उत्पात गर्मीले उड्दा उड्दै चरा खसेर मर्ने मरुभूमि र आँशु बग्न नपाउँदै जम्ने शीत भूमिका परदेशी नेपालीहरुको पीडा ताप्न नसकेर धेरै मित्रहरुको आग्रहमा यो गुनासो लेख्न बिवस छु ।
सरकार ! एउटा नेपाली उखान छ नि: ”नूनको सोझो र दुधको भार तिर्न नभुल्नू” । साँच्चै घर खेत बन्धकी राखेर गर्भवती श्रीमती र बिरामी आमा बाबु छाडेर अमिलो मन बनाउँदै अरबमा पसिना संग पैसा साट्नेहरुको रेमिट्यान्सले चलाएको देशमा उनैलाई जाबो तीन चार तोला सुन ल्याउँदा पनि जेल हाल्ने कस्तो नियम बनाएछौ सरकार !
बिमानस्थलमा दशौँ किलो सुन जफत भएको समाचार त हामी धेरैले सुनिरहेकै हो तर ती सुन भित्र्याउनेहरु त जेल परेको त सुनिदैन त सरकार ! कि नियम र कानून भनेको रगत र पसिना संग श्रम साट्नेहरुका लागि मात्रै हो र ?
हो, देशले बनाएको कानुनलाई मैले मान्नै पर्छ , कानूनको अवज्ञा र दुरुपयोग गर्ने त हामी हैन ठूला बडाहरुले पो त सरकार ! तर त्यो कानूनको प्रचार प्रसार पनि त गर्नुपर्छ नि सरकार ! अरबका भेँडा चराउनेहरु संग कानुनको त्यत्रो बिधि ज्ञान भएजस्तो गरि कति हलुका रुपमा नियम लाद्यौ सरकार ! हैन भने सुन माफ़ियाहरुले गरेको तश्करीको सजाँय कसरी एउटा निरिह ज्यामीलाई दिनेकि साँच्चै तश्करी गर्नेलाई ?
जिन्दगी भरि पित्तलको फुली र बजारिया फलामका गहना लगाउनेहरुका श्रीमानले अरब बाट मृत्युसंग लडेर ल्याएको जाबो ३० ग्राम सुन ल्याउनेलाई अपराधी नै बनाउन त नहुने हो सरकार ! बरु ती जफत गर्न बिमानस्थल भन्सारमा बसेका महिनाको नियमित तलब सुबिधा र तीनीहरुको बिलासी जीवनशैली बिचको अन्तरको अनुसन्धान त कसले पो गर्ने हो र सरकार ! भन्सारमा जागिरे एउटा नाथे सुब्बाले महिनाको अतिरिक्त पाँच लाख कमाउने कुरा उसको ससुरालीमा गाईँ गुईँ चल्दा तिम्रो कानमा पुग्दैन र सरकार ! के बीस तीस हजारको जागिर खानेहरुले २-४ करोडको घर र गाडी चढ्दा त्यो अनुसंधानको दायरामा पर्दैन सरकार ? खोई त तिनीहरु जेल परेको ?
देशमा अवसरको सिर्जना गर्ने काम त सरकारको हो नि हैनर ? तपाईहरु देशबाट युवा निर्यात गरेर समृद्दिको गफ लगाउनु हुन्छ, राजनीतिलाई कमाई खाने भाँडो बनाउनु हुन्छ, तपाईहरुको हिजोको चप्पले जिन्दगी झक्कले भईरहनुमा तिनै लिटो खान सम्म नपुगेर परदेशिने ठिटोहरुले पठाएको रेमिट्यान्स र राज्यकोष माथिको रजाँई हो कि होईन ? होईन भने गरीब देशमा नेता मात्रै धनी हुने के जादुमय ब्यवस्था ल्याउनु भो ! हिजो हाम्रा अगाडि मैलो झुत्रो लुगा लगाउने नेताहरु भ्रष्टाचारको आरोपमा जेल पर्दा करोड करोड धरौटी राख्नेहरुको अनुसन्धान गर्नुपर्दैन सरकार ? मैले मात्र हैन तीन करोड जनताले सोधिरहेका छन् ।
कमसेकम तपाईहरुलाई हिजोको कठोर राजनीतिक यात्राको स्मरण त पक्कै होला ! त्यसबेला घर परिवार छोडेर स्वदेशकै एक कुना देखि अर्को कुना भूमिगत हुँदा खेरि त मन भत्भत्ति पोल्थ्यो भने बाबु आमा मर्दा पनि एक घुट्को पानी पिलाउन नपाएर बाह्र बर्षमा फर्केका गरीब परदेशीहरुले बहिनीको बिहे गर्न ल्याएको त्यति सुनमा पनि किन गिद्देदृष्टि लगायौ सरकार !
किताबमा पढेको राजनीतिले देश बदल्छ भन्ने कुरा हाम्रै जीवनकालमा पूरा हुन्छ कि हाम्रा सन्ततीले अझै टुकी बालेर रटान गरिरहनु पर्ने हो बताईदिए हुन्थ्यो सरकार । हैन भने सत्ताका फोहोरी खेलको वरिपरि तपाईहरुकै आसेपासेहरु बाहेक अरु किन मरन्च्याँसे भईरहेका छन् नि सरकार !
देशमा काला बजारीले ढपक्कै ढाकिरहेको छ, सरकारी कार्यालयमा जनताको काम गर्न घुस खुवाउनुपर्छ, गाउँमा मलामी जाने मान्छे छैन, तर जिउँदाहरुको चुल्हो बल्न छोरा छोरीहरु कतै तातो आगो खस्ने अरब त कतै चिसो हिउँ खस्ने ठाउँमा गएर मरिमरि कमाएर ल्याएको जाँबो चौँतिस ग्राम सुन किन लुटेको सरकार !
युवाहरु नूनको सोझो भएर मरुभूमि अरबलाई हराभरा बनाए, गास काटेर तिनीहरुले पठाएको रेमिट्यान्सले देशको बजेटमा ठूलो हिस्सा ओगट्छ तपाईहरुले त न नूनको सोझो न दुधको सोझो गर्नु भो ! यसको मुद्दा कुन अदालतमा दायर गरौँ सरकार ! गर्भको बच्चा जन्मने बेला नहुँदै ढल्ने सरकारले भि. आई. पी. उत्पादन गर्दै ढुकुटी रित्याउँदै गर्न हुन्छ भने एउटा निरिह ज्यामीले रगत पसिना संग साटेको रेमिट्यान्सले किनेको सुन ल्याउँदा किन अपराध साबित भयो सरकार !
अन्त्यमा:
सबै परदेशीको एउटै माग छ सुन माफ़िया को हो चिनेर कारवाही गर तर ती गरीब श्रमिकको लुटिएको सुन स सम्मान फिर्ता गर सरकार ! अनि हामी परदेशीको रगत पसिनाले चलेको देशलाई नौटंकीको मन्च नबनाउँ न है सरकार ! भ्रष्टको हैन जनताको प्यारो सरकार बन्नू ! तिमीलाई आधा करोड परदेशीको शुभकामना ।
प्रतिकृयाका लागि: [email protected]















प्रतिक्रिया