रोल्पा, २१ साउन । प्रेस चौतारी नेपाल शाखा रोल्पाले जिल्लामा प्रस्ताव गरिएको १ नगरपालिका र ६ गाउँपालिकाको खाकामाथि सरोकारवालाहरुसंग सार्वजनिक बहस गरेको छ ।
कार्यक्रममा स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिका संयोजक तथा स्थानीय विकास अधिकारी सुशील बैद्यले प्रस्तावित खाका निर्माण प्रक्रियामा नै रहेकोले आवश्यक परिमार्जन गर्न सकिने बताए ।
सहभागीहरुको प्रश्नको जवाफ दिँदै उनीले प्रस्तावित खाका कुनै राजनैतिक आधारमा नभई समितिको निर्णय अनुसार तयार परिएको हुँदा जनताको इच्छा र आकांक्षा अनुसार सुधार गर्न सकिने औंल्याए ।
त्यस्तै प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले स्थानीय तह पुनःसंरचननमा जिल्लास्तरीय निर्णयलाई भन्दा जनताको इच्छालाई समेट्नुपर्नेमा जोड दिए । हाल प्रस्तावित खाकामा लिबाङ नगरपालिका सहित सुलिचौर, जैमाकसला, कुरेली, घर्तीगाउँ, गैरीगाउँ र होलेरीलाई केन्द्रविन्दु मानेर ६ वटा गाउँपालिका राखिएको छ । प्रस्तावित खाका राजनीतिक हिसाबले विभाजन गरिएको हो कि भन्ने सहभागीहरुको प्रश्नमा नेपाली काङग्रेस रोल्पाका प्रतिनिधि किशोरकुमार आचार्यले रोल्पा जिल्लामा बढीमा तीन वटा गाबिसलाई मात्र जोडेर गाउँपालिका बनाउनुपर्ने बताए ।
कार्यक्रममा जिल्लास्थित विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।













प्रतिक्रिया