काठमाडौं, २१ साउन । नेपाल बिद्यार्थी संघको महाधिबेशन सम्पन्न गराउन गठित निर्देशक समितिले संघको बिधानको टुंगो लगाएको छ ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रकाशशरण महत नेतृत्वको निर्देशक समितिले बिभिन्न छलफलका आधारमा बिहीवार बिधानको अन्तिम टुगो लगाएको हो ।
नयाँ बिधानले नेपाल बिद्यार्थी संघको नेता बन्न उमेरको हद तोकेको छ । ३२ बर्ष तोकिएको उमेरको हद ११ औं महाधिबेशनमा भने लागु नहुने निर्देशक समितिले जनाएको छ ।
पारित बिधान अनुसार नेबिसंघको केन्द्रिय समिति एक सय ५१ सदस्यीय हुने भएको छ । जसमा निर्वाचित एक सय २९ तथा मनोनित २२ जना रहने ब्यवस्था गरिएको छ । बिधानले ब्यवस्था गरे अनुसार प्रदेशपिच्छे उपाध्यक्ष र सहमहामन्त्री रहनेछन् ।
बिधानको अन्तिम टुगो लागेसंगै महाधिबेशनको माहौल झन् तातेको छ । पार्टी सभापति शेरबहादुर देउवाले साउन २३ गते काठमाण्डौंको भृकुटीमण्डपमा उद्घाटन गर्ने महाधिबेशनमा नेतृत्वका लागि तिव्र प्रतिष्पर्धा हुने देखिन्छ । महाधिबेशन स्थल भृकुटीमण्डपमा बिद्यार्थीहरुको भीडभाड ह्वात्तै बढेको छ । प्रसार सामग्रीहरुले भृकुटीमण्डप रंगीचङ्गी भएको छ ।
प्रतिष्पर्धामा रहेका बिद्यार्थी नेताहरु मत माग्न दौडधुपमा लागेका छन् । पार्टीमा रहेका तीन समुह अनुसार नै नेबिसंघमा उम्मेदवारी घोषणा भएपनि अन्तत दुई समुहबीच प्रतिष्पर्धा हुने आकलन बिद्यार्थी प्रतिनीधिहरुको छ ।
स्रोतका अनुसार पार्टी सभापति देउवा समुहबाट नैनसिंह महर र पौडेल समुहबाट मनोजमणी आचार्यलाई अध्यक्षमा अगाडी सारिने निश्चित भएको छ । कृष्ण सिटौला समुहबाट कुन्दन काफ्लेले उम्मेदवारी घोषणा गरेका भएपनि सिटौलाले अन्तिममा आफ्नो उम्मेदवारलाई सहयोग गर्ने देउवा समुहको दावी छ ।
महाधिबेशनमा भाग लिन प्रतिनीधि, पर्यबेक्षक तथा बिद्यार्थी नेताहरु काठमाडौं आउनेक्रम पनि जारी छ । राजधानी बाहिरका प्रतिनीधिहरु काठमाण्डौं आउनेक्रम बढेसंगै चुनावी सरगर्मी पनि बढ्दै गएको छ । नौबर्षपछि महाधिबेशन हुन लागेकोमा बिद्यार्थी प्रतिनीधिहरु उत्साहित देखिन्छन् । अधिकांश प्रतिनीधिहरुले गुट र उपगुटलाईभन्दा शैक्षिक मुद्धा र संगठनप्रतिको लगाव रहेर नेता छान्ने बताएका छन् ।
अध्यक्षको प्रतिष्पर्धामा रहेका नेताहरुमा पूर्व उपाध्यक्ष नैनसिंह महर बलिया देखिएका छन् । सबै उम्मेदवारहरुले आफूलाई बलियो भएको दावी गर्दै आएका भएपनि अध्यक्षका प्रत्यासी महरका पक्षमा माहौल राम्रो देखिएको छ । “महर सबैभन्दा बलियो उम्मेदवार हुन्” नेबिसंघ जुम्लाका सभापति दिल्ली हमालले भने–देशभरी बलियो नेटवर्क, बौद्धिक छवि, संगठनप्रतिको लगाव र जुझारुपनका कारण महर जित्ने निश्चित देखिएको छ ।” हमालले अगाडी थपे–महरका चुनावी एजेण्डा पनि बिद्यार्थी माझ लोकप्रिय छन् त्यसैमा पार्टी सभापतिको उम्मेदवार भएपछि जित निश्चित छ ।”
अघिल्लो पटक महाधिबेशन मिति घोषणापछि पुलेसो अनलाईनले गरेको देशब्यापी अनलाईन सर्बेक्षणमा पनि महरले सबैभन्दा बढी मत पाएका थिए ।













प्रतिक्रिया