१९ कार्तिक २०८३, बिहिबार

काभ्रे बस दुर्घटना: आफन्तले शव बुझेनन्, चालकको लाइसेन्स नै नक्कली!

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bus-Accident-Kavre-Nepal-650x261

– कुमार चौलागाई

काठमाडौँ, ३२ साउन । काभ्रेपलाञ्चोकको बिर्ता देउराली–९ कोसीपारि सडकमा सोमबार भएको बस दुर्घटनामा मृत्यु भएका व्यक्तिका आफन्त र व्यवसायीबीच क्षतिपूर्तिको कुरा नमिल्दा पीडितले शव बुझ्न मानेको छैनन् ।

क्षतिपूर्तिबारे आज दिनभर अरनिको यातायात समितिका पदाधिकारी, जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसद र पीडितपक्षबीच धुलिखेलमा छलफल भए पनि क्षतिपूर्तिको कुरा नमिलेकाले आफन्तले शव बुझ्न र शव परीक्षण गर्न दिएका छैनन् ।

मृतकका आफन्तले तेस्रो पक्ष बिमाबाहेक आफूहरूले समितिको तर्फबाट थप एक-एक लाख क्षतिपूर्ति पाउनुपर्ने माग राखेपनि समितिले स्पष्ट उत्तर नदिँदा सहमति हुन नसकेको हो । वार्ता भोलि बिहान पुनः बस्ने जनाइएको छ ।

समितिका अध्यक्ष जितबहादुर भारतीले तेस्रो पक्ष बिमाबाहेक समितिको तर्फबाट पीडितलाई थप क्षतिपूर्ति उपलब्ध गराउन नसकिने रासससँग बताउनुभयो । उहाँले भन्नुभयो, “मृतक धेरै भएकाले हामीले थप क्षतिपूर्ति दिन सक्दैनौ, अबको हाम्रो लक्ष्य भनेको घाइतेको उपचारमा विशेष ध्यान केन्द्रित गर्नु हो । घाइतेको उपचारमा जति खर्च भए पनि समितिले बेहोर्छ ।”

वार्तामा समितिका सल्लाहकार एवम् वरिष्ठ उपाध्यक्ष केदार क्षेत्री, उपाध्यक्ष नृपध्वज महत, उपाध्यक्ष केशवराज भारती, कोषाध्यक्ष राजकमार बस्नेत र पीडितका तर्फबाट सांसद तीर्थ लामा, विदुर सापकोटालगायत सहभागी हुनुुहुन्थ्यो ।

मृतकका आफन्तले उचित क्षतिपूर्ति पाउनुपर्ने माग गर्दै आज दिउँसो धुलिखेल र बनेपामा सडक अवरुद्ध पारे पनि प्रहरीले बल प्रयोग गरी करिब आधाघण्टापछि बाटो खुलाएको काभ्रेका प्रहरी नायब उपरीक्षक नवीन राईले जानकारी दिनुभयो ।

मृतकमध्ये २६ को शव सिरमेमोरियल अस्पताल बनेपा र एकजनाको शव त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ । दुर्घटनामा घटनास्थलमै २६ र उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारका क्रममा एकजनाको मृत्यु भएको थियो ।

दुर्घटनामा परी मृत्यु भएकाको शव परीक्षण घटनास्थलमै गर्ने तयारी गरिएको भएपनि व्यवसायी र मृतकका आफन्तबीच क्षतिपूर्तिका विषयमा कुरा नमिलेपछि बनेपा ल्याइएको हो ।

बसका चालकको चालक अनुमतिपत्रसमेत नक्कली

यसैबीच दुर्घटना गराउने बसका चालकको चालक अनुमतिपत्रसमेत नक्कली भएको आशङ्का गरिएको छ ।

चालकले काभ्रेको धुलिखेबाट ‘इन्ट्री’ गर्दा प्रहरीलाई टिपाएको चालक अनुमतिपत्र नम्बर र नाम यातायात व्यवस्था कार्यालयको रेकर्डमा भिडाउँदा नमिलेको यातायात व्यवस्था विभागका प्रवक्ता वसन्त अधिकारीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “चालकले प्रयोग गरेको अनुमति पत्रको नम्बर अर्कैको नाममा जारी भएको रेकर्डबाट फेला परेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।”

यस विषयमा काभ्रे प्रहरीले भने अनुसन्धानपछि मात्रै सत्यतथ्य बाहिर आउने जनाएको छ । काभ्रेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोताले भन्नुभयो, “बुधबार यसबारे पुष्टि गछौँ ।” रासस