काठमाडौं, २० साउन । राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टीले नेपाल पत्रकार महासंघ सप्तरी शाखाको जग्गा कब्जा गरेको छ ।
राजनीतिक दलले नै जग्गा कब्जा गरेपछि नेपाल पत्रकार महासंघ केन्द्रीय कमिटीले आपत्ति जनाएको छ ।
विहीबार महासंघका महासचिव उजिर मगरद्धारा जारी विज्ञप्तिमा ‘वैधानिक प्रक्रियाबाट सञ्चालन भएको एउटा राजनीतिक दलको यस्तो हर्कत अशोभनीय मात्र नभई पत्रकार महासंघ तथा स्वतन्त्र प्रेसजगतमाथिको हस्तक्षेपको चरम नमुना भएकोमा सन्देह छैन भन्दै नेपाल पत्रकार महासंघ सद्भावना पार्टी र यसको नेतृत्वलाई उक्त कार्यालय तत्काल त्यहाँबाट हटाउन र घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न ध्यानाकर्षण गराउँदछ’ भनिएको छ ।
हेर्नुस् विज्ञप्तिः
नेपाल पत्रकार महासंघ सप्तरी शाखाको कार्यालय भवनमा राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीले अनाधिकृत रूपमा कब्जा गरी पार्टी कार्यालय स्थापना गरेर सञ्चालन गरेको महासंघ सप्तरी शाखाबाट जानकारी पाउँदा महासंघ केन्द्रीय समिति आश्चर्यचकित भएको छ ।
वैधानिक प्रक्रियाबाट सञ्चालन भएको एउटा राजनीतिक दलको यस्तो हर्कत अशोभनीय मात्र नभई पत्रकार महासंघ तथा स्वतन्त्र प्रेसजगतमाथिको हस्तक्षेपको चरम नमुना भएकोमा सन्देह छैन । नेपाल पत्रकार महासंघ सद्भावना पार्टी र यसको नेतृत्वलाई उक्त कार्यालय तत्काल त्यहाँबाट हटाउन र घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न ध्यानाकर्षण गराउँदछ । साथै, यस्तो गैरकानुनी हर्कत तत्काल बन्दगरी कानुनबमोजिम आफ्नो दायित्व पूरा गर्न स्थानीय प्रशासन र सम्वद्ध सरकारी निकायसाग माग गर्दछ ।
…………….
उजिर मगर
महासचिव













प्रतिक्रिया