२९ आश्विन २०८३, बिहिबार

कोमिन्ताङ पथको नेविसंघ र नेतृत्व बहस

2.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Puskar Bastolaजघन्य अपराध गरेका अपराधीहरूलाई मृत्युदण्ड दिनु अगावै उसको आखिरी इच्छा सुन्ने विश्वव्यापी प्रचलन हो । आँखा अगाडि अजङ्गको मुख उघारेर बसेको फाँसीको फन्दा र सम्मुखमा उभिएको मृत्युलाई देखेर मान्छेले बोल्ने अन्तिम वाक्य विशेष रुपमा सङ्ग्रहणीय हुन्छ । त्यस समय मृत्युको अवश्यम्भावी परिणाम देखेर उक्त व्यक्ति सम्पूर्ण लोभ, लालच र प्राप्तिको अपेक्षाबाट पूर्णतया मुक्त हुन्छ ।

उसले आफ्नो ब्रह्मले देखेको सत्य उद्घाटित गर्ने विश्वास गरिन्छ । तसर्थ मृत्युशैयाको सन्देश बृहत्तर महत्वको हुन्छ । अपराधीहरूको अन्तिम वाक्यलाई त उच्च सम्मान र अगाध कदर गरिन्छ भने महापुरुषहरूबाट निस्किएका अमृतमय विचारहरू सदासर्वदा आगामी पुस्ताको समुचित बाटोका निम्ति अनिवार्यरुपमा कदरयोग्य हुन्छन्, हुनैपर्छ ।

आफ्नो मृत्युशैयाबाट जिवनको आखिरी दिनताका विपीले भन्नुभएको छ—‘प्रजातन्त्र आएपछि पार्टीमा सुकिलामुकिला र चम्किला चिल्ला गाडी चढ्नेहरूको विगविगी हुनेछ ।’ प्रजातन्त्र प्राप्तिपछिका यी भिषण दिनहरू ने.वि संघको गर्वले उचालिएको शिरमाथि अपशकुनका धमिला बादलहरू मडारिएको याम हो । प्रजातन्त्रको रक्तमुछेल बाटोबाट अविचल अघि बढेको इतिहास बोक्ने ने.वि संघ दश बर्षसम्म महाधिवेशन गर्न नसकि आर्यघाट अगाडि मुर्छित छ ।

लोकतन्त्रप्रतिको विश्वास र समर्पण सामु कहिल्यै लुला पाइला नगरेको प्रजातान्त्रिक संस्थासंग यतिबेला दशबर्षको कहालीलाग्दो प्रजातन्त्रविरोधी अतित अट्टहास गरिरहेको छ । त्यसैले ने.वि संघको झण्डामुनी गर्वसाथ गोलबद्ध भएको एउटा पहरेदार भएको नाताले म भन्न बाध्य छु– समकालिन विद्यार्थी संगठनमध्ये आजको दिनमा प्रजातान्त्रिक अभ्यासबाट सम्पूर्ण रुपले च्युत हुन पुगेको एकमात्र संगठन हो ने.वि संघ । यद्यपी लोकतन्त्रप्रति असिम आस्था राख्ने विद्यार्थीहरूको मुल घरपनि अन्तत्वगत्वा ने.वि संघ नै हो ।

अप्रजातान्त्रिक ने.वि संघलाई कसरी प्रजातान्त्रिक बाटोमा फर्काउने ?

विपीको चर्चित आहान भन्छ– ‘युवाहरूले विद्रोहको झण्डा उठाएनन् भने धनाढ्यहरू र चिल्ला सुकिला हरूकै जगजगी कायम रह्यो भने पार्टी कोमिन्ताङ हुन्छ ।’ कोमिन्ताङ चिनियाँ कांग्रेस पार्टीको नाम थियो । जो आफूपनि पूर्ण रुपले वर्वाद भयो संगसंगै कोमिन्ताङको नालायकीले देशसमेत कम्युनिष्टहरूको हातमा गयो । यस समय ने.वि संघभित्र विपीको भाषाका ‘सुकिलामुकिला’ को एकलौटी रजाँई छ । विपीले भन्ने गरेको ‘भुईँफुट्टा वर्ग’ ने.वि संघको प्रजातान्त्रिक आलोकले चम्किएको झण्डालाई अपमान गर्न उद्यत छ ।

दश बर्षसम्म विद्यार्थी संगठनजस्तो संवेदनशील र सकभर वर्षैपिच्छे सम्मेलन र अधिवेशन नियमित गरेर तरोताजा राख्नुपर्ने निकायलाई भुमिकाविहीन र पंगु बनाउने नेतृत्वपंक्ती असफल र निकम्मा हो की होइन ? ने.वि संघको विरासतबाट आएका र हाल यसको रुग्ण अवस्थाप्रति किञ्चित चिन्तित नहुने पार्टी, यसका नेताहरूले प्रजातन्त्रको शिरोच्छेदन गरी ने.वि संघलाई भक्षण गरेको सजाय चुक्ता गर्नुपर्छ की पर्दैन ?

हाल सभापति पदका लागिमात्र संगठनमा करिब एक दर्जन आकांक्षी देखिएका छन् । दावीका लागि सबैका आ–आफ्नै कारण छन् । ६२–६३ सालको जनआन्दोलनमा खटिएको, ज्ञानेन्द्रको निरंकुशतासंग पैंठजोरी खेलेको, गिरफ्तार भएको, जेलनेल र यातना पाएको आदि इत्यादी । तत्कालिन ने.वि संघ नेताले जनआन्दोलनमा आफ्नो क्याम्पसको नेतृत्व गर्दैगर्दा एक कक्षामा भर्ना भएको विद्यार्थीले यसपाला एसएलसी दियो । हाल स्वघोषणा गर्दै हिँडेका सभापतिका कथित उमेद्वारले भर्खरै एसएलसी दिएको फ्रेस विद्यार्थीको मनोविज्ञान बुझेर उसलाई नेतृत्व गर्ने ल्याकत राख्छ ? बिल्कुलै राख्दैन ।

संगठनको नेतृत्व गर्न -यालग्रन्थी रसिलो पारेर मैदानमा नाङ्गै दौडिएको हुल यतिबेला भृकुटीमण्डप कब्जा गरेर नाटक मञ्चन गरिरहेको छ । तर यो दशबर्षे अवधीमा नेवि संघभित्रको नैतिकता र संस्कारको हत्या गर्न कुनै न कुनै भुमिका निर्वाह गरेको त्यो अराजक हुलबाट जो कोहि निर्वाचित भएपनि उसले आगामी बिद्यार्थी राजनीतिलाई दिशानिर्देश गर्छ भन्नेमा पंक्तिकार रत्तिभर विश्वस्त छैन । ने.वि संघलाई पुनः आम विद्यार्थीको निर्विकल्प संस्था बनाउने हो भने तेत्तिस बर्षको उमेरमा प्रधानमन्त्री हुनुभएका विपी कोइरालाको बिचारमा चल्ने संगठनलाई चालिस बर्ष नाघेका कसैलेपनि स्पष्ट योजना र दुरदृष्टिसहित नेतृत्व गर्ला भन्ने भ्रमबाट मुक्त हुन आवश्यक छ ।

नयाँ संविधान जारी भएपछि देशको राजनीतिक कोर्स बदलिएको छ । संगसंगै विद्यार्थी राजनीतिको प्राथमिकता, चरित्र र कार्यशैलीसमेत बदलिएको छ । निरंकुशतासंग जुध्दा ढुंगा हान्नुपथ्र्यो, जेलनेल झेल्नुपथ्र्यो, रगत उमाल्ने भाषण गर्नुपथ्र्यो र निर्माणभन्दा बढि ध्वंसलाई आदर्शसमेत मान्नुपथ्र्यो । अब ती अन्धकार युगका ध्वंसात्मक दिनहरू समाप्त भएका छन् ।

विचार, नैतिकता, सृजनशीलता र दुरदर्शीताको कष्टसाध्य बाटोबाट मात्रै नेपाली विद्यार्थी राजनीतिक आन्दोलनले आफ्नो यात्रा तय गर्नुपर्नेछ । त्यसैले अबको ने.वि संघलाई चलायमान बनाउन नेतृत्व नयाँ पुस्ताबाट छनोट हुनु अनिवार्य छ । हाल ने.वि संघको नेतृत्वसम्बन्धि भड्किएको बहसलाई बैकल्पिक सोचसहित मुलबाटोमा फर्काउनु आसन्न एघारौँ महाधिवेशनको स्पष्ट कार्यभार हो । अन्त्यमा नेपाली कांग्रेसको गत महाधिवेशनमा कांग्रेसभित्रको अराजकतालाई इंगित गर्दै समाजवादी चिन्तक एवं कांग्रेस केन्द्रिय सदस्य प्रदिप गिरीले भन्नुभएको थियो–‘कांग्रेसभित्र गुट होइन गिरोह सक्रिय छ ।’

ने.वि संघभित्र पनि गिरोहका घातक भाइरसहरू सल्बलाइरहेको विसाक्त अवस्थाबाट यसलाई मुक्ति दिने हो भने गणेशमान सिँहले आफ्नो भागमा आएको प्रधानमन्त्री पद सम्मानका साथ कृष्णप्रसाद भट्टराईलाई हस्तान्तरण गरेको स्मरण गर्न आवश्यक छ । पार्टी कामका लागि योग्य एक दर्जनको हुलले नयाँ पुस्तालाई ने.वि संघको नेतृत्व हस्तान्तरण गरि आजिवन सम्मानित स्थान प्राप्त गर्ने ऐतिहासिक पहलकदमी लिएर कठिन घडीमा डुबिसकेको ने.वि संघको जहाजलाई पार लाउने तत्परता देखाउन सक्छ की सक्दैन हेर्न बाँकी नै छ ।