पूर्वमन्त्री तथा एमाले नेता लालबाबु पण्डित ट्याम्पुबाट झर्दै गरेको फोटो केही दिनअघि सामाजिक सञ्जालमा अत्यधिक सेयर गरियो । मन्त्री भइसकेको मान्छे जनताजस्तै सार्वजनिक सवारीमा हिँड्ने भन्दै उनको प्रशंसा पनि गरियो । आखिर किन उनी सार्वजनिक सवारीसाधन प्रयोग गर्दै छन् त ?
सरकारी पदमा रहँदा मैले सरकारी सवारीसाधन प्रयोग गरेँ । त्यतिवेला त्यो सरकारबाट पाएको सुविधा थियो । फेरि त्यो प्रयोग नगर्नुको विकल्प पनि थिएन । तर, पदबाट मुक्त भएपछि म सार्वजनिक सवारी प्रयोग गरिरहेको छु । त्यसो त यसको विकल्प पनि छैन । किनकि, मसँग निजी सवारीसाधन छैन । जुन वेला म संसद्को अल्पसंख्यक तथा सीमान्तकृत समुदायको हक–अधिकार संरक्षण समितिको सभापति थिएँ, त्यतिवेला पनि मलाई सरकारले सवारीसाधन दिएको थियो । तैपनि, म बिदाका दिनमा सार्वजनिक सवारी नै प्रयोग गर्थेँ । त्यसैले पनि मलाई अहिले सार्वजनिक सवारीसाधन प्रयोग गर्न अप्ठ्यारो भएको छैन ।
०००
आजभोलि आउने कार्यक्रमको निम्तोमा म आयोजकलाई रिसिभ गर्न सक्नुहुन्छ भनेर सोध्छु । अत्यन्त थोरै ठाउँमा मात्रै त्यो सम्भव हुन्छ । आफैँ कार्यक्रममा जानुपर्यो भने वा अन्य काममा भने म सार्वजनिक सवारी नै प्रयोग गर्छु । आफू जानुपर्ने रुटअनुसार मिनी बस, बस र माइक्रो चढ्छु । छोटो दूरीमा ट्याम्पु पनि चढ्छु । केही कार्यक्रम र बैठकहरूमा जानका लागि भने ट्याक्सी पनि प्रयोग गर्छु । समयमै पुग्नुपर्ने वा सुरक्षाको ख्याल गर्नुपर्ने ठाउँ भयो भने ट्याक्सी प्रयोग गर्छु । ‘बाइचान्स’ भेट्न आएका साथीभाइको लिफ्ट माग्दा मोटरसाइकल पनि प्रयोग गर्छु ।
म सार्वजनिक सवारीमा हिँड्दा धुलो–धुवाँबाट जोगिन जहिले पनि मास्क र टोपी लगाउने गर्छु । सार्वजनिक सवारीमा अक्सर सिट पाउने सम्भावना हुन्न । तर, चिनेका, माया गर्ने साथीभाइले आदरपूर्वक सिट पनि छोडिदिनुहुन्छ । सार्वजनिक सवारीमा धेरै प्रकारका मान्छे हुन्छन् । त्यसैले सकभर धेरैले नचिनिदिए हुन्थ्योजस्तो लाग्छ । सर्वसाधारणले भोगिरहेको समस्या मैले नभोग्न पाए हुन्थ्योजस्तो मलाई कहिल्यै लाग्दैन । अति नजिकका कार्यक्रममा पैदलै पनि पुग्ने गर्छु । हिँड्दा मास्क खोल्नु-यो भने विशेषतः युवा साथीहरूले पक्रिएरै नमस्कार भन्छन्, राम्रो काम गर्नुभो भन्दै ‘सेल्फी’ खिच्ने चाहना राख्छन् । त्यो वेला सबैलाई आफूले चिनेको त हुँदैन, त्यसकारण कतै फोटोको दुरुपयोग त हुँदैन जस्तो लाग्छ । तैपनि, नाइँनास्ती गर्नु पनि त उपयुक्त हुँदैन । मलाई राज्यले एकजना सेक्युरिटीको पनि व्यवस्था गरेको छ । तर, म खास–खास ठाउँ र कार्यक्रममा बाहेक ‘सेक्युरिटी’को प्रयोग गर्दिनँ । सार्वजनिक सवारीमा हिँड्दा पनि सेक्युरिटीको प्रयोग गर्दा जनता आतंकित हुन्छन् कि भन्नेतर्फ धेरै सचेत छु । हिँड्दा कहिले साथीभाइ त कहिले परिवारकै सदस्य हुँदा सेक्युरिटीको समस्याको फिल हुँदैन, तर ‘सेन्सेटिभ’ खालका कार्यक्रममा मात्रै प्रयोग गर्छु । सार्वजनिक सवारी प्रयोग गर्नुपर्ने भएकाले समयप्रति बढी सचेत हुनैपर्छ । कहिलेकाहीँ सवारी ‘जाम’का कारण ढिलाइ हुन सक्छ । तर, कार्यक्रममा पुग्नका लागि बढी समय निकालेरै निस्कन्छु । ‘जाम’मा पनि खर्च हुने समयदेखि पैदल हिँड्नुपर्ने समयलाई समेत ख्याल गरेरै समय व्यवस्थापन गर्दै आएको छु । म पहिल्यैदेखि समयप्रति धेरै सचेत छु । त्यसैले कार्यक्रम या बैठकै छुटिहालेको त्यस्तो अनुभव छैन । कार्यक्रममा पुगिसकेपछि पनि ५–१० मिनेट छिटो या ढिलो जेहोस्, कारण खुलाएरै उहाँहरूलाई बताइदिने गर्छु ।
सार्वजनिक सवारीमा हिँड्दा कतिपय मान्छेले चिन्छन्, उनीहरू बोल्न पनि खोज्छन्, बढी मात्रामा राजनीतिक कुरामै जनताको बढी चासो हुने गर्छ । तर, म उहाँहरूसँग कहिल्यै पनि राजनीतिक विषयमा छलफल गर्दिनँ । सामान्य औपचारिक कुराहरू मात्रै गर्न रुचाउँछु । यदि राजनीतिक विषयमै उनीहरूको रुचि देखियो भने म ‘भिजिटिङ’ कार्ड दिन्छु । कि आउनुस् भेटेर कुरा गरौँला या टेलिफोनमा कुरा गरौँला भन्ने गर्छु । सवारीसाधनमा अनावश्यक ढंगले ‘डिस्कसन’ गर्नु त्यति राम्रो हुन्न भन्ने म ठान्छु । कतिपयलाई त सम्झाएरै पनि भन्छु । सार्वजनिक सवारी यातायातमा धेरै बेथिति छन् । अनेक कष्टका साथ जनता यात्रा गर्न बाध्य छन् । कर्मचारीले अगाडिबाट ठेल्दै पछाडि धकेल्छन् । अपशब्द पनि बोल्छन् । यसबाट मलाई पनि दिक्दारी लाग्छ, तर म कहिल्यै त्यसबारे प्रतिक्रिया जनाउँदिनँ । किनभने, आम जनताले भोगिरहेको नियति नै मैले पनि व्यहोरिरहेको छु भन्ने लाग्छ । सार्वजनिक सवारीमा यात्रा गर्दा कसैले हजुरबा, कसैले बा, अंकल, दाइ पनि सम्बोधन गर्छन् । चिनेकाहरूले त कमरेड र पूर्वमन्त्रीज्यूका रूपमा सम्बोधन गर्छन् । मुलुकमा दृढ संकल्पका साथ काम गर्ने नेतृत्वको अभाव छ । त्यसकारण, सार्वजनिक सवारी यातायातको क्षेत्रमा मात्रै होइन, जताततै बेथिति देखिन्छ । निजी क्षेत्रलाई देशको कानुनअनुसार अनुशासित र मर्यादित बनाउन कानुनअनुसार नियमन गर्नुपर्ने आवश्यकता मैले महसुस गरेको छु । यसका लागि सम्बन्धित निकाय प्रभावकारी बन्नुपर्छ भन्ने मलाई लाग्छ ।
मैले सार्वजनिक सवारी प्रयोग गर्नुको कारण कतै लोकप्रियताका लागि मात्र त होइन भन्ने प्रश्न पनि उठ्न सक्छन् । यस्तो हुँदै होइन । खासमा निजी सवारी किनेर प्रयोग गर्ने हैसियत नभएकै कारण मैले सार्वजनिक सवारी प्रयोग गर्दै आएको हुँ । क्षमताले भ्याउँदा, निजी सवारी प्रयोग गर्दा उपयुक्त हुन्छ भन्ने मेरो मान्यता छ । म तराईमा जन्मिएर उतै हुर्किंदै राजनीतिमा लागेको मान्छे । विराटनगरमा हुँदा निजी सवारीका रूपमा साइकल प्रयोग गर्थेँ । अहिले त उमेर पनि ढल्किँदै गएका कारण परिस्थितिले निजी सवारीकै माग गरिरहेको अनुभूति भइरहेको छ । शारीरिक अवस्था, सुरक्षाका कारण पनि निजी सवारी प्रयोग गर्दा उपयुक्त हुने त हो, तर प्रयोग गर्न सक्ने क्षमता नभएका कारण चाहेरै पनि नसक्ने कुरातिर धेरै टाउको दुखाउनुहुन्न भन्ने मान्यता राख्छु । त्यसैले पनि बढी मात्रामा सार्वजनिक सवारीसाधनकै प्रयोग गर्छु । अरूसँग मागेर प्रयोग गर्ने पनि मेरो बानी छैन, त्यसरी साध्य हुने कुरा पनि भएन । कतिपयले त आफ्नो पदीय हैसियतलाई दुरुपयोग गर्दै मागेरै पनि दुरुपयोग गर्ने गर्छन् । तर, त्यसरी इच्छा र आवश्यकता पूर्ति गर्नुभन्दा आम जनताको जीवनशैलीमै जिउनु उपयुक्त हुन्छ भन्ने मलाई लाग्छ । त्यसैले पछिसम्म पनि सार्वजनिक सवारी नै प्रयोग गर्नेछु भन्ने लागेको छ ।
नयाँ पत्रिकाका लागि शूरोजंग पाण्डेको रिपोर्ट ।



















प्रतिक्रिया