१९ कार्तिक २०८३, बिहिबार

उपत्यकाका नदीबाट २३ मेट्रिक टन फोहर व्यवस्थापन

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bagmati-safai

काठमाडौँ, १५ साउन । उपत्यकाका प्रमुख नदी सफाइ गरी २३ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।

बागमती सफाइ महाअभियानको १६८ औँ हप्तामा आज बल्खुपुलस्थित तरकारी तथा फलफूल बजार क्षेत्रमा सफाइ गरी १६ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका सदस्य नारायण श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।

सफाइमा बागमती समिति, काठमाडौँ महानगरपालिका, ललितपुर उपमहानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, उपे्रती समाज, ललितपुर ज्यापू समाज, गायत्री परिवार, रेयुकाइ, एस ट्राभल्सलगायतका सङ्घ संस्थाको सहभागिता थियो । गतहप्ता भन्दा बल्खुपुलको तरकारी तथा फलफूल बजार सफा पाइएको उहाँले बताउनुभयो ।

सङ्घीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री कुन्तीकुमारी शाही पनि आज सफाइमा सहभागी भई सभ्यताको स्रोत नदी सफाइमा साथ दिने प्रतिबद्धता जनाउनुभयो । राष्ट्रिय योजना आयोगकी सदस्य डा सुमित्रा अमात्य, पूर्व मुख्यसचिव एवम् महाअभियानका अगुवा लीलामणि पौडेल, पूर्व सचिवद्वय जयमुकुन्द खनाल र सुरेशप्रकाश आचार्य, बागमती समितिका सदस्यद्वय सुष्मा शर्मा र गोकुल थापा लगायतका अभियानकर्मीको सफाइमा सक्रियता रहेको थियो ।

यसैगरी विष्णुमती सफाइको १०३ औँ हप्तामा आज टेकु दोभानस्थित कुलेश्वर महादेवस्थान क्षेत्रमा सफाइ गरी पाँच मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी विजेन्द्र लामाले बताउनुभयो । गतहप्ता फोहर रहेको कुलेश्वर फलफूल तथा तरकारी बजार आज सफा पाइएको पनि उहाँले सुनाउनुभयो ।

रुद्रमती सफाइको १२७ औँ हप्तामा आज काठमाडौँ महानगरपालिका– ९ बत्तीसपुतलीको दुई किमी नदी क्षेत्रमा सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी धनप्रसाद आचार्यले बताउनुभयो ।

यस्तै गुह्येश्वरीमाथिको बागमतीमा ‘राम्रो जोरपाटी, हाम्रो जोरपाटी’ र पुडासैनी मैत्री समाज, नख्खुखोला सुधार समितिले नख्खुखोलाको पनि सफाइ गरेका छन् । विसं २०७० जेठ ४ गते शनिबार बागमती सफाइ महाअभियान सुरु भएपछि उपत्यका र बाहिर पनि नदी एवम् बजार सफाइमा जागरण आएको छ । रासस