१९ कार्तिक २०८३, बिहिबार

अवैध रुपमा वन लसुन ओसार पसार गर्ने ११ जना पक्राउ

630
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

asun

– मानदत्त रावल

जुम्ला, २४ साउन । जिल्ला प्रहरी कार्यालय जुम्लाले अवैध रुपमा वनलसुन संकलन तथा ओसार पसार गरिरहेका ११ जनालाई पक्राउ गरेको छ ।

पट्मारा गाविस ३ वाट उर्थुचौतारा हुदै सदरमुकाम खलंगा तर्फ वन लसुन ल्याउदै गरेको अवस्थामा प्रहरी नायव उपरिक्षक विष्णुहरी कोईरालाको नेतृत्वमा गएको टोलीले उनीहरुलाई गिरफ्तार गरेको हो ।

डिल्लीचौर गाविस ७ का श्रीदेवी रावत, रामसोभा रावत, पुजा रावत, झिलु रावत, लालकुमारी रावत, मैदा रावत, अगं वहादुर रावत त्यसैगरी डिल्लीचौर ८ का पुष्पा ऐडी, सम्झना रावत, लग्नमाया रावत, र छुमचौर ६ का गोर वहादुर रावतलाई प्रहरीले नियन्त्रणमा रहेको जनाएको छ ।

प्रहरी नायव उपरिक्षक विष्णुहरी कोईरालाका अनुसार उनीहरुबाट ३ सय ३३ केजी वन लसुन सहित पक्राउ गरिएको हो । विहानै गोप्य सुत्रवाट अवैध रुपमा संकलन गरिएको वन लसुन ल्याइ रहेको सुचना पाएपछि प्रहरीले गस्तीलाई कडा वनाएको थियो । जिल्ला प्रहरी कार्यालयले वन कार्यालयमा पक्राउ गरेका व्यक्ति र वनलसुन वुझाईसकेको छ । प्रहरीले उनीहरु संग संकलन पुजी लगायतका कागजात फेला नपारेपछि नियन्त्रणमा लिइएको हो । जिल्ला वन कार्यालयमा हिरासतको व्यवस्था नभएपछि अहिले प्रहरी कार्यालयको हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

प्रारम्भीक वयान अनुसार डिल्लीचौर ७ का अंगलाल रावत वन लसुन लिन गएको र जडिवुटी कोरेकाहरुलाई लिएर आएको जनाइएको छ । जिल्ला वन कार्यालयले उनीहरु माथि कडा अनुसन्धान भईरहेको जनाएको छ । सुचना अधिकारी श्यामलाल महतले अहिले नियन्त्रणमा लिइएकाहरुलाई वयान लिने कार्य चलिरहेको वताए । वन लसुन यार्सा पछिको सवै भन्दा महंगो जडिवुटीका रुपमा लिइएको छ । यो जिल्लाको पाटन क्षेत्रमा पाईने गरेको उनको भनाई रहेको छ । हालसालैको मुल्य अनुसार प्रतिकेजी १६ हजार रुपैया पर्ने गरेको व्यापारीहरु बताउने गरेका छन् ।

सुचना अधिकारी महतले चिनमा औषधी निर्माणका लागि यहाँको वनलसुन जाने गरेको वताए । उनले भने तर जिल्लावाट यो निकै कम मात्रामा निर्यात भईरहेको छ । जुनसुकै वनस्पति विउ झरीसकेपछि संकलन गर्नु पर्ने हुन्छ उनले भने भदौ महिना अघि यार्सा र गुच्ची च्याउ वाहेक संकलन पुजी कसैको पनि वन कार्यालयले दिइएको छैन । वन कार्यालयवाट संकलन पुजी र ओसार पसारको लागि कुनै प्रकारको कागजात दिइएको छैन उनले भने भदौ महिना पछि मात्रै संकलन पुजी लिने क्रम खुल्छ । वन ऐन २०४९ को (घ) अनुसार वन क्षेत्रवाट वन पैदावर हटाउन ओसार पसार गर्न वा विक्रि वितरण गर्न पाईदैन । यदि कसैले अवैध रुपमा संकलन गरेको खण्डमा वन ऐनकै ५० (१) का (ग)मा उल्लेख भए अनुसार एक हजार रुपैया देखि ५ हजार रुपैया सम्म विगो भए विगो वमोजिम जरिवाना र ६ महिना कैद वा दुवै हुन सक्ने व्यवस्था छ ।

वनलसुन कसले संकलन गर्न लगाएको हो, संकलन पुजी छ या छैन भन्ने वारेमा अनुसन्धान भईरहेको प्रहरी कार्यालय जुम्लाले जनाएको छ । अहिले जिल्ला वन कार्यालयमा वरामत गरिएको वनलसुन जिल्ला प्रशासन, चन्दननाथ नगरपालिका र जिल्ला प्रहरी कार्यालयको प्रतिनिधिको उपस्थितीमा वन कार्यालय जुम्लाले नापतौल शुरु गरेको छ ।