संदिप र संगम नजिकैका नातेदार थिए । बेलायतमा त्यत्तिको नातेदार सहोदर दाजु भन्दा पनि प्यारो र नजिकको हुन्थ्यो । उनीहरुसंग सन्दिपको साथी राजेश पनि संगै बस्थे, जसलाई संदिपले नै अर्को शहरदेखि आफ्नो ठाउँमा बोलाएका थिए । संगम र उसकी श्रीमती सरिताको पनि संदिप मार्फत चिनाजानी भयो ।
परदेशको ठाउँ, सबैको मन मिल्यो, संदिप र संगमको जोडी राजेश गरी पाँचै जना संगै बसे, घुमे,रमाए । सक्दो सहयोग सबैलाई गर्न रुचाउने संदिप स्वभावले आफूलाई अलि बढि जान्ने सुन्ने देखाए पनि उनको बानी पनि कसैको लागि समस्या बनेन । संगम चाहिँ अलि दार्शनिक पाराको हुनाले साना साना कुरालाई वास्ता गर्दैनथ्यो । तर राजेश चाहिँ सन्दिपका राम्रै हनुमान थिए , जे भने पनि नाई नभन्ने । जे भएपनि संगै संगैको काम र बसाईले त्यो एउटा परिवार जस्तो मिलेर बसेको थियो ।
केहि महिनापछि संगमकी श्रीमती सरिता गर्भवती भई त्यो पनि जुम्ल्याहा । गर्भमा समस्या देखियो, शुरुवाती समय देखि बेड रेष्ट र नियमित चेकजाँच गर्नुपर्ने भो ।
एक दिन सरितालाई असह्य पीडा भयो, लेजर सर्जरीका लागि अर्को शहरमा लग्नुपर्ने भो । अन्तत धेरै डाक्टरहरुको मेहनतले एउटै सालनाल भित्र भएका दुईवटा बच्चाहरु छुट्ट्याईयो, दुबै बच्चा बाँच्ने नबाँच्ने बारे अहिले यसै भन्न नसकिने बताए डाक्टरहरुले ।
दुई दिन पछि अपार्टमेन्टमा फर्कँदा पनि राम्रै सहयोग गरे सबैले । सरिता एकदम कमजोर भएर हिडडुल गर्न समेत नसक्ने भएकी थिई । बाथरूम लाँदा पनि डोर्याएर लानुपर्ने उसको अवस्था निकै दर्दनाक थियो । काममा नगए पुग्दैनथ्यो परदेशमा त्यसैले संगम काममा जान थाल्यो, झ्यालमा बाँधेको रसी समातेर सरिता वासरुम जाने आउने गर्न थाली ।
एक हप्ता पछि अकस्मात राजेश मार्फत आफूहरु छुट्टै बस्ने र यसरी संगै बस्न नसकिने कुरा गरे । संगमले गम्भिर भएर यस्तो दुख परेको बेला किन यसो गर्नुपर्यो बरु भन्दा पहिले देखिका झिना मसिना कुराहरु निकालेर छुट्टै बस्ने आफ्नो एजेण्डालाई बलियो बनाए, खानपीन बस उठमा खोट देखाउन थाले, सरिताको त्यो हालतमा कसैसंग वादविवाद गर्न उचित ठानेन संगमले । घरमा आमाले बाटो हिड्ने गर्भवती कुकुर्नीलाई पनि बोलाएर खान दिएको कुरा सम्झ्यो, रातभरि निदाउन सकेन अर्को दिन एक महिना भित्र सर्ने कुराको जानकारी गराउँदा तीनै जना मख्ख थिए ।
लेजर थेरापी गरेको २२ दिनमा सरिताको पेट फेरि असह्य दुख्यो, अकस्मात् रक्तश्राव भयो, एम्बुलेन्स बोलाएर हस्पिटल पुर्याएको एकैछिनमा संगम र सरिताका अाशाका दियोहरु एकैपटक निभे । सहनु बाहेक अरु के नै बिकल्प हुन्थ्यो र ?
अर्को दिन संदिप, उसकी श्रीमती र राजेश पनि हस्पिटलमै भेट्न आए , सान्त्वनाका शब्दहरु पोखे । खलबलिएको संबन्धमा सुधारको लक्षण देखियो ।
दुई दिन पछि सरिता डिस्चार्ज भई, रित्तो कोख लिएर अपार्टमेन्टमा फर्किदाको दुबै जनाको अनुहारको पीडा यति धेरै थियो कि उनीहरु बोल्न सम्म सकिरहेका थिएनन् । बुधवार सबैको बिदाको दिन थियो, संदिप, उसकी श्रीमती र राजेशको अनुहारमा पनि पीडाका तरंगहरु देख्न सकिन्थ्यो । तीनै जनाले सान्त्वना दिए ।
त्यो अवस्था धेरै बेर टिकेन, सरितालाई जे भो भाग्यमा नभएर भो भनेर केहि बेर अघि सान्त्वना दिईरहेकी संदिपा बैठक कोठामा रहेको ठूलो डल कहिले नचाउने त कहिले मुसार्ने गरिरहेकी थिई । लोग्ने सन्दिप चाहिँ भन्दै थियो : हाम्रो बच्चा त कति राम्रो जन्मेला है सानु हामी त दुबै यति राम्रा छौँ !
अब भने सरिताले सहन सकिन, उसैलाई गिज्याएको जस्तो लाग्यो, टाउको फूट्ला जस्तो गर्यो, बल्ल बल्ल संगमले ओछ्यानमा लगेर सुतायो । त्यो देखावटी सहानुभूति सबै त्यहि छताछुल्ल भयो । अलिकति पनि मानवीयता देखाउन सम्म सकेनन उनीहरुले ।
केहि दिन पछि पुन हनुमानजी मार्फत अर्को नयाँ अफर आयो : अब बच्चा खेर गईहाल्यो क्यारे अब केहि समय सबै संगै बसौँ न हुन्न र ?
संगम र सरिताले त्यो मित्रताको परिभाषा राम्रै बुझे अनि त्यो प्रस्तावलाई अमानवीयताको पराकाष्ठा भन्दै लत्याईदिएर छुट्टै बस्न थाले । खबर सुनिन्छ उनीहरुकी अहिले जून भन्दा पनि राम्री छोरी जन्मेकी छिन् रे ।
(कृष्ण सरगमले यस भन्दा अघि सरगम भट्टराईको नामबाट लेख रचना लेख्ने गरेका छन ।)
















प्रतिक्रिया