३१ आश्विन २०८३, शनिबार

देश र जनताको शिर उठाउँदै विदा भए केपी ओली

40k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kp-oli-pm

काठमाडौँ, १८ साउन । मन्त्रिपरिषद्को आजको अन्तिम बैठकले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारको नौ महिने कार्यकाल देश र जनताको शिर उठाउँदै स्वाधीनता र स्वाभिमानलाई बलियो बनाउने काम गरेको निष्कर्ष निकालेको छ ।

वर्तमान मन्त्रिपरिषद्को अन्तिम बैठकका बारेमा जानकारी दिँदै सूचना तथा सञ्चार मन्त्री तथा प्रवक्ता शेरधन राईले देश जनताको स्वाधीनता र स्वाभिमानको जगलाई बलियो बनाउँदै जनतामा भारी आशा र उत्साह जागृत गराउन सफल रहेको निष्कर्ष निकालिएको जानकारी दिनुभयो ।

Kp-oli-pm-1

बैठकमा सरकारले जनतामा आशा जगाउँदै समग्र मुलुकको विकासको ठोस आधारसहित मार्गचित्रहरु प्रस्तुत गरेर व्यापक जनतामा लोकप्रिय हुँदाहुँदै सरकार बाहिरिने परिस्थिति भएको तर सरकार उच्च शिर बनाएर बाहिरिएको विषयमा समीक्षा भएको उहाँले जानकारी दिनुभयो ।

मन्त्री राईले भन्नुभयो, “नौ महिने सरकारले र मुलुकलाई कलङ्कित बनाउने कुनै पनि काम नगरेको, देश र जनताको शिर उठाउँदै विकासका लागि योजनासहित नीति र कार्यक्रम ल्याएको छ ।” वर्तमान सरकारले ल्याएका नीति तथा कार्यक्रम कार्यान्वयनका पक्षका जिम्मेवार भूमिका खेल्ने सङ्कल्पसमेत बैठकले गरेको छ ।

Kp-oli-pm-2

बैठकमा समग्र जनताको आर्थिक विकास र चाहनालाई मूर्तरुप दिन नीति र कार्यक्रमको सपना देख्ने र देखेका सपनालाई स्पष्ट सोचमा कार्यक्रममा ढालेर कामको नेतृत्वमा ढाल्नुभएकामा प्रमलाई बैठकमा सहभागी मन्त्रिपरिषद् अन्य दलले धन्यवाद व्यक्त गर्नुभएको समेत मन्त्री राईले जानकारी दिनुभयो ।

मन्त्री राईले थप्नुभयो, “नौ महिने कार्यकालको समीक्षा गर्दा सरकारमा सहभागी गठबन्धन नेताहरु जो मन्त्रिपरिषद्मा हुनुुहुन्छ, उहाँहरुले कुशल, सक्षम नेतृत्वको निमित्त स्पष्ट दृष्टिकोण अडानका साथ देश र जनताको शिर उठाउने काम गरेकाप्रति प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिनुभयो ।”

Kp-oli-pm-3

साथै, बैठकले नौ महिने कार्यकालमा सहयोग गर्ने कर्मचारी प्रशासन, सुरक्षा निकाय, सम्पूर्ण तह र तप्काका दाजुभाइ तथा दिदीबहिनी, विदेशी मित्रराष्ट्र, दाताराष्ट्र, आम सञ्चारमाध्यमलाई समेत बैठकले धन्यवाद ज्ञापन गरेको र बैठक नौ महिने कार्यकालको समीक्षा गर्दै सम्पन्न भएको मन्त्री राईले बताउनुभयो । रासस