२७ कार्तिक २०८३, शुक्रबार

चन्द समूहको गोप्य बैठक लोकन्थलीमा, अध्यक्षलाई ज्ञापन–पत्र बुझाउने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Lokendra-Bahadur-Chandकाठमाडौं, ५ भदौ । कमल थापा नेतृत्वको राप्रपा नेपालसँगको पार्टी एकीकरणलाई लिएर राप्रपाभित्रको आन्तरिक बिबादले उग्ररुप लिएको छ । असन्तुष्ट समूहले आइतबार गोप्य बैठक बोलाएर अध्यक्षलाई ज्ञापन–पत्र बुझाउने र केन्द्रीय कार्यसमिति बैठक बोलाउन दबाब दिने निर्णय गरेसँग बिबाद बाहिर आएको हो ।

राप्रपाका पूर्व अध्यक्ष तथा वरिष्ठ नेता लोकेन्द्रबहादुर चन्दले आफू निकटका केन्द्रीय सदस्यको आफ्नै निवासमा बैठक बोलाएर असन्तुष्टि जनाउनु भएको छ । भक्तपुरको लोकन्थलीस्थित आफ्नै निवासमा आइतबार भएको गोप्य बैठकमा चन्द समूहका पदाधिकारी र केन्द्रीय सदस्यसहित करीव ४० जनाको सहभागिता रहेको स्रोतले जनाएको छ ।

केन्द्रीय सदस्य बसन्त अधिकारीले पार्टीभित्रको बिबादभन्दा पनि राप्रपा नेपालसँगको पार्टी एकीकरणलाई पूर्व सहमतिअनुसार अगाडि बढाउन नेतृत्वलाई दबाब दिन बैठक गरिएको स्वीकार गर्नुभयो । ‘पार्टीभित्र कुनै बिबाद छैन’, अधिकारीले दाबी गर्दै भन्नुभयो, ‘राप्रपा नेपालसँगको पार्टी एकीकरण गर्ने सैद्धान्तिक सहमति भएर अन्तिम समयमा तुहिएको थियो । यो कसरी हुन गयो भनेर हामीले चासो दिएका हौँ । सोमबार पार्टी एकीकरणको विषयलाई लिएर अध्यक्षज्यूलाई ज्ञापन–पत्र बुझाउने निर्णय भएको छ ।’

चन्दको भेलामा महामन्त्री बुद्धिमान तामाङका साथै केन्द्रीय नेताहरू भुवन पाठक, जगतप्रसाद गौचन, तोरण गुरुङ, भीमप्रसाद गौतम, विजयकला राईलगायतको सहभागिता रहेको स्रोतको भनाइ छ ।

चन्द समूहको गोप्य भेलाका विषयमा राप्रपाका सहप्रवक्ता किरण गिरीले आफूलाई थाहा नभएको बताउनुभएको छ । ‘कसैले गोप्य बैठक गरेको मेरो जानकारीमा छैन’, गिरीले भन्नुभयो, ‘पार्टीभित्रको समस्या भन्दा पनि संगठनको चासो र चिन्ता गर्ने अधिकार सबैमा छ । तर तपाईले भने जस्तो राप्रपाभित्र कुनै बिबाद छैन । केही साथीहरूले बैठक गर्नु भएको रहेछ भने त्यो संगठनको चिन्ताका लागि हुन सक्छ ।’

अध्यक्ष पशुपति शम्शेर राणाले राप्रपा नेपालसँग पार्टी एकता गर्ने विषयमा केही सैद्धान्तिक मतभेद जनाउँदै एकीकरण गर्न अस्वीकार गरेपछि चन्द समूहले असन्तुष्टि जनाउँदै आएको छ । चन्द समूह पूर्व सहमति अनुसार छिटोभन्दा छिटो कमल थापासँग एकीकरणको पक्षमा छ । राणा समूह भने दुई अध्यक्षको कार्यविभाजनका विषयमा स्पष्ट हुनुपर्ने र अधिकार बाँडफाँटको पक्षमा देखिएको छ ।