१९ कार्तिक २०८३, बिहिबार

प्रचण्ड प्रधानमन्त्री रहुन्जेल टेलिभिजनको समाचार नहेर्ने घोषणा !

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

aswiniss

काठमाडौं, २० साउन । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालको ३९ औं प्रधानमन्त्रीमा बुधबार निर्वाचित भएका छन् ।

दोस्रोपटक प्रधानमन्त्री निर्वाचित प्रचण्डले विहीबार राष्ट्रपतिबाट सपथ लिँदै पदभार समेत सम्हालेका छन् ।

यसअघि २०६५ सालमा पनि प्रधानमन्त्री बनेका प्रचण्ड दोस्रोपटक प्रधानमन्त्री बन्दै गर्दा पत्रकार अश्विनी कोइरालाले टेलिभिजन नहेर्ने भन्दै मनै रुवाउने स्ट्याटस लेखेर सामाजिक संजाल फेसबुकमा पोस्ट गरेका छन् ।

यस्तो छ स्टाटसः

aswini-koiralaकतिपयलाई तितो लाग्नेछ तर सत्य हो । अब ९ महिनाका लागि हाम्रो घरमा टेलिभिजन करिब करिब बन्द हुनेछ । खुले पनि समाचार हेरिनेछैन । पत्रकारको घरमा समाचार नै हेर्न नपर्ने अवस्था के आइलाग्यो होला, प्रश्न गम्भीर मात्रै होइन आश्चर्यजनक पनि छ । मेरा साना बा प्रहरीमा जागीरे हुनुहुन्थ्यो । यही सानो आम्दानीबाट ३ सन्तान र मेरी सानिमाको जीवन चलिरहेको थियो । २०५४ सालमा रामेछापको बेथान प्रहरी चौकीको प्रमुख भएका बेला माओवादीले आक्रमण गरे । प्रहरीलाई आत्मसमर्पण गर्न लगाइयो । तर आत्मसमर्पण गरेका प्रहरीलाई लाइन लगाएर बञ्चरोले काटियो । (लुटिएको बन्दुकको गोली बचाउन त्यसो गरिएको रे ) चौकी प्रमुख भएको अपराधमा मेरा साना बालाई अधकल्चो अवस्थामा, अलिकति खाल्डो खनेर, टाउको मात्र खाल्डोमा गाडेर हत्या गरियो । त्यो बेला कान्छी छोरी ३ वर्षकी थिइन् । उनी जति ठूली हुँदै गइन्, आफ्नो बुवाको हत्या गर्ने व्यक्ति माओवादी र प्रचण्ड हो भन्ने बुझाई उनको मनमा गढ्दै गएको रहेछ । मैले त्यसको सुईंको पाएको थिइन । अथवा यसो भनौं, याद गरेको रहेनछु । उनको मनमा के बित्दैछ, हामी बुझ्न असमर्थ रहेछौं । केही समय यता उनी मसँगै बस्दैछिन् । हिजो ध्यान दिएर टेलिजिभनमा समाचार हेर्दै थिए । समाचारमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री निश्चित भएको समाचार आउँदै थियो । उनले फूत्त रिमोर्ट तानिन् र टेलिभिजन अफ गरिन् । मलाई झनक्क रिस उठ्यो । गाली गर्न उनीतिर फर्किएको, उनको आँखाभरी आँशु रहेछ । मैले अँगालो हाल्न बाहेक के गर्न सक्थेँ र ? माफ गर पूजा, म प्रचण्ड प्रधानमन्त्री हुन्जेल तिम्रोअघि टेलिभिजन खोल्ने छैन । स्मार्ट फोनका कारण पनि तिमीबाट लुकेरै टेलिभिजन हेर्न अब अप्ठ्यारो छैन । तिमी प्राय मौन नै रहन्छौ । त्यसैले सबै पीडा बुझ्न असमर्थ छु । तर यति भन्छु, यो हाम्रो नियति हो । यो दुस्ख तिम्रौ मात्र होइन, १७ हजार नागरिका लाखौं सन्तानको हो । मलाई पनि लाग्छ, के प्रचण्ड प्रधानमन्त्री बनाउन मात्र त्यत्रो मान्छे मर्न–मार्ने अवस्था आएको थियो ? त्यो युद्ध र तिमी जस्तालाई यो अवस्था बनाउनु पर्ने बाध्यता थियो ? अब मलाई पनि राम्रैसँग बुझ्न थालेको छु । म पनि तिमी जस्तै विवस छु, प्रिय । यहाँभन्दा अघि म केही भन्न सक्तिन । मलाई माफ गर ।