काठमाडौं, ५ भदौ । काठमाडौंको डिल्लीबजार हाइटमा रहेको ट्रिनिटी कलेजले विद्यार्थीलाई सडेगलेका खानेकुरा खुवाएको रहस्य खुलेको छ ।
आपूर्ति मन्त्रालय अन्तर्गतको आपूर्ति व्यवस्था विभागबाट आइतबार अनुगमनका लागि खटिएका कर्मचारीहरूले ट्रिनिटी कलेजको क्यान्टिनमा छापामारेर कुहिएका खानेकुरा बरादम गरेको हो ।
आपूर्ति मन्त्रालयका सहसचिव तथा प्रवक्ता आनन्दराम रेग्मीद्वारा आइतबार बेलुका जारी विज्ञप्ति अनुसार ट्रिनिटी कलेजले आफ्नो क्यान्टिनको सरसफाइमा ध्यन नदिइ फोहर राखेको पाइएपछि क्यान्टिनमा सिल गरेर कारबाही प्रक्रिया अगाडि बढाएको जनाइएको छ ।
‘कलेजको क्यान्टिनमा फ्रिज खुला अवस्था रहँदा खाद्य पदार्थ कुहिएको । क्यान्टिन धेरै फोहर अवस्थामा रहेको पाइएको छ’, प्रवक्ता रेग्मीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘क्यान्टिनमा शिल गरी थप कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।’
झण्डै पाँच हजार विद्यार्थी अध्ययन गर्ने ट्रिनिटी कलेजले विद्यार्थीको स्वास्थ्यसँग खेलवाड गरेको प्रवक्ता रेग्मीले बताउनुभएको छ ।
विभागद्वारा क्यान्टिनमा छापामारेपछि कलेजका सञ्चालकहरूले राजनीतिक रुपमा धम्की समेत दिएको जनाइएको छ ।
यसैबीच, विभागले बालाजुमा रहेको त्रिवेणी वेभरेज इण्ड्रष्टिज, बढी भाडा लिने १२ वटा सवारी साधन, भक्तपुरको कालिका डेरी, बागमती स्वीच त्रिपुरेश्वर, हेल्थ लिङ्क रिलायबल ल्याब तथा क्लिनिक, आयुष फार्मेसी लगनखेल, लगनखेल पोलिक्निक, सिजी मार्ट कलंकी, नन् स्टप ३६५ बालाजु र सुलभ सुपर स्टोर प्रा.लि. नयाँबजारलाई कारबाही गरेको छ ।
उनीहरूले मापदण्ड विपरित कुहिएको, सडेगलेको, अखाद्य पदार्थ राखेको, तोकिएको भन्दै बढी मूल्य लिएको, सफा नराखेको लगायतका कार्य गरेकाले शिलबन्दी गरी कारबाहीको दायरामा ल्याइएको विज्ञप्तिमा उल्लेख छ ।











प्रतिक्रिया