काठमाडौं, १६ साउन । सरकारले आर्थिक सहायताको नाममा राज्यकोषबाट एकै दिन एक करोड ३२ लाख ५० हजार रुपैयाँ बाँडेको छ ।
तत्कालीन गृहमन्त्री शक्तिबहादुर बस्नेतको प्रस्तावमा २६ असारमा बसेको मन्त्रिपरिषद् बैठकले ७८ जनालाई आर्थिक सहयोग दिने निर्णय गरेको छ ।
आर्थिक सहायता पाउनेमा विभिन्न दलका नेता–कार्यकर्ता धेरै छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
संवैधानिक निकायमा रहेका व्यक्तिहरूले पनि आर्थिक सहायता पाएका छन् । निर्वाचन आयुक्त इला शर्मालाई तीन लाख दिइएको छ ।
कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराई, एमाले नेता सोमनाथ अधिकारी, माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाही र पूर्वसांसद गोविन्दनाथ उप्रेतीलाई पाँच–पाँच लाख रुपैयाँ दिइएको छ ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य जीवनकुमार गौतमलाई एक लाख रुपैयाँ दिइएको छ ।
राजनीतिक पहुँच भएकाले मात्र सरकारबाट आर्थिक सहायता पाउने गरेका छन् । गरिब, विपन्न, अशक्त र पहुँच नभएका केही अधिकांश नागरिकले भने उपचार खर्चसमेत पाउँदैनन् ।
नागरिक राहत क्षतिपूर्ति तथा आर्थिक सहायतासम्बन्धी कार्यविधिविपरीत प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पहुँच हुनेलाई लाखौँ रकम बाँड्दै आएको छ ।
तर, गृह मन्त्रालयका प्रवक्ता यादवप्रसाद कोइरालाले कार्यविधि अनुुसार नै सहायता वितरण भएको दाबी गरे ।
गृह मन्त्रालयले आर्थिक वर्ष ०७२–७३ मा मात्रै आर्थिक सहायतास्वरुप दुई सय ७२ जनालाई १५ करोड ५४ लाख ३२ हजार रुपैयाँ वितरण गरेको थियो ।
यस्तो सहायता लिनेमा बढी दलका नेता तथा कार्यकर्ता नै छन् । गृह प्रवक्ता यादवप्रसाद कोइरालाले के–कस्ताले आर्थिक सहायता पाए भन्नेबारे आफूले अध्ययन नगरेको बताए ।
मन्त्रिपरिषद्को १३ जेठमा बसेको बैठकले पनि ३१ जनालाई ८५ लाख रुपैयाँ बाँडेको थियो ।
डेढ महिनामै मन्त्रिपरिषद्ले फेरि ७८ जनालाई एक करोड ३२ लाख वितरण गरेको छ । किन रकम दिइएको हो भन्नेबारे केही खुलाइएको छैन ।















प्रतिक्रिया