धनगढी, २५ साउन । दक्षिण एसियाली सरसफाई सम्मेलन (साकोसान) मा गरिएका प्रतिवद्धता पुरा गर्न समुदाय तहमा प्रयासहरू बढाउन सरोकारवालाहरूले अनुरोध गरेका छन् । सरोकारवालाहरूले समुदायस्तरमा प्रभावकारी ढंगबाट सरसफाईका काम भएका मुलुकमा प्रतिवद्धताहरू पुरा गर्न सफल भएका चर्चा समेत गरे ।
फ्रेसवाटर एक्सन नेटवर्क साउथ एसिया र सञ्चार प्रतिष्ठान नेपालले मंगलबार धनगढीमा आयोजना गरेको ‘दक्षिण एसियाली सरसफाई सम्मेलन (साकोसान), प्रतिवद्धता कार्यान्वयन’ सम्बन्धी अन्तरक्रियामा सहभागीहरूले समुदाय जागरुक नभएसम्म सरसफाईसम्बन्धी कार्यक्रम उपलब्धीमूलक हुन नसक्ने बताए ।
कार्यक्रममा जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्राविधिक तर्कराज जोशीले कैलालीमा १९ गाउँ विकास समिति र एक नगरपालिका खुला दिसामुक्त घोषणा भइसकेको बताए । त्यस्तै, थप नौ गाविस र एक उपमहानगरपालिका र चार नगरपालिका पनि खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने तयारीमा रहेको बताए ।
उनले कतिपय परिवारले आर्थिक क्षमता हुदाहुदै पनि चर्पी बनाउन अटेर गरेका कारण यस वर्ष (सन् २०१६) भित्र कैलालीलाई खुला दिसामुक्त घोषणा गर्ने प्रतिवद्धतामा अवरोध आइरहेको चर्च गरे । ‘घर छुट्टिने र अन्यत्रबाट बसाईसराई गरेर आउनेहरूका कारण खुला दिसामुक्त घोषणा भइसकेका गाउँमा पनि चर्पी नहुने घरधुरी फेरि थपिने गरेको छ’ उनले थपिएका चुनौति सामना गर्न प्रयासहरू बढाउनु पर्ने बताए ।
उनले भने– जिल्ला सरसफाई तथा खानेपानी स्वच्छता समन्वय समितिले गाविस र नगरपालिकाका समितिको कामकारबाहीबारे मासिक दुईपटक मात्रै पनि अनुगमन गरेमा लक्ष्य प्राप्त हुन सम्भव छ ।
नेपाल पत्रकार महासंघ, कैलालीका अध्यक्ष भरत शाहले तथ्यांकमा देखाई जस्तो खानेपानीको पहुँच धेरै स्थानमा नभएको अनुगमनमा देखिएको बताए । अध्यक्ष शाहले कैलालीमा सरसफाई गुरुयोजना तर्जुमा भएर एकीकृत रुपमा कार्यक्रम आए पनि अवस्था सन्तोषजनक नरहेको बताए ।
फाया नेपालका निर्देशक धर्मराज पाठकले सरकारी निकायको प्रयासले मात्रै सरसफाईसम्बन्धी लक्ष्य प्राप्त नहुने बताए । ‘स्थानीय समुदाय स्वयं जागरुक भएर सरसफाईमा जुटे मात्रै गाउँ, जिल्ला, क्षेत्रहुँदै मुलुकले अन्तर्राष्ट्रिय स्तरमा प्रतिवद्धता कार्यान्वयन भएको पुष्टि गर्न सक्ने छ’ उनले खुला दिसामुक्त क्षेत्र घोषणा अभियान पुरा गर्न सरकार, स्थानीय निकाय र नागरिक समाजबीच समन्वय र सहकार्य आवश्यक रहेको बताए ।
टीकापुर साना सहरी खानेपानी आयोजनाका सचिव भैरव रावलले आयोजनाले चर्पी र घरबाट निस्कने लेदोजन्य फोहोर व्यवस्थापनमा काम गरिरहेको बताए । उनले त्यस्तो फोहोरलाई कम्पोष्ट मल बनाएर बजारमा पठाउने गरेको बताए ।
ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाका जलस्रोत अधिकृत कल्पना ढुंगेलले कञ्चनपुरबाहेक सुदूरपश्चिमका आठ जिल्ला र मध्यपश्चिमको हुम्ला र जुम्लामा सरसफाई सम्बन्धी काम भइरहेको बताइन् ।
सञ्चार प्रतिष्ठान नेपालका अध्यक्ष प्रकाशविक्रम शाहको अध्यक्षतामा अन्तरक्रिया भएको थियो । अन्तरक्रियामा मिलनचोक बडहरा खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष चिन्तामणी ढुंगेलले दक्षिण एशियाली सरसफाई सम्मेलन (साकोसान) को घोषणा बारे प्रस्तुती गरेका थिए ।
खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ, नेपाल (फेडवासन) का केन्द्रीय सदस्य चुनकुमारी चौधरी लगायतले मन्तव्य व्यक्त गरेको कार्यक्रमको फेडवासनका जिल्ला सचिव गंगा दुलालले सञ्चालन गरेका थिए ।
कार्यक्रममा सहभागीहरूले साकोसानले गरेको ११ बुँदे घोषणापत्र कार्यान्वयन गर्न सरकारी निकाय, स्थानीय निकाय, नागरिक समाज र समुदायको गतिविधि, प्रक्रिया, जिम्मेवारी तथा भूमिकाबारे छलफल गरेका थिए ।













प्रतिक्रिया