१९ कार्तिक २०८३, बिहिबार

कञ्चनपुरको सुडा गाविसमा जन्मिएका यातायातमन्त्री रमेश लेखकको बायोडाटा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ramesh-lekhak-mantri

काठमाडौँ, २० साउन । नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले पछिल्लो राजनीतिक घटनाक्रमको विकास मुलुकका केही राष्ट्रिय कार्यभारलाई सम्बोधन गर्नका लागि भएको बताउनुभएको छ ।

सिंहदरबारस्थित आफ्नो मन्त्रालयमा पद बहालीपछि कर्मचारीलाई निर्देशन दिने क्रममा उहाँले भन्नुभयो, “कुनै एउटा सरकारको विघटन, विस्थापन र अर्काे एउटा सरकारको गठन र निर्माणका लागि मात्र नयाँ राजनीतिक परिस्थितिको विकास भएको होइन ।”

“मुलुकमा हामीले बनाएको संविधानको सर्वस्वीकार्य वातावरणको निर्माण, संविधानको कार्यान्वयन, संविधानले कल्पना गरेको प्रतिनिधिमूलक संस्थाको लोकतान्त्रिक पद्धति अनुरुपको गठन र सञ्चालन होऊन् भन्ने सरकारको मुख्य लक्ष्य रहनेछ”– उहाँले भन्नुभयो ।

मन्त्री लेखकले आउँदो डेढ वर्षभित्र स्थानीय, प्रादेशिक र सङ्घीय संसद्को निर्वाचन गरेर मुलुकलाई समृद्धितर्फ उन्मुख गराउने अठोट व्यक्त गर्नुभयो । “भूकम्पको पीडाबाट आक्रान्त जनताको भावना, सङ्क्रमणकालीन न्याय, सुशासन र जनजीविकाको ‘एजेन्डा’सँग जोडिएर नयाँ राजनीतिक घटनाक्रम विकसित भएकाले त्यो लक्ष्य प्राप्त गर्नु सरकारको पहिलो दायित्व हुन्छ”– उहाँले भन्नुभयो, “भौतिक पूर्वाधार निर्माण र सडक विस्तारका कामलाई पनि उत्तिकै प्राथमिकतामा राखेर अघि बढाइने छ ।”

यस्तो छ लेखकको बायोडाटा

mantri-sapath

विसं २०२० मङ्सिर २५ गते कञ्चनपुरको सुडा गाविसमा जन्मनुभएका लेखकले सरकार र तत्कालीन विद्रोही माओवादीबीचको वार्ता टोलीमा रहेर मुलुकमा शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन महत्वपूर्ण योगदान पुर्याउनुभएको थियो ।

सिद्धनाथ विज्ञान क्याम्पस कञ्चनपुरमा विसं २०३७ मा नेपाल विद्यार्थी सङ्घबाट राजनीतिमा प्रवेश गर्नुभएका लेखकले लामो समयसम्म नेपाली काँग्रेस कञ्चपुर जिल्ला सचिवको जिम्मेवारी सम्पन्न गर्नुभएको थियो । उहाँ विसं २०५६ मा प्रतिनिधिसभा सदस्य, विसं २०६४ मा समानुपातिकतर्फ संविधानसभा सदस्य तथा विसं २०७० मा भएको संविधानसभा सदस्यको निर्वाचनमा कञ्चनपुरबाट निर्वाचित हुनुभएको थियो ।

उहाँले यसअघि श्रम तथा रोजगार एवम् यातायात व्यवस्था मन्त्रीको जिम्मेवारी सम्हाली सक्नुभएको छ । एमबिएल शैक्षिक योग्यता हासिल गर्नुभएका लेखकसँग काँग्रेस संसदीय दलको सचेतकको भूमिका निर्वाह गर्नुभएको अनुभव पनि छ ।

नवनियुक्त मन्त्रीलाई स्वागत गर्दै मन्त्रालयका सचिव अर्जुनकुमार कार्कीले पुँजीगत खर्चको क्षमतालाई निश्चित तहमा पुर्याउन नसक्नु नै मुख्य चुनौतीका रुपमा रहेको जानकारी दिनुभयो । तराई–मधेसको आन्दोलन र भूकम्पबाट सिर्जित समस्याले पूर्वाधार निर्माणमा निकै चुनौती खडा गरेको जानकारी दिँदै उहाँले मन्त्रालयलाई प्राप्त बजेटको ८० प्रतिशत बजेट सडकमै मात्र खर्च हुने गरेको बताउनुभयो ।

मुलुकको विकास र समृद्धिका हिसाबले मेरुदण्डका रुपमा रहेको सो मन्त्रालय मातहत, यातायात, सडक र रेल्वे विभाग छन् । रासस