११ कार्तिक २०८३, बुधबार

ल्हारकालले गंगालाई सीता ठानेपछि…झण्डै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sita Dahalकाठमाडौं । शक्तिका पछाडि सवैको दौडधुप हुनु नेपालमा अस्वभाविक होइन । कसलाई पो आफ्नो शक्ति र ल्याकतमा रहनुपर्ने बाध्यता हुन्न र ? बाहिर जतिसुकै ठाँट देखाएपनि भित्र शक्तिकेन्द्रको पूजा गर्नु अस्वभाविक देखिएन । सरकार फेरिएर नयाँ सरकार गठन भएसँगै शक्तिकेन्द्रमा धाउने नामसूची सानो छैन । तर, धाउँदा धाउँदै पनि झुक्किनेहरु पनि कम छैनन् ।

गत बुधबार प्रधानमन्त्रीमा निर्वाचित भएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निजी निवास लाजिम्पाटमा बधाई दिनेको ओइरो लागेको थियो । जनप्रहार साप्ताहिकले समाचार छापेको छ ।

पूर्व गृहमन्त्री शक्ति बस्नेतदेखि मन्त्री बन्नका लागि तयार भएका शिवकुमार मण्डल, रामनारायण विडारी लाजिम्पाट पुग्नु अस्वभाविक थिएन । त्यस्तै प्रहरी महानिरिक्षक (आइजी) उपेन्द्रकान्त अर्याल, नयाव महानिरीक्षक (डिआइजी) नवराज सिलवाललगायत पनि लाजिम्पाट पुगेका थिए ।

आफुलाई अब्वल दर्जाको लेखक मान्ने नरेन्द्रराज प्रसाई त किताब बोकेरै प्रचण्डलाई भेट्न पुगेका थिए । किताब दिएर फोटो खिच्नेमात्र होइन उनले सो क्रममा आफुले निरन्तर प्रचण्डका भक्तिगान गाएर लेखेको पनि बताउन भ्याए ।

‘मैले हजुरका पक्षमा लेखेको थिएँ, पढ्नु भयो?’, खादा लगाएर हात मिलाउँदै प्रसाइले प्रचण्डलाई सोधे,‘म नरेन्द्रराज प्रसाई, लेखक हुँ ।’ प्रचण्डले यति सुन्नासाथ भनिदिए,‘पढेको छु, हो थाहा छ तपाई लेखक हो ।’ परिवारसहित पुगेका प्रसाइले प्रचण्डसँग फोटो खिचाएर फर्किए ।

यतिमात्र होइन, प्रचण्डलाई भेटेर बधाई दिनका लागि धेरै क्षेत्रका मान्छेहरुको भिड लाजिम्पाटमा लागेको थियो । यहि क्रममा लकरमा गोली राखेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेका तथा माओवादीले सभासद्बाट कारवाही गरेका ल्हारकाल लामा पनि लाजिम्पाट पुगेका थिए ।

झन्डै आधा दर्जन लामाहरु लिएर लामाबस्त्रमा पुगेका ल्यारकारले प्रचण्डलाई बुके दिँदै बधाई दिए । ल्हारकालले प्रचण्डलाईमात्र बधाई दिएर पुगेन त्यसपछि प्रचण्डपत्नी सीता दाहाललाई उनी खोज्न थाले । घर बाहिर अतिथिसँग गफिएर बसेकी सीतालाई भेट्न बाहिर जाँदा उनी जिल परेका थिए ।

जब उनले ‘मम्मी’ बधाई भन्दै खादा ओढाउन खोजे त्यसबेला उनी जिल खाए । ‘मम्मी बधाई छ, भन्दै ल्हारकालले प्रचण्डकी छोरी गंगालाई खादा ओढाउन खोज्दा उनले म मम्मी होइन भनेपछि ल्हारकाल खादा लिएर सीतालाई खोज्दै घरभित्र छिरेका थिए ।