काठमाडौं, ५ साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले घोषणा गरेको मितिमै स्थानीय निर्वाचन गर्नु उपयुक्त हुने बताएका छन् ।
आगामी चैतमा स्थानीय निकायको पुनर्संरचना गरेर निर्वाचन गर्न कठिन हुने भन्दै देउवाले आइतबार कांग्रेस जिल्ला सभापतिहरुको भेलालाई सम्बोधन गर्दै भने– ‘चैतमा स्थानीय निकायको निर्वाचन गर्ने हो भने अहिलेकै संरचनामा चुनाव गर्नुपर्छ । पुनर्संरचना सजिलो विषय पनि होइन र चैतभित्रै निर्वाचन गर्नका लागि पुनर्संरचना गर्ने हो भने झन समस्याहरु आउँछन् । कात्तिक अथवा मंसिरभित्र स्थानीय निर्वाचन गरिसक्नुपर्छ ।’
देउवाले अहिले पुरानै अवस्थामा निर्वाचन गरेर अर्को निर्वाचनअघि गाउँपालिका संख्या सहित तय गरेर निर्वाचन गर्ने नयाँ प्रस्ताव जिल्ला सभापतिहरुको भेलामा राखे । उनले अहिलेका जिल्ला संरचनालाई यथावत राखेर पुनर्संरचना गर्नुपर्ने बताए ।
सरकार सम्हालेपछि अघिल्लो सरकारले मंसिरमा तोकेको स्थानीय निर्वाचन नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चैतमा सारेका बेला देउवा भने मंसिरमै निर्वाचन गर्नेसहित दुई विकल्पका साथ अगाडि आएका छन् ।
आगामी कात्तिक/मंसिर महिनाभित्र स्थानीय चुनाव घोषणा नगरे वैशाख महिनामा कांग्रेसको नेतृत्वमा सरकार गठन गर्ने भनेर माओवादीसँग भएको समझदारी धरापमा पर्ने चिन्ता पनि देउवाले व्यक्त गरे ।












प्रतिक्रिया