडौं, ६ भदौ । विदेशीको क्रेडिट कार्ड डिटेल चोरी अनलाइन सपिङ गर्ने बागलुङ गलकोट–९ घर भई हाल काठमाडौँ महानगरपालिका–१६ बालाजु स्थित बागलुङ प्याराडाईज होटल एण्ड रेष्टुरेण्टमा गेष्टको रुपमा बस्ने ३२ बर्षीय तेजिन्द्र के.सी. लाई प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार गत जेठदेखि पटक पटक गरी हिमालयन बैंक लिमिटेडबाट अनलाईन पेमेण्ट सुविधा लिएको न्यूरोटिक नेपाल प्रालि न्यूरोड तथा जावलाखेल शाखाबाट जापानी नागरिकको नाममा जारी भएको क्रेडिट कार्डको नम्बर प्रविष्ट गरी सामसुङ, हुवावे र लेनोभो ब्राण्डका महंगा मोवाईलहरु अनलाईन खरिद गरी ठगी गरेका केसीलाई भदौ १ गते प्रहरीले काठमाडौँ महानगरपालिका–१० बुद्धनगरबाट पक्राउ गरेको हो ।
केसीलाई जापानमा बस्ने नेपाली साथीले जापानी नागरिकको क्रेडिट कार्डको क्रेडिट नम्वर लगायतका डिटेलहरु भाइवर मार्फत पठाएका थिए । सोहि क्रेडिट डिटेलको प्रयोग गरी अनलाईन पेमेण्ट गरी विभिन्न ब्राण्डको मोबाईल खरिद गर्ने गरेको तथा उक्त खरिद गरिएको मोबाईलहरु आफूले सापट लिएका व्यक्तिहरुलाई न्यूरोटिक नेपाल प्रा.लि.न्यूरोड शाखामा लिन पठाई सापटी तिर्ने गरेको र मोबाईललाई केही मुल्य घटाई पुन ः बिक्री गरी ठगी गरेको अनुसन्धानबाट खुल्न आएको छ ।
केसीले जापान पठाइदिन्छु भनेर तथा विभिन्न प्रलोभनमा विभिन्न व्यक्तिहरुबाट रकम लिई ठगी गरेको भन्ने समेत बुझिएकाले निजबाट कोही ठगिएर पीडित भएको भए ब्यूरोमा सम्पर्क गर्न समेत केन्द्रीय अनुसन्धान व्यूरोले अनुरोध गरेको छ ।
केसीमाथि बैकिङ कसुर तथा सजाय ऐन बमोजिम अनुसन्धान कार्य भइरहेको छ ।













प्रतिक्रिया