
धनगढी, १७ साउन । खुटिया नदीले गरेको तिब्र कटान रोक्न भन्दै स्थानीय बासिन्दाले जिल्ला विकास समिति कैलालीलाई आइतवार ज्ञापन बुझाएका छन् ।
खुटिया नदीले गरेको कटान रोक्नका लागि बारम्वार आग्रह गरेपनि सुनुवाई नभएकाले फेरि ज्ञापनपत्र बुझाएको सुटिया नदी संरक्षण संघर्ष समिति कैलालीका संयोजक नरेश अधिकारीले बताउनुभयो । अधिकारीको नेतृत्वमा आएको टोलीले जिविस कैलालीका स्थानीय विकास अधिकारी केशव बिमलीलाई ज्ञापनपत्र बुझाएकाछन् ।
अत्तरिया नगरपालिकाको पूर्वी सीमानामा रहेको खुटिया नदीले हरेक वर्ष तिब्ररुपमा कटानी गर्दै आएकोले नजिकको वस्तीनै प्रभावित हुन लागेकाले तत्काल तटबन्धको ब्यवस्था गर्नुपर्ने माग ज्ञापनपत्रमा गरिएको छ । वर्षायाममा ठूलो पानी पर्दा नदीमा बाढी आउने भएकाले कुन स्थानबाट नदी गाउँ पस्ने हो भन्ने चिन्ताले गाउँलेहरुलाई सताउने गरेको उल्लेख गर्दै गाउँलेहरु रातभरी जाग्राम बस्नुपर्ने अवस्थाका अन्त्यकालागि जिविसले पहल गर्नुपर्ने स्थानीयको भनाई छ ।
आइतवार दिउँसोतिर जिविस कैलाली पुगेको स्थानीय बासिन्दाहरुको टोलीले पाँच बुँदे ज्ञापनपत्र स्थानीय विकस अधिकारीलाई बुझाउनुका साथै प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई पनि बोदार्थ बुझाएकाछन् । ज्ञापनपत्रमा खुटिया नदीबाट उत्पन्न हुने क्षति तथा जोखिम न्यूनिकरणकालागि तटबन्धको गुरुयोजना बनाउनुपर्ने,आर्थिक वर्ष २०७२-२०७३ को जिविसद्वारा नदीजन्य वस्तुकालागि भएको ठेक्काबाट निर्देशिकामा उल्लेख भएको रकम प्रभावित क्षेत्रमा तत्काल विनियोजन गर्नुपर्ने , खुटिया नदीबाट ष्भभ को रिर्पोट अनुसारको परिमाणमात्र उत्खनन् गर्ने कार्य गरियोस,नियम विपरित हुने कार्य नियन्त्रण गर्नकालागि जिविसले स्थानीय स्तरमा अधिकार सम्पन्न अनुगमन तथा नियन्त्रण समिति गठन होस र खुटिया नदीबाट ढुंगा,बालुवा,गिट्टी निकासी हुने खुटिया मटियारी सडक खण्ड तत्काल मर्मतको काम होस भन्ने उल्लेख गरिएको छ ।
जिविसले नदीजन्य वस्तुको ठेक्का दिने र नदीजन्य वस्तु निकासीका लागि दैनिक एक हजारभन्दा बढीको संख्यामा ढुवानीका साधनहरु खोलामा जाने र जथाभावी ढुंगा तथा बालुवा निकालेका कारण नदी कटानले तिब्र रुप लिँदै आएको हो । ढुवानीका साधनले स्थानीय सूर्योदय सामुदायिक वन क्षेत्रबाट समेत ढुंगा उत्खनन गर्ने कार्य गरेकाले कटानलाई सहयोग पुग्ने गरेको सामुदायिक वनका अध्यक्ष छबि सिंहले बताउनुभयो । प्रकृति तथा मानवीय कारणले खुटिया नदीले कटान तिब्र पार्दै आएको छ । समयमा नदी नियन्त्रणकालागि पहल नहुने हो भने केही वर्षभित्रैमा नदी स्याउले बजारतर्फ फर्कने र वस्ती पूरै विस्थापित हुने अवस्था आउने स्थानीय गणेश बोगटीको भनाई छ । हालसम्म अत्तरिया नगरपालिकाको वार्डनं ७ र ८ अन्तरगतका स्याउले ,मजगाँउ,जोनापुर बढी प्रभावित देखिएकाछन भने भविष्यमा घोड्सुवा,बेला र धनगढी बजारसमेत नदी कटान र डुबानको चपेटामा पर्ने देखिएकाले अहिलेनै रोकथाका पहल गर्न जिविसलाई आग्रह गरेको संघर्ष समितिका संयोजक अधिकारीले बताउनुभयो ।
नदी नियन्त्रणकालागि पाँच सात वर्षदेखि स्थानीय बासिन्दाले सरोकारवाला निकायको ध्यानाकर्षण गराउँदै आएको भएपनि सुनुवाई नभएको गुनासो स्थानीयको छ ।
गत शुक्रवार खुटिया नदी संरक्षण संघर्ष समितिले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सरोकारवाला निकायको ध्यानाकर्षण गराउने र सुनुवाई नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका थिए । ३४ वर्षदेखि खुटिया नदीले गरेको कटान रोक्नकालागि माग गर्दै आएपनि हालसम्म कुनै निकायले ध्यान नदिएको स्थानीय बासिन्दाहरु बताउँछन् । २०३९ सालदेखि खुटिया नदीले कटान गर्न थालेपछि तटबन्धको माग गर्न लागेको तर हालसम्म सुनुवाई नभएको स्थानीय बासिन्दा गौरीलाल दमाईले बताउनुभयो । सालसालै नदीले कटान गरेर वस्तीनै प्रभावित हुनलाग्दा समेत कहिँकतैबाट सुनुवाई नहुँदा निकै दुःखी भएको उहाँको भनाई छ । त्यतिखेर खुटियाको आकार सानो थियो तर अहिले कटान तिब्ररुपमा बढ्दै गएपछि ठूलो रुप लिएपछि स्थानीय बासिन्दाहरु आत्तिएकाछन –उहाँले भन्नुभयो ।
खुटिया नदीले कुलोको बाँध र घेचकट्ला भन्ने ठाउँमा गरेको कटानीले पानी वस्तीतिर आउने देखिएपछि स्थानीय बासिन्दाहरु बढी त्रसित बनेका हुन । सो स्थानबाट बस्तितिर पानी आउन करिब २० मिटरमात्र दूरी रहेको छ । उक्त दूरी पार गरेर पानी पश्चिम आएमा खुटिया नदीनै पश्चिम भएर बग्ने सम्भावना बढेको छ । खुटिया किनारमा रहेका करिब ७०० घरधुरीका मानिसहरु वर्षातको समयमा निकै चिन्तित हुने गरेको स्थानीय बासिन्दा जगत्रादेवी सिंहले बताउनुभयो । तटबन्धकालागि बारम्वार जिल्लामा जाने गरेपनि कसैले सुनुवाई नगरेको उहाँको भनाई छ । स्थानीय बासिन्दाको जिविस लगायतका अन्य निकायमा कुनै पहुँच नभएकाले आन्दोलन बाहेक अन्य विकल्प नभएको शेरबहादुर अधिकारीले बताउनुभयो । आन्दोलन र चक्काजाम गरेमात्र सुन्ने चलन भएकाले अव खुटिया क्षेत्रका जनताले सशक्त आन्दोलनमा उत्रने चेतावनी स्थानीय बासिन्दा टेकबहादुर देउवाले बताउनुभयो ।
ज्ञापनपत्र बुझ्दै स्थानीय विकास अधिकारी केशब बिमलीले स्थानीय जनताका मागप्रति अफू गम्भीर रहेको बताउँदै खुटिया नदी नियन्त्रण जिविसको रकमले मात्र सम्भव नभएकाले सरोकारवाला निकायसंग समन्वय गरेर अघि बढ्ने बताउनुभयो । केही दिनभित्रमा सरोकारवाला निकायको बैकठ बोलाएर के गर्न सकिन्छ भन्ने बारेमा छलफल गर्ने उहाँले जानकारी दिनुभयो । यस्तै प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले पनि खुटिया समस्याका बारेमा सरोकारवाला निकायको ध्यानाकर्षण गराउने बचन दिनुभएको छ ।












प्रतिक्रिया