१ कार्तिक २०८३, आइतबार

संगीतका जिउँदा इतिहाँस भगतसिंह बागदास

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhagat_Sing_Bagdas_(1)– विमल योगी

काठमाडौं । आठ दशक पार गरेका वरिष्ठ बाद्यवादक एवम् संगीतकार भगतसिंह बागदासको नाम कमैले सनेको हुनुपर्छ । उनलाई अहिलेको पुस्ताले भन्दा पनि पुरानो पुस्ताले धेरै चिन्ने गरेको छ । उनीको अर्को पहिचान शिक्षा मन्त्रालयको संगीत विज्ञ हो । बागदासले लामो समय शिक्षामन्त्रालयमा संगीत विज्ञको रुपमा काम गरे ।

शिक्षा मन्त्रालयमा ०२९ सालमा शाखा अधिकृतको जागिर सुरु गरेका बागदास उपसचिव पदबाट ०६५ सालमा अवकास पाएका हुन् । वरिष्ठ संगीतकार बागदास अहिले काठमाडौंको बागबजार, शंकरदेव क्याम्पस नजिकै रहेको आफ्नै घरमा बस्छन् । उनका दुई छोरा छन् । दुबै छोरा संगीतमा नाम चलेका हस्ती हुन् । ती हुन् राजु सिंह र कल्याण सिंह ।

राजु सिंह र कल्याण सिंह जस्ता संगीतकार जन्माउने बागदासलाई अहिलेको पुस्ताले चिन्दै चिन्दैन भन्दा हुन्छ । बुढेसकालमा भ्वाइलिन र गितार जस्ता बाद्यबादनसँग खेल्न रुचाउने बागदासले संगीतका विषयमा कहिल्यै पछाडि मोडिएर हेर्नुपर्ने अवस्था आएन । उनले पारिवारिक वातावरणमै संगीतको ज्ञान लिएका हुन् । ‘संगीत मेरो घरपरिवारको वातावरणभित्रै थियो’, वरिष्ठ बाद्यबाधक एवम् संगीतकार बागदासले भने, ‘मलाई सबै प्रकारका बाद्यबादक बजाउन आउँछ ।’

शिक्षामन्त्रालयको जागिरे हुँदा ७५ जिल्लामध्ये ६३ जिल्लामा पुगेर संगीतको ज्ञान दिएका छन्, बागदासले । ‘म आफै विभिन्न सामुदायिका विद्यालयमा पुगेर बाद्यबादन र संगीतको शिक्षा दिएको छु’, ती दिन स्मरण गर्दै उनले भने, ‘अहिले त्यति बेलाको जस्तो स्कुलमा गएर सरकारका तर्फबाट संगीतको शिक्षादीक्षा दिएको पाइँदैन ।’

वरिष्ठ संगीतकार बागदासले आफ्नो संगीतमा ज्ञानु राणाको स्वर निर्मदन बस्नेतको शब्दमा पहिलो गीत रेकर्ड गराएका रहेछन् । ‘हे प्रभू भगवान दया पाउँ…’ बोलको गीत बागदासको पहिलो रेकर्ड गरिएको गीत रहेछ । हुन त उनका थुप्रै गीत रेडियो नेपालमा रेकर्ड भएका छन् । चलेका पनि छन् । तर अहिले बागदास चिनिदैनन् । उनलाई आफ्नो कामप्रति गर्भ छ । भन्छन्, ‘म प्रचारमा भन्दा पनि काम र लगनशीलतामा ध्यान दिने मान्छे हुँ । मेरो कामबाट थाहा पाउनेहरू सबै सन्तुष्ट छन् ।’

Bhagat_Sing_Bagdas_(4)राजा वीरेन्द्र र रानी ऐश्वर्या तथा युवराज दीपेन्द्रमा संगीतको मोह रहेको स्मरण गरेका बागदासले भने, ‘दरबारमा हुने सांगीतिक कार्यक्रम होस् वा सरकारी कार्यक्रम अधिकांसको संयोजम म आफै गर्थे ।’ उनले लामो समय रेडियो नेपालमा वरिष्ठ बाद्यबादक भइ काम पनि गरेका छन् ।

भ्वाइलिन, गितार, ट्रम्पेट, क्लाइनेट, सेक्सोफोन, ब्यागपाइपर जस्ता बाद्यबादन बागदासका अगाडि सामान्य नै हुन् । उनले हार्मोनियमलाई पानी सरह बजाउन सक्छन् । भ्वाइलिनमा अति रुचि राख्ने वरिष्ठ संगीतकार बागदासले कुराकानीभरि त्यसकै केन्द्रमा कुरा गरेका थिए ।

अहिलका गीत संगीत वरिष्ठ बाद्यबादक बागदासलाई मन पर्छ । उनी भन्छन्, ‘पश्चिमा र नेपालीपन मिसिएर बनाइएका गीतसंगीत राम्रो सुनिन्छ । सधै केही न केही नयाँ दिने प्रयास गर्नुपर्छ । आफ्नो मौलिकतालाई पनि चटक्क भुल्नु हुँदैन ।’

संगीत र बाद्यबादनका विषयमा बागदासले गरेका कुराहरू सायद कहिल्यै नेपाली स्रोता र दर्शकले थाहा नपाएका हुन सक्छन् ।

बाद्यबादनसंग नजिकबाट भिजेका बागदासले बाँसुरी, सारङ्गी, तबला, ढोलक, किबोर्डलगायत सबैलाई उत्तिकै कुशलताका साथ बजाएको अनुभव छ । बागदासले बाद्यबादन नबजाएका पुराना गीतसंगीत सायद कमै होलान् । अधिकांस गीत संगीतमा उनले बाद्यबादन बजाएकै छन् ।

वरिष्ठ संगीतकार एवम् बाद्यबादन बागदासका बारेमा गायक मोहन नेपाल भन्छन्, ‘उहाँमा संगीतसम्बन्धी थुप्रै ज्ञान र अनुभव छ । भगतसिंह बागदास आफैमा संगीतसम्बन्धी जिउँदो इतिहाँस हुनुहन्छ । नयाँ पुस्ताले नचिन्न सक्छ । तर पुरानो पुस्तालाई सोध्न हो भने उहाँको विषयमा थुप्रै जानकारी लिन सकिन्छ । गायक नेपालल अगाडि भन्छन्, ‘अहिले पनि उहाँका दुई छोरा राम्रा संगीतकार हुन् । घर नै संगीतमय छ ।’ गायक नेपालले उनै बागदाससँग लामो समय संगीत सिकेका हुन् ।