नेपालमा राजनीतिक उथल पुथल हुन समय लाग्दैन । अझ भनौं नेपालका राजनीतिक दलहरुवीच दिनभरि एक सहमति हुुन्छ रात परेर बिहानी हुने बेलासम्म त्यहाँ अग्राख पलाउँछ । र फेरि सत्ता प्राप्तिको खेलमा चुर्लुम्म नेपाली नेताहरुले डुवुल्की लगाँउछन । उनीहरुलाई देशको सम्वृद्वि, स्वाधीन राष्ट्रियता, आत्म स्वाभीमानको के वास्ता हुन्छ र ? जसो तसो उनीहरु सत्तामा पुग्न चाहन्छन र आफ्नाहरुलाई देशको ढुकुटी लुटाउन हरसम्भव प्रयास गर्छन ।
यसैको एक शिकार बर्तमान केपी ओली सरकार बनेको छ । देशैभरि, विदेशका सञ्चारमाध्यम भरि, आम नेपाली जनताको मन अनि मुटुभरि चर्चाको शिखरमा रहेको यो सरकार हटाउन संसदका केहि कथित नेताहरुको खेलले फेरि सार्थकता पाएको छ । वैशाखैमा एक हुरी चलाएर जरा हल्लाइएको बर्तमान सरकारका बजेटसँग आश्रित ३ ओटा विधेयकहरुलाई समेत फेल गराउदैँ एक नयाँ इतिहास रचिएको छ । जुन इतिहासले आफै सरकारमा रहेकाहरुले समेत अविश्वासको प्रस्ताव पेश गर्न पाउने नजिर समेत बसाएको छ । प्रधानमन्त्र िकेपी ओलीले संसदमा प्रश्नहरुको उत्तर दिइरहँदा लाग्यो प्रचण्डको त्यो प्रचण्ड रुप नै कालोनिलो भएको छ । त्यो रुपमा असाध्यै लज्जावोध भएको प्रष्टै देखिन्थ्यो । संसदमा अविश्वास प्रस्ताव पेश गर्ने बेला अत्यन्तै आत्म केन्द्रित तवरले तर्क राखेर ओलीको खोइरो खन्न ब्यस्त भएका प्रचण्डलाई आफूले बोलेका कुराहरुप्रति पश्चाताप भएको उनको अनुहारले बताउदै थियो । र त उनले प्रम ओलीले राजनीनामा दिइसकेपश्चात, ‘मैले गलत सोचेको रहेछु, तपाई (ओली) साँच्चिको राजनेता हुनुहुँदो रहेछ, तपाईंले असल राजनेताको परिचय दिनुभएको छ ।’ भनेर प्रशंसा गरे । उनले (प्रचण्डले) यसो भनिरहँदा मलाई ओलीप्रति सम्मान जागेर आयो ।
उनले जसरी आफ्ना कुराहरु संसदमार्फत प्रष्टसँग अनि तथ्यगत रुपमा राखे त्यसले प्रचण्डले भनेजस्तै राजनेताकै रुपमा आम जनताले बुझे । जसरी प्रधानमन्त्री ओली निर्वाचित भइरहँदा आम नेपालीको नजर उनिमाथि थियो । त्यसरी नै प्रम ओलीले राजीनामा दिइरहँदा समेत आम नेपाली, विदेशी सबैको नजर उनिमाथि नै केन्द्रित रहेको देखियो । यसले के संकेत गर्छ भने आम नेपाली जनताले अहिल्यै ओलीको विकल्पबारे सोचेका थिएनन । ओलीले बोलेका, देखाएका सपनाहरुका, ओलीको स्वाभीमानी छविको पक्षमा निरन्तर साथ दिदै आएका जनताले उनिमार्फत देशले आर्थिक सम्वृद्वि प्राप्त गर्छ कि गर्दैन भन्ने बारेमा निरन्तर हेरिरहेका थिए । जनताका आशा र भरोसालाई सम्बोधन गर्न उनको सरकारले प्रस्तुत गरेको बजेट समेत असाध्यै लोकप्रिय बनेको छ । गाँउमा रहेक स–साना चिया पसल देखि काठमाडौं अनि विदेशका हरेक गल्ली, चोकहरुमा उक्त बजेटको कार्यान्वयनका लागि अनेक खालका बहसहरु भए । र अब त्यो बजेट कार्यान्वयन गर्ने क्रममा ओली सरकार रहेन ।
ओली सरकार किन ढलाइयो त ?
महिनौं लामो नाकाबन्दीको सामना गरेकै कारण या भारत र चीनसँग समानताको आधारमा सम्बन्ध कायम गर्न खोजेको कारण, दुबै छिमेकीसँग पारवहन सम्झौता गर्ने, दुबै देशका बन्दरगाहहरू उपयोग गर्ने, दुबै देशबीच अप्टिकल फाइबर र क्रस बोर्डर ट्रान्समिसन लाइन निर्माण गरेर विद्युत व्यापार गर्ने तथा दुबै देशका रेलवे यातायातसँग नेपाललाई आवद्ध गर्ने लगायतका योजनाका कारण, मधेश आन्दोलन मत्थर पार्दै देशमा आन्दोलनको नामोनिशान समेत हटाउन सकेको कारण, सबै क्षेत्रका जनतालाई समान अवसर दिने खालको नीति अवलम्बन गरेका कारण, आफ्नो देशमा अरु देशका विरुद्व कुनै पनि गतिविधी गर्न नदिएका कारण सरकार ढलाइएको हो त ?
ओली सरकारले सार्वजनीक गरेका नीति तथा कार्यक्रम के अब बन्ने सरकारले कार्यान्वयन गर्छ की गर्दैन ? त्यो भने प्रमको कुर्सिमा बस्ने तयारी गरिरहेका माननीय पुष्पकमल दाहाललाई थाहा होला । आफु सँगै बसेर ल्याएको बजेटका ३ ओटा आश्रीत आर्थीक बजेटलाई फेल गराउनुहुने माननीय महोदयले कसरी त्यो वजेट स्वीकार गर्लान ? अनि आम नेपाली जनताले देखेका, केपी ओलीले देखाएका रंगिन सपनाहरु कसरी पूरा गर्लान र प्रचण्डले ।
ओलीले संसदमार्फत अब बन्ने सरकारलाई, त्यसका सञ्चालकहरुलाई सोध्नुभएको प्रश्न म पनि यहाँ सापटी लिदैँ सोध्न चाहन्छु आम जनताका तर्फबाट कि :
१) नेपाल सरकारले आफैंले बनाउने गरी बजेट छुट्याएको, काठमाडौं–निजगढ फास्ट ट्रयाकको भविष्यअब के हुन्छ ?
२) सरकारले प्रस्ताव गरेको केरुङ–काठमाडौं–पोखरा–लुम्बिनी रेलसेवा के गर्नु हुन्छ ?
३) आफै बनाउने गरी कार्यक्रम अगाडि सारिएको बर्षौदेखि अलपत्र तराईको हुलाकी राजमार्गलाई फेरि पुरानै नियतिमा फर्काउनु हुन्छ कि ?
४) दुई बर्षमा उर्जा र कृषिमा आधारभूत रूपमा आत्मनिर्भरता संभव तुल्याउने योजनालाई के गर्नुहुन्छ ?
५) तराईमा ओझेलमा परेको विकासलाई उजागर गर्दै समृद्ध तराई निर्माण गर्न सिचाइँ, सदरमुकाममा सहरहरूको पूर्वाधार विकास, कृषि विकास, भैरहवा र निजगढ विमानस्थल जस्ता पर्याप्त बजेट छुट्याइएको महत्वपूर्ण योजनालाई के गर्नु हुन्छ ?
६) जेष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति, दलित, लोपोन्मुख र अल्पसङ्ख्यक समुदायका लागि अगाडि सारिएको सामाजिक सुरक्षाका कार्यक्रमलाई के गर्नु हुन्छ ?
७) शैक्षिक प्रमाणपत्र धितो राखेर युवा विद्यार्थीहरूलाई ऋण दिने योजनालाई के गर्नुहुन्छ ? आशा छ कमरेड प्रचण्ड तथा उृनका सहयात्री दलहरु ‘मुसा’हरु समेतले आगामी केहि महिना भित्रै आम नेपालीहरुलाई यसको चित्त बुझदो तवरले जवाफ बजेट कार्यान्वयन गरेर दिनेछन ।
अन्त्यमा, केपी सरकार जसरी हाइहाइ खाएर आयो त्यसर िहाइ हाइ खाँदै विदा समेत भयो । लामो समय लोकतान्त्रिक आन्दोलनमा सहभागी एमालेले तथा अध्यक्ष ओलीले आफ्ना तर्फबाट सबैकुरा राखेर पदको कुनै लालच नराखेर पदबाट राजीनामा दिनुभयो । त्यो देशकालागि थियो । आजसम्मका प्रम गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा र लोकेन्द्रबहादुर पटकपटक प्रधानमन्त्री बने ।
तर, मनमोहनबाहेक अरूले आफ्नो विश्वास बिदा हुने बेलासम्म कायम राख्न सकेनन् । प्रधानमन्त्रीको समेत जिम्मेवारी लिई ‘कु’ गरेका राजा ज्ञानेन्द्रले त राजतन्त्र नै गुमाए । देउवाले संसद् विघटन गरी प्रजातन्त्र त भट्टराईले संविधानसभा सिध्याएकै हुन । तर, ती सबै घटनाभन्दा अलग रहेर ओली भने राष्ट्रकै नायक बनेर बिदा भए ।
‘संसद् विघटन गर्दै छ, सत्ता लम्ब्याउन खोज्दै छ, तानाशाह बन्ने बाटोमा छ, राष्ट्रपतिसँग मिलेर ‘कु’ पनि गर्न सक्छ’ भनेर आरोप लगाउनेहरूलाई व्यवहारबाटै जवाफ दिई नतमस्तक बनाए । अनि, आफ्नो नौमहिने कार्यकालमा अघि बढाइएको संविधान कार्यान्वयन, राष्ट्रिय स्वाभिमानको रक्षा र आर्थिक समृद्धिको एजेन्डालाई नरोक्न खबरदारी गर्दै नयाँ प्रधानमन्त्री चयनका लागि संविधानको बाधा–अड्काउ फुकाएर बाटो खुला गरे । साथसाथै, सत्यसँग लड्दिनँ, शक्तिसँग झुक्दिनँ भन्दै पद आफ्ना लागि सामान्य भएको भन्दै संसदमा दर्ता भएको अविश्वास प्रस्तावको बेलुनको पनि हावा खुस्काइदिए ।
अब सायद त्यो बेलुनमा हावा भरिने छैन । यदि हावा भरिएता पनि त्यो हावा आयातीत हावा हुनेछ । देशको स्वच्छ हावामा अब बेलुनमा त्यसरी आयात गरिएका हावाले किटाणुहरुको सम्प्रेषण गर्नेछन र नेपालको हावालाई प्रदुषित पार्ने प्रयास गर्नेछन । तर त्यसरी आयात गरिएको हावा भरिएको बेलुनलाई कसरी एमालेजन, देशभक्तहरुले फूस्काउलान त्यो भने अबको दुइचार महिनामै प्रष्ट देखिएला ।















प्रतिक्रिया