काठमाडौं, १६ साउन । औषधि बनाउन भनेर भित्राएको रसायन अन्तर्राष्ट्रिय लागुऔषध कारोबारीलाई बिक्री गरेको आरोपमा व्यवसायी रतन संघाई पक्राउ परेका छन् ।
लागुऔषध नियन्त्रण ब्युरो (एनसिबी) ले उनलाई शनिबार पक्राउ गरेको हो । सिउडोइफेड्रिन नामक सहायक रसायन (प्रिक्रसर) अवैध कारोबारको आरोपमा संघाइ पक्राउ परेका हुन् ।
उनको कम्पनीबाट चार सय ९२ किलो सहायक रसायन बरामद भएको थियो । रुघाखोकीको औषधि बनाउन भनेर आयात गरी लागुऔषध कारोबारीलाई बिक्री गर्दै आएको प्रहरीले जनाएको छ ।
एमफेटामाइन (आइस ड्रग) बनाउने समूहलाई संघाई समूहले लामो समयदेखि बिक्री गर्दै आएको प्रहरी अनुसन्धानले देखाएको छ ।
संघाईको लगानी रहेको आर्या फर्मास्युटिकल्सले सो सहायक रसायन नेपाल भित्र्याई अवैध रूपमा बिक्री गर्दै आएको प्रहरीले जनाएको छ । सहायक रसायन चीन र बर्मामा तस्करी हुने गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।
‘प्रतिकिलो १० हजार रुपैयाँमा आयात गरेर एक लाख रुपैयाँसम्ममा बिक्री हुँदै आएको खुलेको छ,’ ब्युरोका एक अधिकारीले भने, ‘औषधि बनाउन नभई तस्करीकै लागि ठूलो मात्रामा सिउडोइफेड्रिन आयात गर्दै आएको देखिएको छ ।’















प्रतिक्रिया