११ कार्तिक २०८३, बुधबार

त्रिभुवन विमानस्थलको सुरक्षा कमान्डो फोर्सले लियो

2.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

TIA Cammondo Forceकाठमाडौं, १३ साउन । विश्वमा आतंकवादी घटना बढ्दै गएपछि नेपालको विमानस्थलमा सुरक्षा सतर्कता बढाइएको छ ।

दुई सातायता विमानस्थल सुरक्षामा कमान्डो तालिम गरेका प्रहरीको विशेष कार्यदल (एसटिएफ)बाट प्रहरी खटाइएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

सुरक्षा चुनौती मूल्यांकन गरी कार्यदलबाट ३५ जनाको प्लाटुन विमानस्थलको सुरक्षामा खटाइएको हो । विमानस्थल सुरक्षालाई बलियो बनाउन विशेष कार्यदलबाट प्लाटुन झिकाइएको विमानस्थल प्रहरी प्रमुख डिआइजी गोविन्द निरौलाले बताए ।

गृह मन्त्रालयबाटै निर्णय गरेर विमानस्थलमा कमान्डो तालिम गरेका प्रहरीलाई खटाइएको हो । एसएलआर हतियार बोक्ने कार्यदलका प्रहरीलाई दुई किसिमको जिम्मेवारी दिइएको हो ।

एक टोलीले गोल्डेनगेटदेखि विमानस्थलको भित्री भागसम्म नियमित पेट्रोलिङ गरेको छ । अर्को टोली उडान समयमा प्रस्थान र आगमन कक्षको वरिपरि स्ट्यान्डबाई डिउटीमा खटिन्छन् ।

विमानस्थल प्रहरी दैनिक काममा बढी व्यस्त हुने भएकाले सुरक्षामा केन्द्रित हुन कार्यदलको प्लाटुन खटाइएको डिआइजी निरौलाले बताए । टर्कीको इस्तानबुलस्थित एयरपोर्ट र बंगलादेशमा आतंकवादी हमलापछि नेपालमा पनि सुरक्षा सतर्कता बढाइएको हो ।

खासगरी विश्वमा नै आतंक मच्चाउँदै आएको इस्लामिक स्टेट ९आइएस०ले नेपाली भूमिलाई प्रयोग गर्न सक्ने सूचनाका आधारमा विमानस्थलको सुरक्षामा कडाइ गरिएको हो ।

आतंकवादी समूहले नेपाललाई निशाना नबनाए पनि नेपालमा रहेका विदेशीलाई निशाना बनाउन सक्ने सुरक्षा विश्लेषणका आधारमा सतर्कता बढाइएको हो । स्रोतका अनुसार नेपालमा रहेका विभिन्न देशका दूतावासले समेत सुरक्षाबारे चासो व्यक्त गर्दै आएका छन् ।

भारतसँगको खुला सिमानाका कारण नेपालमा आतंकवादी गतिविधिको जोखिम रहेको प्रहरी अधिकारीहरू बताउँछन् । यसकारण विमानस्थलका साथै सीमा क्षेत्रमा पनि सुरक्षा सतर्कता बढाइएको छ ।

विमानस्थलमा नेपाली सेना र प्रहरीले सुरक्षा दिँदै आएको छ । विमानस्थलको बाहिरी पेरिमिटरमा सेना खटिँदै आएको छ भने आन्तरिक सुरक्षा तथा चेकजाँचको जिम्मेवारी प्रहरीलाई छ ।

यसका साथै राष्ट्रिय अनुसन्धान विभाग तथा सशस्त्र प्रहरी, नेपाल प्रहरीकै विशेष ब्युरोलगायतका निकायबाट सादा पोसाकको टोली खटिँदै आएका छन् ।

नेपालको विमानस्थलको सुरक्षा व्यवस्था कमजोर रहेको भनेर अन्तर्राष्ट्रियस्तरमा गलत प्रचार भएकाले पनि आतंकवादी समूहहरूले नेपाललाई रणनीति तथा ट्रान्जिटका रूपमा प्रयोग गर्न सक्ने जोखिमको मूल्यांकन गरी गृह मन्त्रालयले पनि सोहीअनुसार सतर्क रहन निर्देशन दिइसकेको छ ।