काठमाडौँ, २१ साउन । अस्ट्रेलिया क्रुजमा जागिर लगाइदिने भनी अनलाइन विज्ञापन गरेर ठगी गरी फरार रहेका ललितपुर उपमहानगरपालिका–१४ नख्खीपोट बस्दै आएका राजन गुरुङलाई प्रहरीले आज पक्राउ गरेको छ ।
प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो महाराजगन्जले ललितपुर नख्खीपोटबाट उनलाई पक्राउ गरेको हो । वैदेशिक रोजगार कसुरसम्बन्धी चार मुद्दामा वैदेशिक रोजगार न्यायाधिकरणको २०७२ माघ ६ गतेको फैसलाले गुरुङलाई छ वर्ष नौ महिना कैद र रु छ लाख ७५ हजार जरिवाना भएकामा उनी कैद तथा जरिवाना बेरुजु रही फरार थिए ।
गुरुङ समेतका व्यक्तिले वैदेशिक रोजगार सञ्चालन गर्ने इजाजतबिनै इन्टेल हब एजुकेसन फाउन्डेसन नामक संस्थाबाट ‘हाम्रोबजार डटकम’ वेबसाइटमा विज्ञापन गरी म्याग्दी बरजङ–९ का तेजबहादुर कार्की समेत १० जनालाई २०७० साल असोजमा अस्ट्रेलिया जाने पानीजहाजमा सिपम्यानको काम लगाइदिन्छु भनी नक्कली भिसा लेटरसहितका कागजपत्र तयार गरेर रु ७६ लाखभन्दा बढी सङ्कलन गरी सम्पर्कविहीन भएपछि अलपत्र पीडितले जाहेरी दिएका थिए ।
अभियुक्त गुरुङलाई फैसला कार्यान्वयनका लागि ललितपुर जिल्ला अदालतमा आजै पेस गरिएकामा अदालतको आदेशले कैद भुक्तानका लागि नख्खु कारागार पठाइएको प्रहरीले जनाएको छ । रासस












प्रतिक्रिया