३० आश्विन २०८३, शुक्रबार

देउवाको क्षमता र सफलताको परीक्षा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sherbahadur Deuba Congresss

नेपाली काँग्रेस यो मुलुकको जेठो र ठूलो राजनैतिक दल हो । जनताले भोग्नु परेको दुःख, कष्ट र समस्या निराकरण गर्ने र उनीहरुलाई स्वतन्त्र तुल्याउने एकमात्र उद्देश्यका साथ राणा शासन ढाल्नैका लागि स्थापना भएको यस पार्टीले राजाको तानाशाह व्यवस्था पनि ढाल्यो, आफ्नै नेतृत्वमा प्रजातान्त्रिक व्यवस्था हुँदै लोकतान्त्रिक मार्गमा पनि काँग्रेसले आफूलाई जनमत अनुसार अघि बढाउँदै आएकोमा दुईमत छैन ।

जहाँ लोकतान्त्रिक अभ्यास हुन्छ, जहाँ प्रजातान्त्रिक पद्धतीलाई अगालिन्छ त्यहाँ सबैले आफ्नो स्थान वा भूमिका खोज्ने-रोज्ने अवस्था सिर्जना हुन्छ नै । नेपाली काँग्रेसभित्र पनि धेरैले यस पार्टीलाई यहाँसम्म ल्याइपु¥याउन भूमिका खेलेका छन्, त्याग, समर्पण गरेका छन् । दुःख झेलेका छन् । खुसी लुटाएका छन् । तर, पार्टी नेतृत्वले सही मुल्याङकन गर्न नसक्दा अर्थात् चाकडी, चाप्लुसी गर्नेहरुका मात्रै कुरा सुनेर, उनीहरुकै मुल्याङकन गरिँदा योग्य, कुशल तथा त्यागी, इमानदार कार्यकर्ता पछि पर्नु स्वभाविक नै हो ।

लोकतान्त्रिक पार्टीको नेतृत्व लिन त्यती सजिलो छैन । जसले जे भन्छ, त्यसलाई हुन्छ भनि हाल्ने बानी परेका शेरबहादुर देउवा यतीबेला काँग्रेस पार्टीको नेतृत्वमा छन् । सुशील कोइरालाको निधन हुनु नै देउवाको भाग्य चम्कीनु थियो । उनी जिवीत रहेको भए, सभापतिमा अरु कसैले चिहाउनै पर्दैनथ्यो र सँगसँगै देउवाको काँग्रेसको नेता बन्ने सपना तुहिने निश्चित थियो । तर, निधारमा लेखेर ल्याएको कसैले खोसेर खोसीन्न भन्ने देउवाको चम्केको भाग्यले पुष्टि गरेको छ । किनकी, तत्कालिन संस्थापक समूहका कृष्ण सिटौला, अर्जुन नरसिंह केसी, गोविन्दराज जोशी, कुलबहादुर गुरुङ, चन्द्र भण्डारी, विगतमा आफूलाई धोका दिने खुमबहादुर खड्का जस्ता हस्तीले देउवालाई आफूले चलाउन पाउने विश्वासका साथ गुट परिवर्तन गरेकोमा शंका छैन । त्यसमाथि पनि हल्का रुपमा प्रस्तुत हुने जे पनि हुन्छ भनिदिने बानीले देउवालाई यतीबेला गम्भीर संकटमा पारेको छ ।

पार्टी सभापतिको प्रतिस्पर्धी रहँदा देउवाले जसलाई जे भनेर हुन्छ, आफूतिर तान्न गरेको प्रयास÷पहल यतीबेला उनका लागि अभिसाँप बन्न पुगेको छ । काँग्रेसकै अग्रसरतामा गठन भएको पुष्पकमल दाहाल नेतृत्वको सरकारमा काँग्रेसले आफ्नो भागमा परेका तेह्र मन्त्रालयमा कसकसलाई पठाउने भन्ने सूचि तयार पार्न आधा महिनासम्म सकेको छैन । सम्भवतः आजभोलीमै सूचि तयार हुने अपेक्षा गरिएको छ ।
हिजोसम्म त नेविसंघको महाधिवेशन भन्दै अलमल्याउने समय थियो देउवासँग । तर, आज त्यो अवस्था छैन । त्यसो भन्दैमा मन्त्रीको सूचि तुरुन्तका तुरुन्तै दिइहाल्ने अवस्था पनि छैन देउवासँग । किनकी, धेरैको मन शान्त पार्नुछ उनलाई । कसैलाई अर्काे पटक मेरो नेतृत्वमा गठन हुने सरकारमा रोजेकै मन्त्रालय दिउँला नि ! भन्दै फकाइरहेका छन् भने कसैलाई पार्टीमा स्थापित गराउने आश्वासन पनि बाँडीरहेका छन् उनले ।

किनकी, हिजो सभापति पदमा प्रतिस्पर्धा गर्ने क्रममा विगतका आफ्नै गुटका कतिपय नेतालाई कस्ता कस्ता प्रलोभन दिएका थिए होला ? त्यसपछि आफ्नो गुटमा तान्न र मत चोर्न पनि उत्तिकै प्रलोभन बाँडीएको थियो । जिन्दगीभर इमानदार कुत्ताको भुमिका निर्वाह गरेका गोपालमान श्रेष्ठ, …नत्र चुनाव हराइदिने ध्वास दिने खुमबहादुर खड्का, देउवालाई आफूले चुनाव जिताइदिएको घमण्ड गर्ने कृष्णप्रसाद सिटौला, प्रलोभन देखाएर चुनावी मुखैमा गुट परिवर्तन गराई महामन्त्रीमा चुनाव लडेर हार्दा पनि गृहमन्त्री बन्न नपाउँदा स्वास्थ्य कि रक्षा मन्त्रालय समेत अस्वीकार गर्ने अर्जुननरसिंह केसी लगायतलाई कसरी व्यवस्थापन गर्ने प्रमुख चुनौति देउवासामू छँदैछ । त्यसमाथि विगतमा ६०–४० को भागवण्डा पार्टीभित्र संस्थागत गराउने स्वयम् देउवालाई यस पटक प्रतिस्पर्धी रामचन्द्र पौडेल पक्षलाई कसरी व्यवस्थापन गर्ने, भागवण्डाको कोटा कति दिने भन्ने चुनौति सानो छैन ।

आफ्ना विगतदेखिकै सहयोगी भनाउँदाहरुले विकाशे मन्त्रालय पाउनु पर्ने अडान लिइरहेका छन् । श्रीमती आरजु देउवा परराष्ट्र मन्त्री बनाउन दबाब खाँतीर ठुस्स पर्दै बसेकी मात्र छैनन्, आफू निकट मार्फत् ‘आरजु भाउजुलाई पनि मन्त्री बनाएर स्थापित गराउनु पर्छ, सधैं–सधैं मौका आउँदैन । पछि तपाईंले नेतृत्व गरेको सरकारमा भाउजु मन्त्री बन्न पनि मिल्दैन’ भन्दै देउवामाथि दबाब दिने नाममा आरजुको चाकडी गर्नेको संख्या पनि कम छैन ।

काँग्रेस महाधिवेशनमा सबैभन्दा बढी मत ल्याएका शेखर कोइराला परराष्ट्र मन्त्रालय नपाए सरकारमा नै नजाने बताइसकेका छन् । सशांकले पनि निर्वाचित महामन्त्रीका हैसियतले आफ्नो कोटामा दावी गरेको अवस्था छ । अधिकांश युवा तथा प्रभावशाली नेताले भविष्यमा शक्तिशाली देखिने ठानेरै होला वा प्रहरी प्रशासनमा पकड रहने बुझेर हो, मन्त्रीभन्दा पनि गृह राज्यमन्त्री तिरै नजर डुलाइरहेका छन् ।

कसैले मन्त्री पाए पनि रोजेकै मन्त्रालयमा अडान लिने, कसैले कोटा भन्दै पोकाकै आधारमा सिफारिस गर्ने अवस्था उत्पन्न भएपछि काँग्रेस सभापति शेरबहादुर देउवाले छिट्टै मन्त्रीको सूचि प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाउन सक्लान् जस्तो देखिँदैन । बुझाइहाले पनि विवादरहित हुने छैन ।

अरु भान्से हुँदा आफ्नालाई यस्तो दियो, उती दियो भन्ने शेरबहादुर आफू भान्से हुँदा कसलाई के के दिँदा रहेछन् ? भान्से अर्थात् नेतृत्व लिन कस्तो गाह्रो पर्दाेरहेछ ? यसै पटक बुझाइने मन्त्रीको सूचि नै सभापति देउवाका लागि क्षमता र सफलताको परिक्षा ठहरीनेछ । यसमा पास हुन सके काँग्रेसमा उनको भविष्य छ, नत्र कार्यकाल नै पूरा गर्नै नपाउने निश्चित छ ।