१ कार्तिक २०८३, शनिबार

बन्दुक उन्मादको शिकारले अमेरिकामा उजाडियो एक नेपाली परिवार (दर्दनाक कथा)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Siwakoti-pariwar-america

– विकासराज न्यौपाने

ड्यालस (अमेरिका), २८ साउन । बन्दुक उन्मादको शिकारले एउटा नेपाली परिवार अमेरिकामा उजाडिन पुगेको छ ।

गतवर्ष बन्दुक उन्मादले ग्रस्त एक अश्वेत अमेरिकन युवाले हानेकोे गोली लागेर आफ्नै स्टोरमा प्राण त्यागेकी समिरा शिवाकोटीका पति नवराज शिवाकोटीले आइतबार त्यही पीडा भुल्न नसकेर आत्महत्याको बाटो रोजेका छन् ।

साँढे तीन वर्ष र दुई वर्षका दुई छोरीको मायाले पनि नवराजलाई बाँच्न प्रेरित गर्न सकेन । टेक्सससँगै सीमा जोडिएको ओक्लाहोमामा पुगेर उनले आत्महत्या गरे । उनको आत्महत्यासँगै नेपालको दोलखाबाट ठूलो सपना बोकेर अमेरिका आइपुगेको शिबाकोटी परिवार पुरै उजाडिएको छ । अमेरिकामै जन्मिएका दुई साना नानीहरुलाई आमा–बाबुले छाडेपछि उनीहरुको लालनपालन र भविष्य सुन्दर बनाउने जिम्मेदारी आइलागेको छ नवराजका दाजु विष्णुको काँधमा ।

Samira-and-Nabaraj-Shiwakoti

गत वर्षको जुन १० तारिकमा उनीहरुको परिवारमा ठूलो ग्रहण लाग्यो । डेन्टनको ‘दी कोलोनी’ मा आफ्नै ग्याँस स्टेसनमा ग्राहक बनेर आएका एक अश्वेत युवकले गोली हानेर समिराको हत्या गरे । अनि चार जनाको यो सुन्दर र सौम्य परिवारमा खण्डग्रास ग्रहण सुरु भयो । आइतबार नवराजले पनि आत्महत्या गरेपछि परिवारमा पुरै खग्रास सूर्यग्रहण लागेको छ ।

बुधबार ड्यालसको ‘हग्स फनरल हाउस’ मा गरिएको अन्त्येष्टीमा दुई साना नानीहरुलाई देखेर आँखाबाट बलिन्द्रधारा आँशु नचुहाउने कोही नेपाली भएनन् । नवराजका दाजु विष्णुले आफ्नो भाईको निधनको कारणबारे अन्त्येष्टीका लागि उपस्थित नेपाली समुदायलाई जानकारी गराउँदै गर्दा नवराजकी जेठी छोरी ठूलो बुबाको अघिल्तिर रोष्ट्रममा पीडादायी मोडमा उभिएकी थिइन् ।

बुधबार ड्यालसको ‘हग्स फनरल हाउस’ मा नवराज शिवाकोटीको अन्त्येष्टी गरिँदै
बुधबार ड्यालसको ‘हग्स फनरल हाउस’ मा नवराज शिवाकोटीको अन्त्येष्टी गरिँदै

अपराधीको क्षणभरको उन्मादमा परेर गत वर्षमात्र आमा गुमाएकी ती अवोध अनि निर्दोष बालिकाले जन्मदिने बाबुलाई आइतबारबाट गुमाएकी छिन् । भगवान पनि कति निर्दयी र कठोर हुन्छन् । हुनतः ठूलोबाबु विष्णुले ती दुई अवोध बालिकाको लालनपालनमा कुनै कमजोरी गर्नेछैनन् । बाआमाको अभावको महसुस हुन दिनेछैनन् ।

विष्णुका दुई छोरा छन् । उनले भाईका दुई छोरीहरुलाई कुनै अभाव र कमि कमजोरी हुन नदिएर आफ्नै सरह गरेर पाल्ने बताएका छन् । विष्णुले दुई छोरीको पालन पोषणमा कुनै कमीकमजोरी हुन नदिनेमा नेपाली समुदाय विश्वस्त छन् । तरपनि जस्ले जन्म दियो ती दुबैजनालाई सानै उमेर (जान्ने बुझ्नै नहुँदै) गुमाउनुपरेको छ ।

पत्नी वियोगको पीडालाई किन भुल्न सकेनन् नवराजले ?

१४ महिनासम्म पनि उनले आफूलाई सम्हाल्न सकेनन् । पछिल्लो समयमा डेन्टन अदालतमा मुद्धाको अन्तिम सुनुवाई भइरहेको थियो । यही मुद्धाले गर्दा पनि उनले सन् २०१५ जुन १० को त्यो कालोदिनलाई भुल्न सकेनन् । ‘उसले (नवराज) आफूलाई सम्हाल्न सकेन,’ दाजु विष्णुले भने ।

ओक्लाहोमामा घाइते अवस्थामा भेटिएका नवराजलाई एअर एम्बुलेन्सबाट प्लानो हस्पिटलमा ल्याएर उपचार गरिएको थियो । तर असाध्यै कठिन अवस्थामा रहेकाले संसारभरकै स्रोत साधन र दक्ष चिकित्सकको उपलव्धताबीच पनि उनले मंगलबार प्राण त्यागे ।

nabraj-usa-death

अन्त्येष्टी समारोहमा नवराजका दाजु विष्णुले व्यक्त गर्नुभएको भनाईले पनि संकेत गर्यो कि उनी बाँच्नबाट अघाइसकेका थिए । ‘उसले शनिबार दिउँसो स्टोरको सबै हिसाबकिताब, सेल्स ट्याक्स (बिक्रीकर) को विवरण तयार गरेर छाडेको रहेछ,’ विष्णुले भनेका छन् । भाउजुलाई आफू राति अबेरमात्र फर्कन्छु भनेको र रातिसम्म पनि नआएपछि खोजी तीब्र बनाइएको थियो ।

नवराजका मातापिता, दाजुभाउजु अमेरिकामै छन् । ग्याँस स्टेसन चलाएर सुखद् पारिबारिक वातावरणमा रमाइरहेका उनी गतवर्ष पत्नी गुमाउनुपरेपछि मानसिक रुपमा असाध्यै दुःखित थिए ।

सन् २००४ मा नवराजको परिवार अमेरिका आएको थियो । उनीभन्दा अघि सन् १९९६ मा विष्णु अमेरिका आएका थिए । अमेरिकामा सुखद् सपना सँगालेर आएका शिवाकोटी परिवार खण्डित हुन पुगेको छ । गत वर्ष समिराको असामयीक निधन, अझै उल्लेख गर्नुपर्दा आपराधीको हातबाट जीवन गुमाएपछि शोकाकुल बनेको नेपाली समुदाय नवराजको निधनले थप शोकाकुल भएको छ ।