उदयपुर, २० साउन । उदयपुरको रौता गाबिसका स्थानीयले प्रहरी चौकी स्थापनाका लागि जग्गा खरीद गरी नेपाल सरकारलाई बुझाएका छन् । जिल्लाको प्रमुख व्यापारिक केन्द्र मध्येको एक मुर्कुची बजार दिनदिनै असुरक्षित बन्दै गएपछि स्थानीयले गाबिसको सहयोगमा वडानं ९ शिवालयटोलमा जग्गा खरिद गरेका हुन् ।
स्थानीयले १२ लाख मुल्य बराबरको जग्गा गाबिसको तीन लाख सहयोगमा डिल्लिवर ८ (ठ) अन्र्तगत कि.न. ३८७ को १ रोपनी १४ आना ३ पैसा ३ दाम खरिद गरेका हुन् । उक्त जग्गा विहीबार प्रहरीचौकीको नाममा जग्गाधनी पदमबहादुर कार्कीले पास गरिदिएका हुन् ।
खरिद गरिएको जग्गा बिहीबार नै भवन निर्माण र चौकी स्थापनाका लागि गाबिस सचिब माधबप्रसाद खतिवडाले नेपाली काँग्रेसका गाउँ सभापति बाशु खड्का, एमाले अध्यक्ष चित्रबहादुर बस्नेत, एमाओबादी केन्द्रका अध्यक्ष कृष्णबहादुर मगर र प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य भरत खड्काको रोहवरमा जिल्ला प्रहरी कार्यालयका डिएसपी ओमबहादुर रानालाई हस्तान्तरण गरिएको हो ।
हस्तान्तरणका क्रममा गाबिस सचिब खतिवडाले भवन निर्माणका लागि आबश्यक पहल गरिदिन आग्रह गरे । उनले गाबिस र स्थानीयको सहयोगमा मात्र भवन निर्माण सम्भव नहुने भएकाले सबै क्षेत्रका साथसहयोगका लागि भुमिका निर्वाह गरिदिन डिएसपी रानासँग आग्रह गरे ।
त्यसक्रममा डिएसपी रानाले प्रहरी चौकी स्वीकृत भईसकेकाले भवन र आबश्यक जनशक्तिका लागि आफ्नो निकायबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले भवनको अभावमा तत्काल जनशक्ति पठाउन नसकिने भएकाले पहिलोचरणमा भवन निर्माणलाई नै प्राथामिकता दिनु पर्ने बताए ।
पछिल्लो समयमा नेपाल प्रहरीको माग अत्याधिक भएपनि स्रोतसाधनको अभावमा सर्वसाधरणको इच्छाशक्तिलाई चाहेरपनि पुरा गर्न नसकिएको उनले बताए । रानाले थोरै जनशक्तिले नै समग्र जिल्लाको शान्ति सुरक्षा कायम राख्नु पर्ने भएकाले माथिल्लो निकायसँग आफ्ना सवालहरु राख्न राजनीतिक दलका नेतालाई सुझाब दिए ।
उक्त ठाउँमा प्रहरी चौकी स्थापना भए रौता गाबिस, जाल्पाचिलाउने, भलायडाँडा, भुट्टार, पोखरीका सर्वसाधरणको शान्ति सुरक्षामा सहजता आउने रौता गाबिस सचिब माधवप्रसाद खतिवडाले बताए । उनले आगामी बर्ष गाबिसबाट केहि वजेट विनियोजन गरी चौकी स्थापनाको कामकारवाही अघि बढाईने बताए । स्थापना गर्न लागिएको भवन रौता गाबिसको वडानं ९ मुर्कुची बजारदेखि १ किलोमिटर पश्चिममा रहेको शिवालयटोलमा पर्दछ ।













प्रतिक्रिया